कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ : नरेन्द्र मोदी 

‘सकेसम्म लकडाउन नगरौँ, यसलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरौँ’

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको दोस्रो लहर तुफान बनेर आएको बताएका छन् । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण तीव्र बनेपछि भारतभर अस्पतालमा भर्ना हुनेको संख्या बढिरहेको छ भने अस्पतालमा अक्सिजन र बेड अभावले हाहाकार मच्चिएको छ ।

कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ : नरेन्द्र मोदी 

यसैबीच मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्ध मुलुकले ठूलो लडाइँ लडिरहेको बताएका हुन् ।

मोदीले सम्बोधनका क्रममा भने, ‘कोरोनाविरुद्ध देशले आज फेरि ठूलो लडाइँ लडिरहेको छ । केही हप्ता पहिलेसम्म अवस्था ठीक थियो तर अहिले कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ । जुन पीडा तपाईंहरुले सहनु भएको थियो, जुन पीडा तपाईंहरुले सहिरहनु भएको छ । त्यो म महसुस गर्न सक्छु ।’

त्यस्तै पछिल्लो पटक देशभरको अक्सिजनको माग बढिरहेको र सरकारले संवेदनशीलताका साथ त्यसलाई सम्बोधन गर्न काम गरिरहेको पनि उनले बताए । उनले भने, ‘यस पटकको कोरोना संकटमा देशका विभिन्न हिस्सामा अक्सिजनको माग अत्यधिक छ । यस विषयमा छिटोभन्दा छिटो र पूर्ण संवेदनशीलताका साथ काम भइरहेको छ । केन्द्र सरकार, राज्य सरकार, निजी क्षेत्र सबैको यही प्रयास छ कि आवश्यकता भएकाले अक्सिजन पाउन् ।’

त्यस्तै उनले अक्सिजनको उपलब्धताका लागि विभिन्न प्रयास भइरहेको पनि बताए । उनले अगाडि भने, ‘अक्सिजन उत्पादन र आपूर्ति बढाउनका लागि विभिन्न स्तरमा काम भइरहेको छ । राज्यहरुमा नयाँ अक्सिजन प्लान्ट स्थापना, एक लाख नयाँ सिलिन्डरको आपूर्ति र अक्सिजन रेल निर्माणजस्ता प्रषसहरु भइरहेका छन् ।’

त्यस्तै उनले भारतले विश्वमै सस्तो कोरोना खोप उत्पादन गरेको पनि बताए । ‘हाम्रा वैज्ञानिकले दिनरात नभनी गरेको मेहनतले देशवासीका लागि कोरोना खोप विकसित गरेका छन् । आज विश्वकै सस्तो खोप भारतमा छ । भारतको कोल्ड चेन व्यवस्थाअनुरुपको खोप हामीसँग छ,’ मोदीले भने ।

त्यस्तै उनले सकेसम्म लकडाउन नगर्न पनि राज्यहरुलाई अनुरोध गरेका छन् । ‘आजको अवस्थामा हामीले देशलाई लकडाउनबाट बचाउनु छ । म सबै राज्यलाई पनि अनुरोध गर्छु कि उनीहरु लकडाउनलाई अन्तिम विकल्पका रुपमा मात्रै प्रयोग गरुन । लकडाउनबाट बच्नका लागि भरपूर प्रयास गर्नु जरुरी छ । माइक्रो कन्टेन्मेन्ट जोनमाथि नै ध्यान केन्द्रित गर्नु आवश्यक छ,’ मोदीले भने ।

कोरोना संक्रमण तीव्र भएपछि दिल्लीले सोमबार रातिदेखि एक हप्ताका लागि लकडाउन लागू गरेको छ ।

भारतमा पछिल्लो एक सातामा मात्रै करिब १५ लाख संक्रमित थपिएका छन् । जुन भारतमा अहिलेसम्म पुष्टि भएका संक्रमितको संख्याको १० प्रतिशत हो ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५९ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १७ सय ६१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८० हजार ५ सय ३० को मृत्यु भएको छ भने १ करोड ३१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २० लाख ३१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै सोमबार साँझसम्म भारतमा १२ करोड ७१ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×