आविष्कार केन्द्रका संस्थापक पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मा

स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन शाहले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सुम्पिएका हुन् ।

जेष्ठ २६, २०८३

सजना बराल

Pun, founder of Innovation Center, takes charge of the Ministry of Innovation

What you should know

काठमाडौँ — चुनावमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुन मन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन् । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई नवगठित विज्ञान,  प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।

अहिले सरकारले संघीय प्रशासनिक संरचनामा सुधार गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १७ मा झारेको छ । २०८३ वैशाख ३० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याएपछि नयाँ मन्त्रालयका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अस्तित्वमा आएको हो ।

मंगलबार दिउँसोसम्म भने आफू मन्त्री बन्नेबारे पूर्ण रूपमा बेखबर रहेको पुनले बताएका थिए । उनी नवप्रवर्तन मन्त्री बन्ने खबर फैलिएपछि कन्टेन्ट क्रिएटरले घेरिँदा पुनले भनेका थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर अपर्झट मन्त्री बनाइदिएपछि अहिले नै के गर्छौ भन्ने नसोध्नुस् । पहिलो काम मन्त्रालयमा गएर के के छ, त्यो बुझ्छु ।’ 

म्याग्दीमा रास्वपाले उम्मेदवार नउठाएर पुनलाई सहयोग गरेको थियो । सांसद् बनेपछि पुन सत्तारुढ रास्वपाप्रति नरम सुनिँदै आएका छन् । प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको भन्ने विवादित अभिव्यक्तिमा समेत पुनले प्रधानमन्त्रीकै समर्थन गर्दै आएको सुनिन्छ । सरकारले विज्ञान र नवप्रवर्तनको विषय भने नीति तथा कार्यक्रम र बजेटमा छुटाएको गुनासो पुनले गरेका थिए । ‘तपाईंहरूले सुशासन ल्याएर राम्रो गाडी, आरामदायी सोफा बनाउन खोज्नु भएको छ तर त्यसमा इन्जिन हालेन भने त्यो गाडी गुड्छ ?’ उनले संसद्‌मा भनेका थिए, ‘इन्जिन भनेको के हो ? अर्थतन्त्रको इन्जिन भनेको विज्ञान, प्रविधि र नवप्रवर्तन होइन ?’ 

उनले आफू मन्त्री बन्न नभइ देश र अर्थतन्त्रको लागि विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय चाहिने दोहोर्‍याउँदै आएका थिए । प्रविधिमैत्री युवा सरकारले यो कुरा बुझ्ला भन्नेमा आशावादी रहे पनि दस्तावेजहरूमा नआउँदा उनले आश्चर्य प्रकट गरेका थिए । प्रधानमन्त्री कार्यालयमातहत सूचना प्रविधि प्राधिकरण बनाउने विषयमा कटाक्ष गर्दै उनले भनेका छन्, ‘प्राधिकरण बनाएर विज्ञान, अनुसन्धान, नवप्रवर्तनको विकास हुन्छ भने शहरी विकास, भौतिक विकास सबैको प्राधिकरण बनाएर चलाए भैगो त, मन्त्रालय किन चाहियो ?’    

म्याग्दीको नांगीमा जन्मिएका पुनका बुबा बेलायती सेनामा थिए । उनले चितवनबाट एसएलसी र काठमाडौँको अमृत साइन्स क्याम्पसबाट आईएससी गरे । उनी ३३ वर्षको उमेरमा उच्च शिक्षा अध्ययनका लागि साथीको सल्लाहमा अमेरिका पुगे । त्यहाँ नेब्रास्का विश्वविद्यालयले उनलाई विज्ञान पढ्न पूर्ण छात्रवृत्ति प्रदान गर्‍यो । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे ।

अमेरिकाबाट फर्केपछि उनले झन्डै १३ वर्षसम्म चितवनमा गणित र विज्ञान पढाए । गाउँ फर्केर उनले कक्षा ८ सम्म अध्यापन हुने विद्यालयलाई कक्षा १० सम्म पुर्‍याए । सन् १९९७ मा अस्ट्रेलियाका विद्यार्थीले उपहारस्वरूप दिएको चारवटा पुराना कम्प्युटर राखेर उनले हिमाञ्चल माविमा कम्प्युटर ल्याब स्थापना गरे । ती कम्प्युटर चलाउन बिजुली नभएकाले नजिकैको खोलामा सानो हाइड्रो–जेनेरेटर जडान गरी विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरे । कम्प्युटर भए पनि इन्टरनेट थिएन । सन् २००१ मा आफ्नो गाउँलाई इन्टरनेटसँग जोड्न मद्दत माग्दै बीबीसीलाई इमेल पठाएपछि विश्वभरबाट पुनलाई सहयोग जुट्यो । दुर्गममा इन्टरनेट पुर्‍याउने विधि खोजिरहेका पुनले पुराना कम्प्युटरको पार्टपुर्जा जोडजाड पारेर विद्यार्थीलाई सिकाएको विषयमा ‘काठको कम्प्युटर’ शीर्षकमा बीबीसीले समाचार प्रकाशन गरेको थियो ।

पुनका पुराना अभिव्यक्ति र काम गराइ हेर्दा उनी प्रविधि क्षेत्रमा दूरदर्शी देखिन्छन् । वि.स. २०५० को दशकमै दुर्गम भेगमा कम्प्युटर पुर्‍याएर वायरलेस इन्टरनेट सेवाबाट शिक्षण र स्वास्थ्य सञ्चारको पहल गरेका थिए । उनले वायरलेस प्रविधिको प्रयोग गरेर म्याग्दीका दुर्गम गाउँहरूमा इन्टरनेट पुर्‍याएका थिए । साधारण वाईफाई राउटरलाई परिमार्जन गरी पहाडी डाँडाहरूमा रिपिटर टावर राखेर उनले गाउँलाई विश्वसँग जोडेका थिए ।

सोही पहलका लागि उनलाई २००७ मा एसियाको नोबेल पुरस्कार मानिने ‘रोमन म्यागासेसे पुरस्कार’ दिइयो । पछि ‘इन्टरनेट हल अफ फेम’, समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोस्टल अवार्डजस्ता विभिन्न सम्मान पाए । अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गर्‍यो । ‘अमेरिकाबाट फर्केर आएपछि जागिर खाइनँ, व्यापार गरिनँ, समाजसेवा गर्दै आएको छु,’ पुनले भन्दै आएका छन्, ‘अहिले पो सबैका हातमा मोबाइल आएको छ । मैले त टावर नबन्दै, दुर्गम गाउँमा इन्टरनेट पुर्‍याउने काम गरेको थिएँ ।’

पुनले २०७५ तिर काठमाडौंको ठमेलमा ‘नेपाल कनेक्सन’ नामक रेस्टुरेन्ट पनि सञ्चालन गरेका थिए । सो रेस्टुरेन्ट म्याग्दीका विद्यालयका शिक्षकहरूको तलबका लागि कोष जुटाउन सुरु गरिएको र त्यहाँबाट हुने आम्दानीको हिस्सा दुर्गमका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उनी बताउँथे । त्यही रेस्टुरेन्टभित्रै राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा जन्मिएको थियो  ।

विज्ञान र प्रविधिलाई प्रवर्द्धन गर्न उनले २०६९ मा आफ्नै पहलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आविष्कार केन्द्र स्थापना गरे । केन्द्रले कोरोना महामारीका बेला पीपीई, स्वाब संकलन बुथ र रोबोटजस्ता अत्यावश्यक सामग्री बनाएर जिल्लामा पुर्‍याएको थियो । केन्द्रमार्फत उनले देशका विभिन्न संघीय अस्पतालहरूमा बिग्रेर रहेका भेन्टिलेटर, डायलाइसिस, एक्स-रे मेसिन, एनेस्थेसिया मेसिन, भिडियो एक्स-रे अटोक्लेभ मेसिन, ब्लडप्रेसर मनिटर, ईसीजी मेसिन, पेसेन्ट मनिटरहरू मर्मत गराए । प्रदीप पौडेल स्वास्थ्यमन्त्री छँदा पुनले १७ वटा संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापन गरेका थिए । 

पुन आफ्नो सादगी जीवनशैलीका लागि चिनिन्छन् । उनी साधारण लत्ताकपडामा हिँड्छन् । चुनावी अभियानमा मत माग्ने उनको शैली चर्चित थियो । सिधा-सिधा र ठट्यौलो पारामा बोल्ने उनको शैली, नृत्य, गायन र हाउभाव पनि निरन्तर सामाजिक सञ्जालमा रिल्स र मिम बन्ने गरेको छ । पछिल्लो पटक उनले बरु रकेट बनाउन सजिलो तर बाँदर भगाउने प्रविधि विश्वभर नभएको भन्ने अभिव्यक्ति दिएका थिए, सो भनाइ भाइरल भएको छ । 

अघिल्लोपटक शिक्षामन्त्री हुँदा उनले मन्त्रालयमै ओछ्यान लगाएर बस्नुका साथै सुरक्षाकर्मी नलिने घोषणा गरेका थिए । शिक्षा क्षेत्रमा रहेका अनियमितता, भ्रष्टाचार र बेथिति हटाउन भन्दै उनले त्यो बेला ३ वटा कानुन र ४ वटा नियमावलीको खाका तयार पारेका थिए । उनका तत्कालीन सल्लाहकारका अनुसार उच्चशिक्षासम्बन्धी एकीकृत ऐन, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी ऐन, शिक्षा नियमावली र शैक्षिक कन्सल्टेन्सीसम्बन्धी नियम परिमार्जन गर्ने उनको तयारी थियो ।

उनको काम गर्ने र हिँड्ने शैली पूर्वनिर्धारित वा योजनाबद्ध हुँदैन । उनी तुरुन्तै निर्णय लिने र कुनै योजना सफल नभए तुरुन्तै अर्को विकल्प खोज्न थाल्ने उनका निकटस्थहरू बताउँछन् । उनीमाथि सार्वजनिक रूपमा संकलन गरेको रकमको हिसाबमा पूर्ण पारदर्शिता नअपनाएको आरोप लागेको छ । किताब बेचेर र चन्दा उठाएर संकलन गरेको रकमको प्रक्रिया हचुवा भएको आलोचकहरू बताउँछन् । 

सामाजिक सञ्जालमा आलोचना गर्नेहरूलाई अशिष्ट भाषा प्रयोग गर्ने र कहिलेकाहीँ गालीगलौज मै उत्रिनु असोभनीय भएको कतिपय आलोचक औँल्याउँछन् । केहीले उनलाई वास्तविक ‘आविष्कारक’ भन्दा पनि पुराना सामानहरू जोडजाड गर्ने वा मर्मत-सम्भार (जुगाड) गर्ने व्यक्तिका रूपमा टिप्पणी गर्छन् । 

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाएर विज्ञ शिक्षाविद्लाई कुलपति बनाउनुपर्ने पक्षमा पुनले आवाज उठाउँदै आएका छन् । विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउन विश्वविद्यालयको कुलपति पदमा प्रधानमन्त्री वा राजनीतिक व्यक्तिहरू रहने व्यवस्था खारेज हुनुपर्ने उनको अडान छ । तर, रास्वपा सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति पाएका सयौँ पदाधिकारीलाई एकै पटक पदमुक्त गरे पनि विश्वविद्यालयको कुुलपतिसम्बन्धी व्यवस्था यथावत राखेको छ । यसमा प्रधानमन्त्री बालेन र पुन कसरी अघि बढ्छन्, हेर्न बाँकी छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully