‘द ह्याप्पी हाइकर्स्’को संघर्षपूर्ण विगत

वैशाख १५, २०८२

नुमा थाम्सुहाङ

काठमाडौँ — केसाङ हेल्मुले २७ वर्षको उमेरमै के मात्र गरेनन् । असफल व्यापारको स्वाद चाखेनन् कि, रंग लगाउने काम गरेनन् कि, वेटर बनेनन् कि, लाहुरे बन्ने सपना देखेनन् कि, जसरी हुन्छ विदेश जाने भनेर पासपोर्ट बोकेर अनेकतिर भौँतारिएनन् कि । पछिल्ला केही वर्षयता भने उनी एउटै काममा रमाएका छन्, त्यो हो हाइकिङ गर्ने अनि त्यसको रोचक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने । यही काममा उनी रमाइरहेका मात्रै छैनन्, सार्वजनिक परिचय पनि बनाइरहेका छन् ।

काठमाडौंमै जन्मे–हुर्केका केसाङ नुवाकोटस्थित मामाघर जाँदा आमासँगै जंगलको गोरेटो बाटोहरू हिँड्थे । त्यही हिँडाइबाटै उनको मन जंगल र प्रकृतितिर एकोहोरिएको थियो । ‘आमाको गाउँ नुवाकोट र बुबाको गाउँ हेलम्बु । पहिला गाडीको सुविधा थिएन । हिँडेर जानुपर्थ्यो,’ केसाङ पुराना दिन सम्झिँदै भन्छन्, ‘आमासँग ६ वर्षको उमेरमा नै गाउँ हिँडेर जाने बानी भएदेखि हाइकिङमा अलिकति बढी रुचि लाग्यो ।’   

केसाङ इन्स्टा र रिलमा ‘द ह्याप्पी हाइकर्स्’ को रूपमा चिनिन्छन् । उनले खाना, हाइकिङ र यात्राबारे बनाएको भिडियो धेरैले मनपराएका छन् । आफूलाई यसरी माया गर्ने दर्शकका लागि केसाङ पनि टुक्कासहितका भिडियो बनाउन बिर्सिँदैनन् ।

‘म रमाइलो अति नै गर्छु । उमेर ढल्किँदै गए पनि आफूलाई बढो बच्चाजस्तो लाग्छ,’ उनी भन्छन्, ‘सानो बच्चाहरूलाई साथी बनाएर घुलमिल गर्न मन लाग्छ । उनीहरूबाट पनि सिक्न पाइन्छ । म सबैसँग घुलमिल हुन्छु त्यसैले मलाई खुसी देख्नुहुन्छ ।’ 

तर केसाङले अहिले साटिरहेका खुसी पछाडिका पीडाहरू पनि छन् । बिजनेसमा स्नातक गरे । पासपोर्ट बनाए । तर भिसा लागेन । ‘मैले विदेशको लागि पनि धेरै ठाउँ ट्राइ गरेँ । पासपोर्टको मिति नै सकिन लागिसक्यो । भिसा लाग्दै लाग्दैन,’ केसाङ सुनाउँछन्, ‘अनि दिक्क भएर हरेक शनिबार म हाइकिङ जान्थेँ ।’

त्यतिमात्र होइन उनले १२ पास गर्नेबित्तिकै लाहुरेको सपना पनि देखे । त्यो पनि पूरा भएन । बौद्ध स्तुपमा रङ लगाउने काम गरे । त्यसपछि रेस्टुरेन्टमा वेटरको काम गरे । काम गर्दै गएपछि आफ्नै व्यवसाय गर्ने सोच बनाए । व्यवसायमा हात हाले तर यहाँ पनि असफलता पाए ।

‘मैले धेरै काम गरेँ । रेस्टुरेन्टमा ५ देखि ११ बजेसम्म वेटरको काम नि गरेँ । कहिलेकाहीँ भाडा पनि माझिन्थ्यो,’ उनले भने, ‘त्यतिबेलाचाहिँ आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । तर बिजनेस डुब्यो ।’

केही गर्छु भनेर व्यवसायमा होमिएका केसाङले बुबाको पैसा डुबाउँदा उनी निराश बने । तर उनी अहिले त्यो क्षणलाई सम्झिएर हाँस्दै भन्छन्, ‘मेरो कस्टमर सर्भिस बिजनेस थियो । व्यवसाय डुबाउँदा बुबाले स्याबास...भन्नुभयो ।’

एकपछि अर्को प्रयास गर्दा पनि असफल भएपछि उनी डिप्रेसनमा पनि पुगे । तर परिवारकै माया र सहयोगले केसाङमा खुसी साट्ने सपना जागेको छ । ‘मैले १२ कक्षा सिध्याउँदा पनि जमल र असनसम्म पनि घुमेको थिइनँ । घरमै मोबाइल चलाएर बस्थेँ,’ उनी भन्छन्, ‘जे गर्दा पनि नभएपछि म डिप्रेसनमा पुगेँ ।’ 

उनी आफैँदेखि दिक्क भएर बाहिर निस्किदैनथे । घरमै काम सघाएर बस्थे । परिवारलाई चिन्ता थियो कि केसाङले नराम्रो निर्णय लिन्छ भनेर । तर उनले यी सबे असफलतादेखि अगाडी बढ्न सिके । हाइकिङ गर्न थाले । त्यसैको भिडियो बनाउन सुरु गरे ।

‘खासमा मेरो अहिले पनि पछि गएर बिजनेस नै गर्छु भन्ने छ । बिजनेसमा सुरुमा घाटामा गयो भनेर हार त मान्नु भएन,’ उनी आफ्नो योजनाबारे भन्छन्, ‘मेरो ३० वर्षपछि नै बिजनेस गर्ने योजना छ । अहिले सबैबाट सिक्ने हो । त्यसपछि एउटा सानो भए पनि बिजनेस गर्छु ।’ 

कन्टेन्ट क्रिएटरको रूपमा काम गरिरहँदा अहिले उनको परिवार पनि खुसी छन् । सबैले ‘द ह्याप्पी हाईकर्स्’ को रूपमा चिन्दा आफूलाई पनि खुसी लाग्ने केसाङ सुनाउँछन् । तर एक–दुई असफलताले आफ्नो जीवनको यात्रा नरोकिने र यसबाट सिकेर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ । यिनै केसाङले आफ्नो संघर्षपूर्ण विगतदेखि कन्टेन्ट क्रियटरसम्मको यात्राबारे कान्तिपुरको भिडियो कार्यक्रम बियोन्ड दि फिड्समा साटेका छन् ।

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully