कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा फेरि बढ्यो कोरोना

एजेन्सी

वासिङ्टन/मस्को — केही दिनयता अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च छ । जनस्वास्थ्यविद्हरूले क्रिसमससम्म यो दर घट्न निकै कठिन रहेको जनाएका छन् ।

अमेरिकामा फेरि बढ्यो कोरोना

अमेरिकामा पहिलो पटक एकै दिन अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी रहेको जनाइएको छ । यो नोभेम्बरको सुरुवातको भन्दा करिब दुई गुणा बढी हो । यसका साथै बुधबार नयाँ संक्रमितको संख्या पनि हालसम्मकै उच्च देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार मात्रै अमेरिकामा एक लाख ९५ हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

त्यसैगरी, बुधबार नै अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण २ हजार ७ सय ३३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या एक करोड ४१ लाख नाघेको छ भने २ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकाले केही सातायतादेखि नै कोभिड बिरामीको संख्यामा उल्लेखनीय रूपमा वृद्धिको सामना गरिरहेको छ । जसमा नोभेम्बरमा मात्र हरेक साता नयाँ संक्रमितहरू लाखौंको संख्यामा थपिएका हुन् । सरकारी निकायहरूले देशको स्वास्थ्य सेवा प्रणाली जाडोयाममा अप्रत्याशित दबाबमा परेको बताइरहेका छन् ।

यसअघि सीडीसीका प्रमुख रोबर्ड रेडफिल्डले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा देशको सार्वजनिक स्वास्थ्य क्षेत्रले अभूतपूर्व चुनौतीको सामना गर्ने बताएका थिए । बाक्लो जनसंख्या रहेका क्यालिफोर्निया, टेक्सास, फ्लोरिडालगायत राज्यमा पछिल्लो समय बढी प्रभावित देखिएका छन् ।

यी राज्यहरूमा कोभिड–१९ संक्रमितहरू दसौं लाख पुगिसकेका छन् । यसअघि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपत्कालीन निर्देशन जारी गर्दै सबै बासिन्दाहरूलाई घरैमा बस्नसमेत आदेश दिएका थिए ।

सरकारको सुझाव बेवास्ता गर्दै अधिकतम मानिसहरू ‘थ्यांक्स गिभिङ’ मनाउन यात्रा गरिरहेकाले पनि आगामी केही दिनसम्म संक्रमण दर बढ्ने क्रम जारी रहने जनाइएको छ । यात्रा गर्नेहरूमध्ये केही प्रतिशत मात्र संक्रमित भए पनि उनीहरूले हजारौं वा लाखौंमा रोग फैलाउन सक्ने भएकाले जोखिम थप बढेको जनाइएको छ । त्यसका साथै नजिकिँदै गरेको क्रिसमस तथा नयाँ वर्षका कारण पनि कोभिड–१९ को संक्रमण थप बढ्ने आकलन जनस्वास्थ्यविद्हरूले गरेका छन् ।

रुसमा एकै दिन २८ हजार संक्रमित

रुसमा कोभिड–१९ बाट एकै दिन २८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २८ हजार एक सय ४५ जना संक्रमित थपिएका हुन् । रुसमा बुधबार २५ हजार ३ सय ४५ जना संक्रमित भएका विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोभिड–१९ बाट २३ लाख ५४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

यसअघि गत नोभेम्बर २७ मा एकै दिन २७ हजार ५ सय ४३ जना संक्रमित भएका थिए । ‘पछिल्लो २४ घण्टामा रुसमा कोभिड–१९ बाट संक्रमित हुनेहरूको संख्या २८ हजार १ सय ४५ थपिएको छ,’ सरकारी अधिकारीले भनेका छन् ।

थपिएका संक्रमितमध्ये ७ हजार ७ सय ५० जना केन्द्रीय राजधानी मस्कोका हुन् । पछिल्लो २४ घण्टामा रुसमा थप ५ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन योभन्दा धेरै ५ सय ८९ जनाको मृत्यु भएको जनाइएको छ । कोभिड–१९ विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?