साथीलाई लिपस्टिक र गाजल लगाइदिन्थिन्, बनिन् 'मेकअप आर्टिस्ट'

कन्टेन्ट क्रिएटर र मेकअप आर्टिस्ट दुवैको भूमिकामा निरन्तर काम गर्दागर्दै उनले आफ्नो परिचय फराकिलो बनाउँदै गइन्

वैशाख २९, २०८२

नुमा थाम्सुहाङ

काठमाडौँ — सुष्मा कार्कीलाई सानै उमेरदेखि मेकअपमा रुचि थियो । कक्षा ९ मा पढ्दा नै उनी स्कुलको स्टेज पफर्मेन्स गर्थिन् । स्टेज उक्लिनुअघि उनी सँगैका साथीलाई फाउन्डेसन, लिपस्टिक र गाजल लगाइदिन्थिन् । यस्तै कामबाट नै उनले यिनै मेकअपको प्रक्रिया र महत्व सिक्ने मौका पाइन् ।

भनिन्, ‘कहीँ पार्टी जानुपर्‍यो भने पनि ममीको साथी, मेरो साथी अनि छिमेककालाई पनि मेकअप गरिदिनुपर्थ्यो । यस्तो गर्दागर्दै म मेकअपसँग नजिक हुन पुगेँ ।’

पढाइमा अब्बल भएकाले सुष्माको परिवारको चाहना थियो, उनले गतिलो विषय पढेर करिअर बनाऊन् । त्यही चाहनाअनुसार उनी सन् २०१५ मा चार्टर्ड अकाउन्टेन्ट (सीए) पढ्न थालिन् । तर पढाइको गतिले उनलाई खुसी बनाउन सकेन । उनले ती दिन सम्झिइन्, ‘पढ्दापढ्दै जीवन एकोहोरो लाग्न थाल्यो । हरेक दिन पढेको पढ्यै छ । शनिबार पनि छुट्टी छैन । हरेक शनिबार परीक्षा नि दिनुपर्ने ।’ एकाहोरो पढाइबाट आजित भएकी उनले २०१६ को अन्तिममा ड्रपआउट गरिन् ।

पढाइ छाडेपछिको समय सुष्माका निम्ति सजिलो थिएन । तर उनी आफ्नो रुचिको बाटो पहिल्याउन तयार थिइन् । त्यसैले त उनले घरमै बसेर युट्युबमार्फत मेकअप सिकिन् । मेकअपसम्बन्धी भिडियो हेर्दै नयाँनयाँ सीप सिक्दै गइन् ।

२०१७ मा उनले आफ्नै युट्युब च्यानल खोलिन् अनि २०१८ मा मेकअप स्टुडियो । ‘त्यतिबेला मेकअप भन्ने छुट्टै क्याटगोरी थिएन । ब्युटी सलोन र पार्लर भन्ने थियो,’ उनले सुनाइन्, ‘मेकअप मात्रै भनेर कसैले सोचेको थिएन । हाम्रो पनि माइन्ड सेट यस्तै थियो तर मलाई यसरी काम गर्न मन थिएन ।’ 

कन्टेन्ट क्रिएटर र मेकअप आर्टिस्ट दुवैको भूमिकामा निरन्तर काम गर्दागर्दै उनले आफ्नो परिचय फराकिलो बनाउँदै गइन् । २१ वर्षको उमेरमा त सुष्मा उद्यमी नै बनिसकेकी थिइन् । इन्स्टाग्राममा ‘केसुष्कालोलोजी’ नामले चिनिने सुष्मा अहिले एसआईएस ब्युटी एकेडेमीको संस्थापक छिन् । एसआईएस ब्युटी एकेडेमीमार्फत उनले १० जना र कन्टेन्ट क्रिएसनमा ४ जनालाई रोजगार दिएकी छन् । यति मात्र नभई सुष्मा मेकअपसम्बन्धी क्लास दिन्छिन् । वर्कसप सञ्चालन गर्छिन् । 

मेकअप र सौर्न्दयबारे सुष्माका आफ्नै बुझाइ छन् । ‘आफ्नो बेस्ट भर्सन निकाल्न मेकअप गरेको हो । मेकअपले आफूलाई लुकाउँदैन । यसले तपाईंको सुन्दरता देखाउन सहयोग गर्छ,’ उनी भन्छिन् । 

सुरुसुरुमा राम्रो पढाइ भएकी केटीले सीए छाडेर मेकअपमा लागेको भन्दै कुरा काट्ने पनि थिए । ‘अहिले आएर काम गरेबापत पैसा राम्रो बनाउन सकिन्छ भन्ने कुराले राम्रो अर्थ लाग्दो रहेछ । म खुसी छु,’ उनले भनिन् । 

कान्तिपुरको भिडियो कार्यक्रम ‘बियोन्ड द फिड्स’मा सुष्माले आफ्नो संघर्ष, कन्टेन्ट क्रियटर र उद्यमीको यात्रा एकैचोटि गर्दाका चुनौतीबारे विस्तारमा बताएकी छन् ।

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully