कसरी अन्त्य होला रुस–युक्रेन युद्ध ?

रुस र युक्रेन दुवै पक्षलाई युद्ध बोझ भएको छ, अहिले, ड्रोनको अत्यधिक प्रयोगले युद्धको सिद्धान्तमा ‘ड्रोन–युद्ध’ को नयाँ आयाम पनि थपेको छ 

चैत्र ५, २०८१

केशरबहादुर भण्डारी

How will the Russia-Ukraine war end?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रेन्च राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेलायती प्रधानमन्त्री केर स्टारमरसँगको म्याराथुन बैठकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटे ।

जेलेन्स्कीसँगको बैठक पूर्णतः विवादित रह्यो । जेलेन्स्कीले लगाएको पोसाकको खिसी गर्नेदेखि लिएर उपराष्ट्रपति जेडी भान्सको रवैया र ट्रम्पको हेपाहा व्यवहारलाई हेर्दा कूटनीतिक मर्यादाको धज्जी उडाएको जस्तो देखिन्थ्यो । ट्रम्प र भान्सले एकजुट भई युक्रेन र जेलेन्स्कीको औकात देखाउन खोजेझैं गरी सुनियोजित ढंगबाट प्रस्तुत हुँदा पनि जेलेन्स्कीले प्रतिवाद गर्दै बहादुरीका साथ सामना गरेको देखिन्थ्यो ।

एकतर्फीजस्तो देखिएको वादविवादका कारण ह्वाइट हाउसमा तयारी गरिएको युक्रेनमा भएको खनिजसम्बन्धी सम्झौतामा सही गर्नका लागि आयोजित कार्यक्रम नै भंग हुन गयो । तथापि, यसरी अपमानित हिसाबले ह्वाइट हाउस छाड्नुपरेका जेलेन्स्कीले बेलायतलगायत युरोपेली मुलुकहरू तथा क्यानडा र अस्ट्रेलियासमेतको सहयोग जुटाई शिखर सम्मेलनबाट समर्थन प्राप्त गर्न भने सफल भए । शिखर सम्मेलनले युक्रेन युद्धको अन्त्यसँगै बेलायत र युरोपियन युनियनको शान्ति सेना राख्ने प्रस्तावसहित शान्ति सम्झौताको खाका तयार गरी अमेरिकी राष्ट्रपतिको समर्थनका लागि 

पेस गरेका छन् । विवाद कायमै हुँदा अमेरिकाले जेलेन्स्कीलाई पुनः ह्वाइट हाउस आउनका लागि पहिले माफी माग्नुपर्ने सर्त राखेको छ, जुन अन्यथा हुनुपर्ने प्रस्ट देखिन्छ । यसैबीचमा अमेरिकाले युक्रेनसँगको ‘इन्टेलिजेन्स’ आदानप्रदान र सैनिक सामग्रीसमेत रोक्का गरेपछि तत्कालीन परिस्थितिका कारण जेलेन्स्कीलाई झुक्न बाध्य बनायो । जेलेन्स्कीले ट्रम्पसँग ‘बिग्रेको कुरा सपारेर’ शान्ति वार्ताका लागि तयार भएको भनेका छन् भने ट्रम्पले पनि जेलेन्स्की वार्ताका लागि तयार भएको बताएका छन् ।

सन् २०१४ फेब्रुअरीमा रुसले क्रिमिया कब्जा गरेपछि उसले डोनबासमा युद्धरत रुस समर्थित पृथकतावादी समूहलाई सहयोग गर्न थाल्यो । २४ फेब्रुअरी २०२२ मा पुटिनले युक्रेनलाई सैनिक तथा नाजीमुक्त ‘डिमिलिटराइज एन्ड डिनाजिफाई’ गर्ने भनेर ‘स्पेसल मिलिटरी अपरेसन’ को बहानामा युक्रेनमाथि हमला गर्‍यो । जनमत संग्रहपछिको बहाना बनाई पुटिनले युक्रेनको पूर्वी र दक्षिणका आंशिक अधीनस्थ प्रान्तहरू– लुहान्स्क, डोनेत्स्क, जापोरिझिया र खेर्सनलाई रुसमा समाहित गरेको घोषणा गरे । यसरी सन् २०२४ सम्ममा युक्रेनको झन्डै २० प्रतिशत भूभाग रुसको कब्जामा रहन गयो । करिब ३० देखि ३५ लाख युक्रेनीहरू रुसले कब्जा गरेको भूमिमा रहँदै आएको अनुमान गरिन्छ ।

अहिले रुसले कब्जा गरेको भूमिलाई आफ्नो दाबी गरेको छ । युक्रेनले उक्त भूमिलाई अतिक्रमित भनिरहेको छ । अहिले, युक्रेनको ‘शान्तिको सर्त’ भनेको उपरोक्त अतिक्रमित सबै भूमिबाट रुस फिर्ता हुनुपर्छ भन्ने छ । रुसको सर्तचाहिँ अतिक्रमित सबै भूमि आफूसँगै राख्ने र आफूले दाबी गरेको तर रुसको पूर्ण नियन्त्रणमा नभएका सबै भूमि मात्र फिर्ता गर्ने भन्ने छ ।

युद्धको समीक्षा

रुसले कुनै पनि हालतमा आफ्नो सिमानानजिक ‘नाटो’ सदस्य मुलुकलाई आउन दिँदैन भन्ने कुरा जान्दाजान्दै पनि अरूको उक्साहटमा जेलेन्स्कीले सदस्य बन्ने तीव्र इच्छा र प्रयास गरे । यो नै उनको महाभूल हुन पुग्यो । रुसको आक्रमण खेप्नुपर्‍यो । जेलेन्स्कीमा वास्तविक भूराजनीतिक विषयमा भएको अल्पज्ञान र उनले देखाएको अपरिपक्वताका कारण आज युक्रेनले यो दुर्दशा भोग्नु परिरहेको छ । 

अर्कोतर्फ, रुसले आफ्नो सैन्य शक्तिको अत्यधिक मूल्यांकन गरेर युक्रेनलाई अतिकम आकलन गर्दा उसले रणनीतिक गल्ती गर्‍यो । यदि रुसले सुरुमै पूर्ण शक्ति लगाएर बेजोड आक्रमण गरेको भए सायद हप्ता दिनभित्रै युक्रेनले घुँडा टेकेर रुसको सर्तमा सहमति गर्न बाध्य हुन्थ्यो होला । कम आकलन गरी बिस्तारै हमला गर्दा युक्रेनले प्रतिक्रियाको समय पायो । बाह्य सहयोग जुटाई प्रतिकारात्मक युद्ध लड्न सक्यो । लड्दालड्दै आजको यो दिनसम्म आइपुग्यो । यहीँनेर रुसको सामरिक भूल हुन गयो ।

यही भूलका कारण अमेरिका र नाटो राष्ट्रहरूले रुसको सैनिक युद्ध शक्ति र क्षमताबारे बहुमूल्य खबर, सूचना ‘इन्टेलिजेन्स’ फोकटमा प्राप्त गरे । जुन ‘इन्टेलिजेन्स’ बिलियन डलर खर्च गर्दा पनि सायदै पाउन सक्थे होलान् । अतिराष्ट्रवादी जेलेन्स्की र उनका कट्टर सहयोगीहरूले युक्रेनलाई कहिले नसकिने र कहिले नजितिने विध्वंसकारी युद्धमा होमे । अरू देश र विशेषतः अमेरिकी सैनिक सहयोगबिना युद्ध लड्न नसकिने अवस्थाको युक्रेनमा जब अमेरिकाले युद्धमा दिएको सैनिक सहयोग रकमको सोधभर्ना युक्रेनमा भएको ‘क्रिटिकल मिनरल’ सँगको सम्झौतामार्फत उठाउन खोज्यो तब मात्र जेलेन्स्कीले थाहा पाए कि युद्धकै बेला पनि कुनै पनि सहयोग निःशुल्क पाइने रहेनछ । 

अर्कोतर्फ, रुसले युक्रेनलाई सबक त सिकायो तर युक्रेनको त्यत्रो भूभाग कब्जा गरिसक्दा पनि युद्ध भने जित्न सकेको छैन । दुवै पक्षलाई यो युद्ध बोझ भएको छ, अहिले । यो युद्धमा भएको ड्रोनको अत्यधिक प्रयोगले युद्धको सिद्धान्तमा ड्रोन–युद्धको नयाँ आयाम पनि थपेको छ । 

अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको गैरपरम्परावादी सामरिक सोच र कदम तथा आक्रामक राज्य व्यवस्था सञ्चालन शैलीका कारण विश्वमा नै हलचल ल्याएको छ । सायद ट्रम्पको यस्तै पहलका कारण युक्रेनमा युद्ध रोक्ने सहमति हुन सक्छ । यसरी आफ्नै लागि लडे पनि ‘प्रोक्सी वार’ लडेजस्तो देखिने युद्धबाट पाश्चात्य मुलुक र विशेषतः अमेरिकालाई फाइदा भएको छ । यसले रुस र युक्रेनबाट क्रिटिकल मिनरल, सस्तोमा ग्यासजस्तो ऊर्जा, खाद्यान्न र अरू वस्तुहरू प्राप्ति गर्न सुनिश्चित गर्न सक्छन् । 

युद्धको सम्भाव्य अन्त्य

अमेरिकी अर्थतन्त्रको आधार भनेको ‘वार इकोनोमी’ हो । यसैका आधारमा अमेरिकाले विश्वमा विशिष्ट ‘सुपर पावर’ को हैसियत कायम राख्न सफल भएको छ । यस्तो अर्थतन्त्रको दिगो स्रोत भनेको ‘डिफेन्स इन्डस्ट्रियल कम्प्लेक्स’ र यससँग जोडिएका उद्योगहरू हुन् । युक्रेनी युद्धमा भएको अमेरिकी लगानीको सोधभर्ना सायद अमेरिकाले युक्रेनमा भएको ‘रियर–अर्थ’ सहित अरू ‘क्रिटिकल मिनरल्स’ माथिको ५० प्रतिशत सेयर दाबीको सम्झौताबाट गर्नेछ । युक्रेनी सुरक्षाको सुनिश्चितताका लागि युक्रेनले पनि यो सम्झौता गर्न तयार भएको संकेत गरेको छ । अमेरिकाले रुसलाई पनि अनेक निषेधात्मक कदमसहित शान्ति सम्झौताका लागि दबाब जारी राखेको छ भने युक्रेन युद्धको अन्त्यका लागि साउदी अरेबियामा उच्चस्तरीय बैठक जारी राखेका छन् । तर, यसबीचमा पनि दुवै पक्षले एकआपसमाथि आक्रमणको कार्य भने जारी राखेका छन् । 

ट्रम्प र पुटिनबीचको बढ्दो राम्रो समझदारीका कारण युक्रेन युद्ध रोक्ने सम्भावना छ ।

भर्खरै मात्र साउदी अरेबियाको जेद्दामा भएको वार्तामा अमेरिकाले गरेको ३० दिने युद्धविरामको प्रस्तावलाई युक्रेनले स्विकारेको छ । रुसको जवाफ भने आउन बाँकी छ । ट्रम्पले यो युद्धविराम प्रस्तावबारे यही साता पुटिनसँग वार्ता गर्दै छन् भने रुसका विदेशमन्त्रीले पनि अमेरिकी अधिकारीसँगको भेट हुने कुरा बताएका छन् । अमेरिका र युक्रेनबीच क्रिटिकल मिनरलको सम्झौता सकभर चाँडो गर्ने सहमति पनि भएको छ । यसबापत अमेरिकाले तुरुन्त युक्रेनमाथिको बन्द सैनिक सहयोग र ‘इन्टेलिजेन्स’ आदानप्रदान पनि खुलाउने भएको छ । अब रुसले पनि युद्धविरामको प्रस्तावबारे मान्ने धेरै सम्भावना छ भने शान्ति प्रक्रिया अघि बढ्ने देखिन्छ । यसरी शान्ति सम्झौता गर्ने सिलसिलामा दुवै पक्ष र सहजकर्ताले राख्न सक्ने सर्तहरू निम्न हुन सक्छन्– 

१. अमेरिकाले रुसको कब्जामा भएको युक्रेनको भावनात्मक महत्त्वसँग जोडिएका केही भूमिहरू फिर्ता गर्ने औपचारिक छलफलको मध्यस्थता गर्न सक्छ ।

२. युक्रेनको सुरक्षा र युद्धबन्दको अस्थायी सहमतिको अनुगमन गर्ने कार्यका लागि संयुक्त राष्ट्रसंघीय सैनिक पर्यवेक्षक तथा शान्तिसेना राख्न सकिन्छ । यस्तो शान्तिसेना युरोपियन मुलुकका मात्र हुँदा ‘नाटो’ को शान्तिसेना समान देखिने र रुसले नस्विकार्ने भएकाले युरोपियन मुलुकका साथै नेपालजस्ता अरू असंलग्न मुलुकका सेनासमेतको सहभागितामा मिश्रित तथा मैत्रीपूर्ण पर्यवेक्षकसहित शान्तिसेना राख्न सकिने देखिन्छ । दीर्घकालीन युद्ध अन्त्यको सहजीकरणका लागि केही संयुक्त राष्ट्रसंघीय पर्यवेक्षक तथा सल्लाहकार सैनिक टोलीहरू पछिसम्म पनि रहनुपर्ने हुन्छ ।

३. अमेरिका र युरोपियन मुलुकहरूले युक्रेनको पुनर्निर्माणका लागि ऋण तथा अनुदान सहयोग गर्न सक्छन् । यसका साथै रुस र युक्रेनबीच तथा रुस, युक्रेन र युरोपियन मुलुकहरूबीच अनेक सन्धि, सम्झौताहरू हुन सक्छन् । अमेरिका, रुस, युक्रेन र ‘नाटो’ बीच पनि लिखित सहमति, समझदारीहरू हुन सक्छन् ।

यस युद्धका कारण युक्रेनले छिमेकी ठूलो शक्तिशाली देशसँग कसरी मिलेर बस्नुपर्छ भनेर पाठ सिकेको छ । युद्धपछि पनि युक्रेनको संक्रमणकालको सहज अन्त्य हुने छैन । केही असन्तुष्ट खेमा तथा अतिराष्ट्रवादी समूहहरूले रुस र युक्रेन दुवैतिर केही न केही विद्रोह गर्ने नै छन् । युद्धपश्चात् जेलेन्स्कीको भविष्य पनि सुरक्षित हुने देखिँदैन । युक्रेन राष्ट्रले ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने छ तर युक्रेनमा भएको अथाह स्रोत साधन र सम्भाव्यता कारण यदि राम्रो व्यवस्थापन हुन सकेको खण्डमा युक्रेन चाँडै नै यो आर्थिक चुनौतीबाट बाहिर निस्कन सक्छ ।

युद्धपश्चात् पनि युक्रेनी जनताले बिर्सन नसकिने विगत र लेखाजोखा गर्न नसकिने पीडाका साथ बाँच्न बाध्य हुनुपर्नेछ । जीवन, आफ्नो भूभाग र स्वाभिमान गुमाएको तथा राजनीतिक र भौगोलिक आयाममा आएको परिवर्तनका कारण पुस्तौं पुस्तासम्म घृणा पालेर बस्नुपर्नेछ ।

यस बेला ट्रम्पको अन्तर्राष्ट्रिय मामलाका विषयमा प्रस्तुत हुने तरिका र जबर्जस्ती नै गरेर भए पनि काम फत्ते गर्ने शैली त्यति मिजासिलो, कूटनीतिक मित्रवत् देखिँदैन । तथापि, उनको अमेरिका पहिले तथा ‘मागा’ जस्तो अतिराष्ट्रवादी सोचसहितको चरम दक्षिणपन्थी कार्यशैलीलाई कम आकलन गर्न भने मिल्दैन । यदि उनको यो तीव्र गति र कार्यशैलीका कारण ‘गाजा युद्ध’ तथा ‘युक्रेन युद्ध’ को अन्त्य भएर सकारात्माक नतिजासमेत देखिन थाल्यो भने ट्रम्पले ‘नोबेल शान्ति पुरस्कार’ पाएमा अनौठो पनि हुने छैन ।– भण्डारी नेपाली सेनाका अवकाश प्राप्त ब्रिगेडियर जर्नेल हुन्

केशरबहादुर

Link copied successfully