काठमाडौँ — रुसलाई क्राइमियासँग रेल तथा सडक मार्गबाट जोड्ने केर्च पुलमा विस्फोट भएको छ । मस्कोको सेनाका लागि अत्यावश्यक आपूर्ति मार्ग बनेको यो पुलमा भएको यो तेस्रो विस्फोट हो । पानीमुनि राखिएका विस्फोटक पदार्थहरु पड्काएर पुलमा क्षति पुर्याइएको सीएनएनले उल्लेख गरेको छ ।
पछिल्ला महिनाहरूमा रुसले युक्रेनमाथि आक्रमण गर्नका लागि क्राइमियाको बाटो सैन्य हतियार ओसार्दै आएको थियो । युक्रेनी सुरक्षा सेवा (एसबीयू)ले टेलिग्राममा पुलका पिलरहरुमा मंगलबार बिहान ४:४४ मा विस्फोट गराएको उल्लेख गरेको छ ।
सीएनएनले पानीमुनि रहेका पिलरमा ११ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको बताएको छ । विस्फोटबाट पुलमा कति क्षति पुग्यो भन्ने यकिन विवरण बाहिर नआए पनि मंगलबार बिहान पुलमा यातायात रोकिएको थियो । तर साँझ पुन: सञ्चालनमा आएको छ ।
सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि रुसले यो पुल बनाउन सुरु गरेको थियो । जसको उद्घाटन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा गरेका थिए । करिब ३.७ अर्ब डलरमा बनेको यही पुलबाट रुसले युक्रेनविरुद्द लडिरहेका सेनाका निम्ती सैन्य सामाग्री र खाद्दन्न पठाइरहेको छ ।
यो पुल ध्वस्त पार्न सके रुसी सेनाका निम्ती अत्यावश्यक सामाग्री आपूर्ति सेवा प्रभावित हुने युक्रेनी पक्षको दाबी छ ।
