काठमाडौँ — गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड–१९) संक्रमण अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । मंगलबार दिउँसोसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार एक सय ७५ को मृत्यु भएको छ । त्यस्तै एक लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब ७९ हजार निको भएको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले जनाएको छ ।
पछिल्लो समय चीनमा भन्दा अमेरिका र युरोपका देशहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको छ । सोमबार मात्रै इटालीमा ३४९ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट २ हजार एक सय ५८ जनाको मृत्यु भएको छ भने २७ हजार ९ सय ८० भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै इरानमा ८ सय ५३ जनाको मृत्यु भएको छ भने करिब १५ हजार संक्रमित भएका छन् ।
त्यस्तै स्पेनमा मंगलबार दिउँसोसम्म ३४२ को मृत्यु भएको छ भने करिब १० हजार संक्रमित भएका छन् । सोमबार चीनमा भने १३ जनाको मात्रै मृत्यु भएको छ भने २१ जनामा संक्रमण देखिएको छ । चीनमा मंगलबार दिउँसोसम्म ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा अहिलेसम्म ८० हजारभन्दा बढी संक्रमित भएका छन् भने ६८ हजारभन्दा निको भइसकेका छन् । चीनबाहिर मात्रै अहिलेसम्म ३ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ ।
कोरोनाका लागि हलिउड जोडीको सहयोग
ऱ्यान रेनोल्ड्स र ब्लेक लाइभ्लीले कोरोनाका लागि एक मिलियन (दश लाख)अमेरिकी डलर सहयोग गर्ने भएका छन् । कोरोना प्रकोपका कारण उपचार गराउन नसक्ने अमेरिकी तथा क्यानडेली परिवारका लागि उनीहरुले उक्त रकम सहयोग गर्ने भएका हुन् ।
लाइभ्लीले आफ्नो ट्विटरबाट ‘कोरोनाको निर्दयी प्रभाव’ भन्दै ट्वीट गरेका थिए । जसमा उनले आफ्नो जीउ र मुटुको सुरक्षा गर्नुहोला भन्दै लेखेका थिए । ‘खुसीको लागि ठाउँ छोड्नुहोस् र पीडामा परेकालाई फोन गनुहोस् जसलाई तपाईंको सहयोगको आवश्यकता छ ।’
ताजमहल बन्द
भारतको आग्रामा रहेको ताजमहल कोरोना भाइरस महामारीका कारण बन्द गरिएको छ । भारतका पर्यटन मन्त्री प्रलाद सिंह पटेलले आफ्नो ट्विटमार्फत ताजमहल तथा देशका सम्पूर्ण संग्रहालयहरु मार्च ३१ सम्मको लागि बन्द गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सम्पूर्ण स्मारक तथा संग्रहालयहरुको टिकटहरु मार्च ३१ २०२० सम्मको लागि बन्द गरिएको छ ।’
ताजमहलमा एकदिनमा लगभग ५० हजार पर्यटक घुम्न आउने बताइन्छ । भारतमा हाल कुनै पनि मुलुकका पर्यटकहरुको आगमन रोक्का गरिएका छ । आएका पर्यटकहरुलाई पनि २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने छ । जसमा अन्य देशबाट भारत फर्किएका आफ्ना नागरिकहरु, चीनबाट आएका, फ्रान्स, जर्मनी, इरान, इटाली, दक्षिण कोरिया र स्पेन रहेका छन् ।
