कोरोना प्रकोप : मृतकको संख्या २ हजार नाघ्यो

पहिलो पटक संक्रमितभन्दा निको हुनेको संख्या बढेको चीनको दाबी
एजेन्सी

बेइजिङ — कोरोना भाइरसका कारण बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मंगलबार चीनमा थप १३६ जनाको मृत्यु भएको छ ।

बुधबार बिहानसम्म कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ जनाको मृत्यु भएको छ । यस बाहेक फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको छ ।

मंगलबार चीनमा थप एक हजार ७ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ । त्यस्तै विश्वका विभिन्न २८ मुलुकमा गरी एक हजारभन्दा बढी संक्रमित भएका छन् । बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।


चिनियाँ स्वास्थ्य आयोगका अनुसार पछिल्लो समय संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार बिहानसम्म हुबेईमा मात्रै ९ हजार एक सय र चीनभर १४ हजार ४ सय ४९ जना निको भएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । प्रकाशित : फाल्गुन ७, २०७६ ०९:०७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मनपरी मूल्यले जुनारबाट ठगिँदै उपभोक्ता

राजकुमार कार्की

(सिन्धुली) — ‘जुनार कसरी हो किलोको ?’ विराटनगरबाट काम सकेर राजधानी फिर्दै गरेका इन्द्र हुमागाईंले खनियाँखर्क बजारमा सोधे । उनको प्रश्न खस्न नपाउँदै उत्तर आयो, ‘यो प्रतिकिलो सय, यसको १३० रुपैयाँ ।’ 

एउटा ओइलाएको जस्तो र अर्को झरिलो जुनारको मूल्य थियो त्यो । ‘अहो कति महँगो हो, जुनार सिन्धुलीमै फल्ने भनेको होइन ?’ हुमागाईंले फेरि प्रश्न गरे । पसलवालालाई उनको प्रश्नको उत्तर दिने कहाँ फुर्सद थियो र । महँगो भएपछि पाँच किलो जुनार लैजाने सोच बनाएका हुमागाईंले दुई किलो मात्र जोख्न लगाए ।

‘किलोमा बढीमा पाँच दाना त चढ्दो रहेछ, काठमाडौंमै सिन्धुलीको जुनार भनेर सय रुपैयाँ प्रतिकिलो बिक्री गरेको सुनेको थिएँ,’ उनले भने, ‘उत्पादन क्षेत्रमा त केही कमी हुनुपर्ने हो नि, झन् महँगो पो रहेछ ।’ किलोका दरले बिक्री गरिने भएकाले जुनसुकै पसलमा सोधे पनि प्रतिकिलो मूल्य प्रायः सय रुपैयाँभन्दा बढी नै तोकिएको हुन्छ । बजारमा पहेंलपुर जुनार देखेपछि जोकसैलाई पनि दुई–तीन किलो लैजाउँ भन्ने लाग्छ । तर मूल्य सुन्नासाथ उपभोक्ता परिमाण घटाउनतिर लाग्छन् ।

बीपी राजमार्ग हुँदै राजधानी जाने वा फिर्ने जुनसुकै यात्रु पनि खनियाँखर्क बजारमा जुनार सुन्तला खरिद गर्दा ठगिने गरेका छन् । खुर्कोटबाट लागिएको उकालो सकिने र सदरमुकामबाट जाँदासमेत उकालो पार हुने भएकाले खनियाँखर्क बजारमा प्रायः सवारी रोकिने गरेका छन् । परल मूल्य र निश्चित नाफा लिएर मात्र बिक्री गर्नुपर्नेमा उपभोक्तालाई ठग्न मात्र खोज्नु राम्रो नभएको उपभोक्ता हितका पक्षमा काम गर्ने कन्जुमर आई नेपालका सिन्धुली जिल्ला अध्यक्ष निरन श्रेष्ठले बताए । त्यस्ता व्यवसायीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

अहिले बजारमा जुनारको मूल्य प्रतिदाना २० रुपैयाँदेखि २५ सम्म रहेको उपभोक्ता बताउँछन् । बिचौलियाले भने किसानका बगैंचाबाटै प्रतिदाना १० देखि १२ रुपैयाँसम्ममा किन्ने गरेका छन् । ‘गत वर्ष जुनारको मूल्य यतिखेर प्रतिकिलो ७०/८० रुपैयाँ थियो,’ उपभोक्ता रामचन्द्र कार्कीले भने, ‘यो वर्ष मुख्य सिजनमा समेत प्रतिकिलो १०० रुपैयाँबाट तल झरेन ।’

जिल्लामा उत्पादित जुनार बढी मात्रामा कोसेलीका रूपमा बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिले दिनहुँ सिन्धुलीबाट बाहिरिने गाडीका छत जुनारले भरिने गरेको व्यवसायी बताउँछन् ।

आफ्नो बगैंचामा उत्पादित जुनार तराईबाट आएका व्यापारीले गुणस्तर हेरेर प्रतिदाना १० रुपैयाँसम्ममा रुखबाटै टिपेर लगेको रतनचुराका जुनार कृषक रामबाबु थापाले जानकारी दिए । पूर्वी नेपालबाट बीपी राजमार्ग हुँदै राजधानी आवतजावत गर्ने प्रायः सवारीसाधन खनियाँखर्क बजारमा रोकिन्छन् । जुनार तथा सुन्तला यही बजारमा अत्यधिक महँगो छ । उत्पादन हुने क्षेत्र नजिकैको बजारमा जुनार यति धेरै महँगो हुनु उपयुक्त नभएको सरोकारवाला बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×