इरानका बैंकमा साइबर आक्रमण

सेवाग्राहीहरुले खातामा आफ्नो पहुँच गुमाएका छन् भने एटिएम काउन्टरबाट पैसा निकाल्न र कार्ड पेमेन्टजस्ता सेवा अवरुद्ध

असार ३, २०८२

कान्तिपुर संवाददाता

Cyber ​​attacks on Iranian banks

काठमाडौँ — इरानका बैंकमा साइबर आक्रमण भएको छ । इरानको सरकारी सञ्चारमाध्यम फार्सका अनुसार साइबर आक्रमणका कारण सेपाह बैंकको सेवा अवरुद्ध भएको छ ।

इरानभरि पेट्रोल पम्पहरूको कारोबारमा बढी प्रयोग हुने यो बैंकको सेवा अवरुद्ध भएपछि त्यसको सोझो असर इन्धन वितरणमा पर्ने सीएनएनले जनाएको छ ।

एक इजरायली ह्याकिङ समूहले सेपाह बैंकको डाटा आफूले नष्ट गरेको दाबी गरेको छ । यद्यपि यस्तो दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।  

साइबर आक्रमणकै कारण सेपाह बैंकका सेवाग्राहीले खातामा आफ्नो पहुँच गुमाएका छन् भने एटिएम काउन्टरबाट पैसा निकाल्न र कार्ड पेमेन्टजस्ता सेवा अवरुद्ध भएका छन् । इरानका स्थानीय सञ्चारमाध्यमले साइबर आक्रमणकै कारण कतिपय सेपाह बैंकका शाखा बन्द भएको बताएका छन् । 

शुक्रबारयता जारी इजरायल-इरान युद्धका कारण जनजीवन प्रभावित बन्दै जान थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानको राजधानी तेहरानबाट कैयौं मानिस भागिरहेको उल्लेख गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार इरानको हवाई क्षेत्र बन्द भएपछि र ट्याक्सीसमेत नपाउँदा मानिसहरु सीमा क्षेत्रसम्म पुग्न सकेका छैनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully