यसपालि को बन्ला ब्यालोन डी’ओर नायक ? के विश्वकप बन्नेछ निर्णायक ?

ब्यालोन डी’ओरका लागि विश्वका १ सय देशका खेल पत्रकारको भोट, खेलाडीको व्यक्तिगत प्रदर्शन र टोलीको सफलता मुख्य आधार हुन् । सन् १९९५ यता सातवटा विश्वकप वर्षमध्ये चार पटक मात्र विश्वकप विजेता खेलाडीले यो अवार्ड जितेका छन् ।

असार ३०, २०८३

अभय बस्नेत

काठमाडौँ — फुटबल जगतमा दुईवटा यस्ता सम्मान छन्, जसलाई हासिल गर्नु हरेक खेलाडीका लागि सपना हुन्छ । एउटा, आफ्नो देशका लागि फिफा विश्वकप जित्नु र अर्को, व्यक्तिगत रूपमा सर्वश्रेष्ठ घोषित हुँदै ब्यालोन डी’ओर हात पार्नु । रोचक कुरा त के छ भने, हरेक चार वर्षमा आयोजना हुने विश्वकपको प्रदर्शनले नै अक्सर उक्त वर्षको ब्यालोन डी’ओर विजेताको निर्धारण गर्छ ।

तर, ब्यालोन डी’ओरका लागि के विश्वकप जित्नै पर्छ त ? सधैं यस्तो हुँदैन । सन् २०१० मा स्पेनले विश्वकप जिते पनि ब्यालोन डी’ओर भने बार्सिलोनाबाट ६० गोल गरेका मेस्सीले नै पाए, जबकि टोलीका जाभी र इनिएस्टा विश्वकप विजेता थिए । त्यस्तै, २०१४ मा पोर्चुगल विश्वकपको सुरुवाती चरणबाटै बाहिरिए पनि क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा ब्यालोन डी’ओर जितेका थिए ।

तथ्याङ्क हेर्ने हो भने सन् १९९५ यता भएका सातवटा विश्वकप वर्षहरूमध्ये चार पटक मात्र विश्वकप विजेता खेलाडीले ब्यालोन डी’ओर जितेका छन् । ब्यालोन डी’ओरका लागि विश्वभरका १ सय उत्कृष्ट फुटबल राष्ट्रका पत्रकारहरूले भोट गर्छन्, जहाँ खेलाडीको व्यक्तिगत प्रदर्शन र टोलीको सफलतालाई मुख्य आधार मानिन्छ ।

अहिले उत्तर अमेरिकामा फिफा विश्वकपको गर्मागर्मी छ । यसपटकको प्रदर्शनले आगामी ब्यालोन डी’ओरको दौडलाई थप रोचक बनाएको छ । फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सी ८–८ गोलसहित गोल्डेन बुटको दौडमा अगाडि छन् ।

मेस्सीले ३९ वर्षको उमेरमा पनि लगातार सात खेलमा गोल गर्दै कीर्तिमान बनाएका छन् । यता इंग्ल्यान्डका जुड बेलिङ्गम र हृयारी केनले पनि ६–६ गोलसहित आफ्नो दाबेदारी छोडेका छैनन् । वर्तमान ब्यालोन डी’ओर विजेता ओस्मान डेम्बेलेले नर्वेविरुद्ध हृयाट्रिक गर्दै त्यसको साख जोगाएका छन् ।

नर्वे बाहिरिए पनि अर्लिङ हालान्डले ७ गोल गरेर आफ्नो व्यक्तिगत क्षमता देखाइसकेका छन् भने १८ वर्षीय लामिन यामल युवा स्टारको रूपमा उदाएका छन् ।

सन् १९५६ मा फ्रेन्च पत्रिका ‘फ्रान्स फुटबल’ ले सुरु गरेको ब्यालोन डी’ओर अवार्डको इतिहास निकै लामो छ । सुरुमा यो ‘युरोपियन फुटबलर अफ द इयर’ को रूपमा मात्र चिनिन्थ्यो र युरोपेली खेलाडीले मात्र पाउँथे । तर सन् १९९५ पछि विश्वभरका खेलाडीका लागि यसको ढोका खुल्यो ।

सन् २०२२ बाट भने यसको नियममा ठुलो परिवर्तन गरियो । अब यो अवार्ड क्यालेन्डर वर्षको सट्टा युरोपेली फुटबल सिजनको आधारमा प्रदान गरिन थालियो । इतिहास साक्षी छ, विश्वकपमा चम्किने स्टार खेलाडीहरू नै ब्यालोन डी’ओरमा पनि हाबी भएका छन् ।

सन् १९६६ मा इंग्ल्यान्डलाई विश्वकप जिताएपछि बबी चार्ल्टनले यो अवार्ड पाएका थिए । त्यस्तै, १९८२ मा इटालीका पाओलो रोसीले विश्वकपको गोल्डेन बल, गोल्डेन बुट र ब्यालोन डी’ओर तीनवटै उपाधि एकै वर्ष जितेर दुर्लभ इतिहास रचे ।

सन् १९९० मा पश्चिम जर्मनीका कप्तान लोथर माथाउसले विश्वकप जितेपछि ब्यालोन डी’ओर पनि आफ्नो नाममा सुरक्षित गरे । १९९८ मा फ्रान्सका लेजेन्ड जिनेदिन जिदानले फाइनलमा दुई गोल गर्दै टोलीलाई च्याम्पियन बनाए र ब्यालोन डी’ओरको निर्विकल्प हकदार बने ।

ब्राजिलका ‘द फेनोमेनन’ रोनाल्डोले सन् १९९८ र २००२ मा विश्वकपमा जादुमयी प्रदर्शन गरे । विशेष गरी २००२ मा चोटबाट फर्किएर फाइनलमा दुई गोल गर्दै उनले ब्राजिललाई पाँचौं पटक विश्वकप मात्र जिताएनन्, आफ्नो दोस्रो ब्यालोन डी’ओर पनि जिते ।

त्यसैगरी २००६ मा इटालीका डिफेन्डर फाबियो कानाभारोले रक्षापङ्क्तिबाट नेतृत्व गर्दै विश्वकप जिताएपछि यो सम्मान पाएका थिए । सन् २०१८ मा क्रोएसियालाई फाइनलसम्म पुर्‍याएका लुका मोडरिचले मेस्सी र रोनाल्डोको एक दशक लामो वर्चस्व तोड्दै ब्यालोन डी’ओर जिते ।

र भर्खरै, २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई ऐतिहासिक सफलता दिलाएपछि लियोनेल मेस्सीले आठौं पटक यो अवार्ड जितेर आफूलाई ‘सर्वश्रेष्ठ’ प्रमाणित गरे ।

विश्वकपको यो महाकुम्भ समापनतर्फ जाँदै गर्दा एउटा प्रश्न छ, के यसपटक पनि विश्वकपको प्रदर्शनले नै फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान ब्यालोन डी’ओरको फैसला गर्ने छ ? वा क्लब फुटबलको प्रदर्शनले यसलाई ओझेलमा पार्ने छ ?

विश्वकप २०२६फिचर

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Link copied successfully