इजरायल–इरान तनावले आफ्ना लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

जेष्ठ ३१, २०८२

एएफपी

Ukraine hopes that Israel-Iran tension will not reduce its military aid

किएभ — इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् । 

उनले भने, 'हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौं । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाब पनि एक कारक बनेको थियो ।' 

इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो ।

इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताएका छन् । 

'आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो। यो हाम्रो लागि नराम्रो हो', रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उनले थपे । 

उनले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताए । 

यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाइँमा इरानमा निर्मित ड्रोन र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दाबी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् । 

युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिए । 'यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन।'

उनले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिए । 

एएफपी

Link copied successfully