आजकै दिन : बेलायती प्रधानमन्त्री पहिलो पटक पुगेकी थिइन् इजरायल

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (मे २३) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले इजरायलको भ्रमण गरेकी थिइन् । उनी इजरायल पुग्ने पहिलो बेलायती प्रधानमन्त्री हुन् ।

थ्याचरलाई तत्कालीन इजरायली प्रधानमन्त्री सिमोन पेरेजसहित मन्त्रिपरिषद्का सदस्यहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा मध्यपूर्वको शान्तिप्रक्रिया, आतंकवादविरुद्धको योजना र व्यापार मुद्दाका विषयमा छलफल भएको थियो ।

१९७९ को मे ३ मा बेलायती प्रधानमन्त्रीमा निर्वाचित थ्याचर युरोपकै पहिलो महिला सरकार प्रमुख हुन् । कन्जरभेटिभ दलकी नेतृ थ्याचरले बेलायतमा करिब ११ वर्ष शासन गरिन् । १९२५ मा इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचरले अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र अध्ययन गरेकी थिइन् । त्यसका साथै उनी वकिलसमेत थिइन् ।

१९५९ मा सांसद भएकी थ्याचर १९७० मा शिक्षा तथा विज्ञानमन्त्री बनेकी थिइन् । १९७९ मा प्रधानमन्त्री भएकी उनी १९८३ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएकी थिइन् । १९८७ मा बेलायती अर्थतन्त्र सुधार गरेका कारण उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बनिन् । १९९० को नोभेम्बरमा जोन मेजर संसदीय नेता नेतामा निर्वाचित भएपछि उनले १९९० को नोभेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । निर्णय क्षमता तथा सरकार र दल सञ्चालनमा उनको निर्णयक्षमता र अडानका कारण उनी ‘आइरन लेडी’ का नाममा समेत परिचित छिन् । थ्याचरको ८७ वर्षको उमेरमा २०१३ अप्रिल ८ मा निधन भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा ‘ढोरपाटन’

कान्तिपुर संवाददाता

काठमाडौँ — हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् ।

तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल ‘सेफिल्ड डकफेस्ट’ मा वर्ल्ड प्रिमियर हुने भएको छ ।

जुन १४ देखि १९ सम्म चल्ने महोत्सवको चौथो दिन मुख्य प्रतिस्पर्धामध्येको ‘इन्टरनेसनल फस्ट फिचर कम्पिटिसन’ मा वृत्तचित्र देखाइन लागेको हो । राजन कठेत र सुनीर पाण्डे निर्देशित ७८ मिनेटको ‘ढोरपाटन’ लाई अंग्रेजी नाम भने ‘नो विन्टर होलिडेज’ दिइएको छ ।

निर्देशक कठेतले डकुमेन्ट्रीको तयारी सन् २०१८ देखि नै सुरु गरिएको बताउँछन् । निर्माण टिमले त्यति बेलादेखि विभिन्न कार्यशालादेखि पिचिङ कार्यक्रममा डकुमेन्ट्रीलाई ‍सहभागी गराउँदै आएको थियो । त्यही क्रममा २०२१ मा सेफिल्डकै ‘द विकर्स’ भन्ने पिचिङ कार्यक्रममा ‘ढोरपाटन’ छनोटमा पर्‍यो । करिब एक करोड रुपैयाँ बराबरको अनुदान रहेको पिचिङ कार्यक्रमको शीर्ष पाँचमा पर्‍यो वृत्तचित्र ।

डकुमेन्ट्री खिच्न दुई निर्देशकसँगै छायाकार बबिन दुलालले ढोरपाटनमा सय दिन बिताएका थिए । अध्ययनका लागि टिमले एउटा हिउँदमा १० दिन बिताएको थियो । त्यसपछिको हिउँद वृत्तचित्र खिच्न राजन, सुनीर र बबिनले ७० दिन बिताए । त्यसपछि शरद र वसन्त ऋतुमा दस/दस दिन लगाएर खिचे । ‍

‘बूढीआमा बस्ने घरबाट आधा घण्टामा पुगिने होटलमा हामी बस्यौं । हिउँ परेको बेला, केही कठिन भए पनि हामी तयारीसहित पुगेका थियौं,’ निर्देशक कठेतले भने, ‘बुढ्यौली हुनु के हो ! प्रकृतिसँग जुधेर बूढीआमैहरू कसरी बाँचिरहेका छन् भन्ने कुरा हामीले वृत्तचित्रमा देखाएका छौं ।’ वृत्तचित्रको सम्पादन भने किरण श्रेष्ठले गरेका हुन् ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×