महावीर यतिबेला गृहजिल्ला म्याग्दीका गाउँबस्ती घुम्दै कटवाल शैलीमा भोट मागिरहेका छन्, स्थानीयलाई भन्ज्याङ, चौतारा र टोलमा डाक्छन् र आफ्नो कुरा राख्छन् । पर्चा बाँड्छन् अनि अर्को बस्ती पुग्छन्।
What you should know
काठमाडौं र बागलुङ — ‘दाजुभाइ तथा दिदीबहिनीहरू, सुन्नुस् । चुनावमा उम्मेदवार भएर आएको छु । भेटघाट गर्न चाहनेहरू आउनुस् । प्रश्न छ भने सोध्नुस् । भोट दिन मन लागे दिनुस्, नदिए नदिनुस् ।’ म्यागासेसे पुरस्कार विजेता महावीर पुन यति बेला गृह जिल्ला म्याग्दीका गाउँबस्ती घुम्दै कटवाल शैलीमा यसरी भोट मागिरहेका छन् ।
उनी स्थानीयलाई भन्ज्याङ, चौतारा र टोलमा डाक्छन्, मतदाता भेला पार्छन् र आफ्नो कुरा राख्छन् । पर्चा बाँड्छन् अनि अर्को बस्ती पस्छन् । महावीर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार हुन् । ६ माघमा मनोनयन दर्ता गरेलगत्तैदेखि उनी घरदैलोमा छन् । मत माग्ने उनको शैली भिन्न र अनौपचारिक खालको छ । सिधा–सिधा बोल्ने यो शैली कतिपयलाई ठाडो लाग्न सक्छ ।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री उनी शिक्षक, समाजसेवी, दूरसञ्चार क्षेत्रका अभियन्ता, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकका रूपमा चिनिन्छन् । २०५० को दशकमै दुर्गम भेगमा कम्प्युटर, वायरलेस इन्टरनेट सेवा पुर्याएकैले उनलाई ‘ताररहित मानव’ को उपमासमेत दिइन्थ्यो । अरूको जीवन सजिलो बनाउन उतिबेलै गाउँघरमा वायरलेस इन्टरनेट पुर्याएका उनी आफ्नै जीवनको लयमा भने सुव्यवस्थित देखिँदैनन् । काम, कुराकानी, जीवनशैली र व्यवहार पनि व्यवस्थित र योजनाबद्ध छैनन् । ‘उहाँको गति यति तीव्र र कार्यतालिका यति अनौपचारिक हुन्छ, कहिलेकाहीँ उहाँको टिमलाई नै गति पक्रिन गाह्रो पर्छ,’ महावीरमाथि स्नातकको ‘थेसिस’ लेखेका सामाजिक अभियन्ता सौरभ ढकाल भन्छन्, ‘उहाँ कुनै निश्चित सेड्युलबिनै काम गर्नु हुन्छ । जस्तै– किताब बेच्ने क्रममा कसैले बोलाउनेबित्तिकै त्यतै हिँड्दिनुहुन्थ्यो ।’
७१ वर्षमा राजनीतिमा
महावीर पहिला शिक्षक थिए, पछि अभियन्ता, आविष्कारक, लेखक भए । ७१ वर्षको उमेरमा गत ६ असोजमा ‘अप्रत्याशित’ रूपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भए । मन्त्रालयमा पदभार ग्रहणपछि उनले भनेका थिए, ‘कसैको पनि जिन्दगीमा भोलि ठ्याक्कै के हुन्छ, थाहा हुँदैन । किताब बेच्दै हिँडेको मान्छेलाई मन्त्री बनाइदिए । विशेष परिस्थितिले अपर्झट मन्त्री भएँ ।’ राजनीतिमा नै लाग्ने हो कि ? चुनावमा उम्मेदवार बन्नु हुन्छ कि भन्ने प्रश्नमा महावीरले राजनीतिमा नलाग्ने बताएका थिए । जेन–जी आन्दोलनपछिको अप्ठ्यारो अवस्थालाई पार लगाउन मात्र अन्तरिम सरकारमा मन्त्री बनेको उनको भनाइ थियो । महावीर २१ फागुनमा चुनाव गराएर मन्त्रीबाट निस्कने बताउँथे । भन्थे, ‘म राजनीति गर्न आएको होइन, काम गर्न आएको । मलाई नेता नभन ।’
आफ्नै भनाइविपरीत महावीरले प्रतिनिधिसभा निर्वाचन आउनु डेढ महिनाअघि नै मन्त्रीबाट राजीनामा दिए । त्यति मात्र होइन, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिमै होमिएका छन् । जबकि उनमा मन्त्री हुनुअघि राजनीति वा चुनावी गतिविधिमा खासै चासो/लगाव नै थिएन । गत ११ कात्तिकमा मात्रै उनले मतदाता नामावलीमा नाम चढाएका थिए । ‘जिन्दगीमा पहिलोचोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेन–जी पुस्ताका सम्पूर्ण भाइबहिनीलाई अल्छी नगरीकन २१ फागुनको आमचुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ फेसबुकमार्फत उनले आह्वान गरेका थिए । गण्डकी प्रदेशमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट पुनसहित १२ जना उम्मेदवार छन् । पुन एक्ला स्वतन्त्र उम्मेदवार हुन् । एमालेका हरिकृष्ण श्रेष्ठ, कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेकपाका अर्जुनबहादुर थापा, रास्वपाका युवराज रोकालगायतले पनि उम्मेदवारी दिएका छन् । २०७९ मा म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका थिए ।
महावीर मन्त्री छँदा शिक्षासम्बन्धी केही कानुन संशोधन गर्न चाहन्थे । तर निर्वाचन आचारसंहिता जारी भएकाले सरकारले कानुन संशोधन गर्न नसक्ने भएपछि पुनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भनेका थिए, ‘मलाई सहयोग गर्नु भएन । आफैं चुनाव जितेर आएर काम गर्छु ।’ उनका सचिवालयका एक सदस्यका अनुसार पुनले राजीनामा दिएको कुरा आफू म्याग्दी नपुगेसम्म सार्वजनिक नगर्न प्रधानमन्त्रीलाई भनेका थिए । ‘पुनजी रिसाएर हिँड्नुभएको हो । दुई–चार वटा कानुन बनाउन भन्नुभएको थियो । त्यो मुलुककै हितमा थियो । परिस्थितिवश हामीले कानुन बनाएर उहाँलाई सहयोग गर्न सकेनौं,’ पुनको राजीनामाको केही दिनपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको बैठकमा भनेकी थिइन् ।
प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था हटाउने पक्षमा पुन थिए । सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष रहने व्यवस्थालाई पनि उनले बन्देज लगाउन चाहेका थिए । शिक्षक सरुवाको मापदण्ड परिवर्तन गर्न र सहज बनाउने उनको भनाइ थियो । चुनावी अभियानमा पनि उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताइरहेका छन् । राजनीतिक हस्तक्षेप कम गर्न विज्ञ शिक्षाविद्लाई कुलपति बनाउनुपर्ने उनको धारणा छ ।
‘उम्मेदवारी दर्ताको ४० घण्टाअघिसम्म पनि म उठ्छु भनेकै होइन । परिस्थितिले उठायो,’ मन्त्री छँदा शिक्षा क्षेत्रका अनियमितता, भ्रष्टाचार र बेथिति हटाउन तीन वटा कानुन र ४ वटा नियमावलीको खाका बनाएर कानुन मन्त्रालयबाट पास भएर मन्त्रिपरिषद्बाट विधायन समितिमा अड्किएपछि बिच्किएर राजीनामा दिएको बताउँदै पुनले थपे, ‘विधायन समितिबाट पास भएर राष्ट्रपतिबाट स्वीकृत भएको भए म यहाँ उठ्न आउने मान्छे नै होइन ।’ विभिन्न बहाना बनाउँदै अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनाव उठेकामा आलोचना भएको छ, विशेषगरी पुनको ।
‘मलाई धोकेबाज, भगौडा भन्छन्, मन्त्रिपरिषद् र जेन–जीलाई धोका दियो भन्छन्,’ स्पष्टीकरण दिँदै उनी भन्छन्, ‘महावीरको महा पनि हट्यो, वीर पनि हट्यो भन्छन् । म धोकेबाज पनि होइन, भगौडा पनि होइन । जेसुकै भनुन्, म आफैं धोका पाएको हुनाले हिँडेको हो । जनताका लागि गर्न लागेको काम गर्न नपाएर धोका पाएको छु ।’ पुनका विज्ञ सल्लाहकार अभिषेक घिमिरेका अनुसार शिक्षासम्बन्धी दुई वटा ऐन र दुई वटा नियमावली संशोधन गर्ने तयारी थियो । तर, अर्थ र कानुन मन्त्रालयले सहमति प्राप्त गरिसकेको कानुन प्रधानमन्त्री कार्यालयको ढिलासुस्तीले रोकिएको पुनको बुझाइ थियो ।
‘उच्च शिक्षासम्बन्धी एकीकृत ऐन र अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी ऐन अध्यादेशबाट ल्याउने गरी मन्त्रिपरिषद् पुगेको थियो,’ घिमिरेले भने, ‘शिक्षा नियमावली र शैक्षिक कन्सल्टेन्सीसम्बन्धी नियम पनि संशोधन गर्ने भनिएको थियो । मुख्यसचिव र प्रधानमन्त्रीले सहयोग गर्नु भएन । चुनाव जितेर आएर गर्छु भनेर राजीनामा दिनुभएको हो ।’ बाहिर देखिने पुन भित्री रूपमा छुट्टै रहेको घिमिरे टिप्पणी गर्छन् । ‘सुरुवातमा म पनि उहाँलाई गम्भीर मान्छे नभएको जस्तो पाउँथें, धेरैजसो हास्य शैलीमा कुराकानी गर्ने रोमान्टिक पाराको मान्छे,’ उनी भन्छन्, ‘तर, काम गर्दै जाँदा भित्री रूपमा उहाँ त गम्भीर र आफ्नो विषयमा गहिरो गरी लाग्ने मान्छे हुनुहुँदो रहेछ । भित्रभित्रै विषयवस्तु बुझ्ने र रणनीतिक रूपमा अघि बढ्ने शैली हो उहाँको ।’
पुनका पुराना अभिव्यक्ति र कामगराइ हेर्दा उनी प्रविधि क्षेत्रमा दूरदर्शी देखिन्छन् । २०५० को दशकमै दुर्गम भेगमा कम्प्युटर पुर्याएर वायरलेस इन्टरनेट सेवाबाट शिक्षण र स्वास्थ्य सञ्चारको पहल गरेका थिए । युट्युबमा ‘इन्फोपार्क’ नामक च्यानलले १२ वर्षअघि अपलोड गरेको एक भिडियोमा पुनले इन्टरनेट भित्र्याए पनि लोकल कन्टेन्ट नभएकामा पिरलो व्यक्त गरेका छन् । ‘इन्टरनेटमा विभिन्न किसिमका सूचना पाइन्छन् तर अंग्रेजीमा मात्रै,’ उनले त्यही बेला भनेका थिए, ‘गाउँघरका मान्छेलाई अंग्रेजीमा भएको सूचना त्यति उपयुक्त हुँदैन । स्थानीय भाषामा कन्टेन्ट भएन भने इन्टरनेट ल्याएको खास फाइदा हुँदैन ।’ कक्षा ४ को अनिवार्य नेपालीमा पुनको जीवनी पढाइन्छ । उक्त पाठमा उनको सादगी जीवन र विगतमा गरेका कामको चर्चा छ ।
सादगी शैली
पुन प्रायः जाँगे र गन्जीमा देखिन्छन् । मन्त्री भएलगत्तै केशरमहलस्थित मन्त्रालयमै खाने, बस्ने गरे । सुरक्षाकर्मी नलिने बताए । मन्त्रालयमा ओछ्यान लगाएपछि अधिकांशले उनको शैलीलाई सादगी भन्दै प्रशंसा नै गरे । काठमाडौं विश्वविद्यालयका पूर्वडिन तथा उनका सहकर्मी डम्बर नेपालीले सादगीपन मात्र भन्दा पुनले अब काम पनि देखाउने बेला आएको बताउँछन् । ‘उनको सादगीपनको कुरा गरिसाध्य छैन, घरपरिवार सबै बिर्सेर हिँडेको मान्छे हो,’ प्राध्यापक नेपाली भन्छन्, ‘खाने, पिउने, सुत्ने, बस्ने कुनै कुराको टुंगो छैन ।
मान–सम्मान केही चाहिँदैन । लत्ताकपडामा सोख छैन । देश र नागरिकको सेवा गरौं भन्ने भाव ज्यादा छ । युवा पुस्तालाई लक्षित गरेर आविष्कार केन्द्र खोले ।’
निजी चिन्ता छोडेर देशबारे चिन्तन
पुनले घरपरिवार, आफन्तबारे कुराकानी गरेको आफूले कहिल्यै थाहा नपाएको नेपाली बताउँछन् । ‘घरपरिवार कहाँ छन्, के गर्दै छन्, खाए/खाएनन्, केही मतलब गरेको थाहा छैन,’ उनले भने । महावीर–ओममायाका झरना र जुना दुई छोरी छन् । पुन आफैंले पनि १३ वर्षको हुँदा घर छोडेको र अधिकांश समय बाहिरै बसेको बताउँछन् । पछिल्लो एक दशकदेखि पुन आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार केन्द्रको स्थापना र संवर्द्धनका लागि लागिपरेका थिए ।
‘वीरगन्ज कृषि औजार केन्द्र स्थापना गर्न सरकारले सहयोग गर्ने वचन दिए पनि रकम दिएन,’ प्राध्यापक नेपाली भन्छन्, ‘किताब बेचेर बजेट जुटाउँछु भनेर कस्सिए । आफ्नै आत्मवृत्तान्तको किताब बेच्न देश दौडाहामा हिँडे । साह्रै मिहिनेती मान्छे हो । मिहिनेतको चर्चा जति गरे पनि सकिँदैन ।’ माघ २०११ मा म्याग्दीको नांगीमा जन्मिएका महावीरका बुबा कृष्ण बेलायती सेनामा कार्यरत थिए । कक्षा ८ सम्म म्याग्दी र पर्वतमा पढेका उनले एसएलसी चितवनबाट उत्तीर्ण गरे । अमृत साइन्स क्याम्पस काठमाडौंबाट आईएस्सी गरेपछि पुनः चितवन फर्केर १३ वर्षसम्म गणित र विज्ञान पढाए ।
आलोचनामा पुन
पुनका आलोचकहरू उनलाई वास्तविक आविष्कारक नभएर मर्मत–सम्भार वा जुगाड गर्ने व्यक्तिका रूपमा लिन्छन् । उनीमाथि सार्वजनिक रूपमा संकलन गरेको रकमको हिसाबमा पारदर्शिता नभएको आरोप छ । सामाजिक सञ्जालमा अशिष्ट भाषा प्रयोग गरेको र आलोचना गर्नेलाई गाली गरेको भन्दै उनको विरोध हुने गर्छ । उनले आफ्नो परिवार र छोरीहरूलाई समय नदिएकामा पनि प्रश्न उठ्ने गरेको छ । भूकम्पका बेला आविष्कार केन्द्रका लागि अमेरिकामा उठाएको रकम वितरण नगरिएको भन्दै केन्द्रका तत्कालीन अध्यक्ष पुन र व्यवसायी रुद्र पाण्डेबीच सामाजिक सञ्जालमा वर्षौंसम्म जुहारी चलेको थियो ।
एक पटक त पुनले पाण्डेविरुद्ध मानहानिको मुद्दा हाल्ने चेतावनी पनि दिएका थिए । पाण्डेले भने, ‘कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी छोड्न’ भनेका थिए । एक्स (तत्कालीन ट्विटर) मा बाजाबाज गरेको केही समयपछि पाण्डेले आविष्कार केन्द्रका लागि डियरवाक फाउन्डेसनले ‘गो फन्ड मी’ मा संकलन गरेको भनिएको २१ हजार ४ सय ३ अमेरिकी डलर केन्द्रलाई हस्तान्तरण गरेको बताएका थिए । पुनले भने सो रकम कसरी र कति उठाइयो वा कसरी हस्तान्तरण गरियो भन्नेबारेमा पारदर्शिता नभएको र पाण्डेले कुरा लुकाएको दाबी गरेका थिए ।
‘आविष्कार भनेको त नयाँ चीज सिर्जना गर्ने र स्थानीय समस्या समाधान गर्ने कुरा हो, यो उनमा त्यति देखिँदैन,’ एक आलोचकले भने, ‘उनी आर्थिक रूपमा जवाफदेही पनि देखिँदैनन् । किताब बेचेरै १६ करोड उठाएको कुरा गर्छन् तर उनको पैसा उठाउने प्रक्रिया अलि बढी हचुवा र अपारदर्शी छ । उनी सोसल मिडियामा जथाभावी बोल्छन् । वैज्ञानिक वा बुद्धिजीवी भइसकेपछि जसलाई जे पनि भन्ने, मुख छोड्ने र गालीगलौज गर्ने काम सुहाउँदैन । कसैले इमानदार प्रश्न गर्दा मुखमुखै लाग्नु गलत हो । जब तपाईं पब्लिकको पैसा उठाउनुहुन्छ, सरकारसँग पैसा माग्नुहुन्छ, मन्त्री र सांसद हुन खोज्नुहुन्छ भने म आफ्नै पाराको मान्छे हुँ भनेर उम्किन पाइँदैन । जनताप्रति उत्तरदायी हुनुपर्छ र अरूलाई सम्मान गर्नुपर्छ ।’
इन्टरनेटको कथा
उनी ३३ वर्षको उमेरमा उच्च शिक्षा अध्ययनका लागि साथीको सल्लाहमा अमेरिका पुगे । त्यहाँ नेब्रास्का विश्वविद्यालयले उनलाई विज्ञान पढ्न पूर्ण छात्रवृत्ति प्रदान गर्यो । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । २४ वर्षपछि नांगी फर्किए । गाउँ फर्केर उनले कक्षा ८ सम्म अध्यापन हुने विद्यालयलाई कक्षा १० सम्म पुर्याए । आफू स्वयंसेवक शिक्षकका रूपमा पढाउन थाले । ‘विद्यालयको आयस्रोतका लागि चौंरी पाल्ने, चिज उत्पादन गर्ने, माछा पाल्ने, नेपाली कागज बनाउने, खरायो पाल्ने, पर्यटकका लागि होटल खोल्नेजस्ता काम गर्न थालें,’ पाठ्यपुस्तकको उनको जीवनीमा भनिएको छ । झन्डै ३० वर्षअघि उनले थालेका यी काम आज देशभरका सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमका रूपमा सञ्चालनमा छ ।
सन् १९९७ मा अस्ट्रेलियाका विद्यार्थीले उपहारस्वरूप दिएको चार वटा पुराना कम्प्युटर राखेर उनले हिमाञ्चल माविमा कम्प्युटर ल्याब स्थापना गरे । ती कम्प्युटर चलाउन बिजुली नभएकाले नजिकैको खोलामा सानो हाइड्रो–जेनेरेटर जडान गरी विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरे । कम्प्युटर भए पनि इन्टरनेट थिएन । सन् २००१ मा आफ्नो गाउँलाई इन्टरनेटसँग जोड्न मद्दत माग्दै बीबीसीलाई इमेल पठाएपछि विश्वभरबाट पुनलाई सहयोग जुट्यो । दुर्गममा इन्टरनेट पुर्याउने विधि खोजिरहेका पुनले पुराना कम्प्युटरको पार्टपुर्जा जोडजाड पारेर विद्यार्थीलाई सिकाएको विषयमा ‘काठको कम्प्युटर’ शीर्षकमा बीबीसीले समाचार प्रकाशन गरेको थियो । काठमाडौं वा नेपालका सहरी जिल्लामा इन्टरनेट भर्खर सुरु हुँदै गर्दा उनले १९९० को दशकमै पोखराबाट ४० किलोमिटर टाढाको नांगीलाई विश्वसँग जोड्ने सपना देखेका थिए ।
सामान्यतया ३–४ सय मिटर मात्र रेन्ज हुने साधारण इनडोर वाईफाई राउटरहरूलाई उनले एन्टेना परिमार्जन गरेर झन्डै ४० किलोमिटर टाढासम्म सिग्नल पठाउने बनाएका थिए । पोखराबाट नांगी गाउँ सिधा देखिने ठाउँमा नभएकाले उनले पहाडका डाँडाहरूमा रिपिटर टावर वा प्वाइन्ट स्टेसन राखे । यसरी २/३ वटा ठाउँमा रिपिटर राखेर पोखराको सिग्नललाई रिले गर्दै नांगी पुर्याएका थिए । सन् २००१ मा गाउँ–गाउँमा इन्टरनेटको पहुँच पुर्याउने उनको योजना साकार भएको थियो । सोही पहलका लागि उनलाई २००७ मा एसियाको नोबेल पुरस्कार मानिने ‘रोमन म्यागासेसे पुरस्कार’ दिइयो । पछि ‘इन्टरनेट हल अफ फेम’, समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोस्टल अवार्डजस्ता विभिन्न सम्मान पाए । अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गर्यो । ‘अमेरिकाबाट फर्केर आएपछि जागिर खाइनँ, व्यापार गरिनँ, समाजसेवा गर्दै आएको छु,’ पुन भन्छन्, ‘अहिले पो सबैका हातमा मोबाइल आएको छ । मैले त टावर नबन्दै, दुर्गम गाउँमा इन्टरनेट पुर्याउने काम गरेको थिएँ ।’
पुनले २०७५ तिर काठमाडौंको ठमेलमा ‘नेपाल कनेक्सन’ नामक रेस्टुरेन्ट पनि सञ्चालन गरेका थिए । सो रेस्टुरेन्ट विद्यालयका शिक्षकहरूको तलबका लागि कोष जुटाउन सुरु गरिएको र त्यहाँबाट हुने आम्दानीको हिस्सा दुर्गमका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उनी बताउँथे । त्यही रेस्टुरेन्टभित्रै राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा जन्मिएको थियो । पछि यसैलाई केन्द्रको अस्थायी कार्यालयका रूपमा प्रयोग गरिएको सो रेस्टुरेन्टमा पुनसँग जोडिएका ढकाल बताउँछन् । उनका अनुसार त्यहाँको माहोल निकै रोचक हुन्थ्यो । उनले त्यस स्थानलाई ‘स्याडो सिंह दरबार’ को संज्ञा दिए । अभियन्ता ढकाल पुनलाई ठूलो सपना देख्ने व्यक्तिका रूपमा लिन्छन् । भन्छन्, ‘उहाँको सबैभन्दा ठूलो सफलता नै निरन्तरता हो । उहाँले म्याग्दीदेखि ठमेल, आविष्कार केन्द्र हुँदै राजनीतिसम्म आफ्नो यात्रालाई निरन्तरता दिइरहनुभएको छ । कहिल्यै नथाक्ने अनौठो ऊर्जा छ । कुनै योजना असफल भएमा त्यसमा अलमलिएर बस्ने बानी छैन, तुरुन्तै अर्को विकल्प खोजेर अगाडि बढिहाल्नु हुन्छ । उहाँ प्रणाली र व्यवस्थाका चुनौतीहरूसँग लड्न र आफैं समाधान खोज्न सधैं तत्पर रहनु हुन्छ ।’
राष्ट्रिय आविष्कार केन्द्र स्थापना
२०६९ मा पुनले आफ्नै अगुवाइमा कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र खोले । केन्द्रले कोभिड महामारीका बेला स्वास्थ्य सामग्री बनाएको थियो भने सरकारी अस्पतालका स्वास्थ्य उपकरणको मर्मतसम्भार पनि गर्दै आएको छ । दुर्गममा औषधि ढुवानी गर्ने ड्रोन बनाइएको छ । घरेलु काम गर्ने रोबर्टको आविष्कार गरिएको छ । कृषि सामग्रीको उत्पादन गर्दै आएको छ । त्रिविका प्राध्यापक तथा आविष्कार केन्द्रका सहकर्मी रामेश्वर अधिकारी पुनलाई दुर्लभ चरित्र भएको व्यक्ति भनेर चर्चा गर्छन् । ‘उनको आत्मवृत्तान्त पढ्दा पनि थाहा हुन्छ, विज्ञान, प्रविधि र शिक्षा क्षेत्रमा जीवन दिएका छन् । भगवान् त होइन । मान्छेमा कमीकमजोरी पनि हुन्छन् । तर पुन तपस्यामा छन् जस्तो लाग्छ ।’ पुन सरल, साधारण, काममा प्रतिबद्ध र इमानदार व्यक्ति रहेको उनले औंल्याए ।
प्रदीप पौडेल स्वास्थ्यमन्त्री छँदा आविष्कार केन्द्रका अध्यक्ष पुनले १७ वटा संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापन गरेका थिए । भेन्टिलेटर, डायलासिस मेसिन, एनेस्थेसिया मेसिन, भिडियो एक्सरे अटोक्लेभ मेसिन, ब्लडप्रेसर मनिटर, ईसीजी मेसिन, पेसेन्ट मनिटरलगायत मेसिन मर्मत गरिएको थियो । २०७७ मा आविष्कार केन्द्रले कोभिड–१९ महामारी रोकथाम र उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरेर ५९ जिल्लामा पुर्याएको थियो । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), फेससिल्ड, स्वाब संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, औषधि वितरणका लागि रोबोट, कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव राख्ने बाकस र मास्क निर्माण गरिएको थियो । कोरोना महामारीबीच बिग्रेका भेन्टिलेटर र डायलासिस मेसिन मर्मत केन्द्रले मर्मत गरेको थियो ।
सरकारसँग भने उनी जहिल्यै असन्तुष्ट रहँदै आएका छन् । आविष्कार केन्द्र र कृषि औचार केन्द्र सञ्चालन गर्न आश्वासन दिए पनि सहयोग नगरेको दुखेसो गर्दै आएका छन् । ‘आविष्कार केन्द्र खोल्न सरकारको चाकडी गरें । तर काम लागेन । कसैले पनि मलाई पत्याएन । सरकारको कोही मान्छेले पत्याएन । आफ्नै हिसाबले केन्द्र चलाएको छु । सरकारले कृषि औजार कारखाना मर्मत गर्न र चलाइदिन भन्यो । पैसा दिन्छु भन्यो, ढाँट्यो । किताब बेचेर चलाइरहेको छु,’ उनले भने, ‘सरकारको चाकडी गरेर मैले कारखाना चलाउन पाएको होइन । मेरो फाइदाका लागि चलाएको पनि होइन । सरकारले कारखाना चलाइदिनुपर्यो भन्यो । आखिरमा सरकारले मलाई ढाँट्यो । सरकारले ढाँटेर मलाई स्वाद दिन्छु भनेको थियो होला । उल्टो मैले स्वाद दिएको छु ।’
महावीरको उम्मेदवारीले तरंगित म्याग्दी
आसन्न प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला म्याग्दी महावीरको उम्मेदवारीले राष्ट्रिय चर्चामा छ । मन्त्री पदबाट राजीनामासँगै हठात् स्वतन्त्र उम्मेदवारी दिएपछि स्थानीयसमेत तरंगित भए । यतिबेला म्याग्दीमा अन्य राजनीतिक दलले पनि उनको आगमनलाई विशेष प्रकारले हेरिरहेका छन् । पुनलाई रास्वपाले समर्थन गरेको छ । रास्वपाका जिल्ला सदस्य सन्तोष ढुंगानाले भने, ‘स्वतन्त्र रूपमा हाम्रा साथीहरू महावीरको प्रचारमा छन् ।’
महावीर स्वतन्त्र उम्मेदवार हुन् भने रास्वपाका उम्मेदवार युवराज रोकाले उम्मेदवारी झिक्ने समय सकिँदा ‘मिडप्याक’ गरेको बताए । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि मतपत्रमा भने उनको निर्वाचन चिह्न रहनेछ । झन्डै ८ वर्ष वैदेशिक रोजगारीमा दुबई बसेर फर्केपछि सामाजिक क्षेत्रमा क्रियाशील रोकाले उम्मेदवारी दिएर प्रचारमा निस्केपछि पार्टी सभापति रवि लामिछानेले फोन गरेर यस पटक महावीरलाई सघाउनुपर्ने बताएका थिए । ‘यो पटक उहाँलाई सघाउनुपर्ने भन्ने सभापतिको फोन आयो, त्यतिबेला हामी गाउँमा भएकाले उम्मेदवारी फिर्ता गर्ने समयमा आइपुगेनौं,’ उनले भने, ‘ढिला भएकाले प्राविधिक रूपमा नाम हटेन ।’
महावीरको आगमनलाई सबैले स्वाभाविक तर अहिलेको अवस्थालाई चुनौतीका रूपमा पनि लिएका छन् । यद्यपि उनले स्थानीय एजेन्डामा भन्दा केन्द्रीय विषयलाई बढी प्राथमिकतामा राखेको अन्य दलको बुझाइ छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतको परिचालनलाई अन्य उम्मेदवारले एजेन्डाका रूपमा लिएका छन् ।
गत २०७९ को निर्वाचनमा जितेका कांग्रेसका खम्बिर गर्बुजा अहिले उम्मेदवार छैनन् । कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीले कांग्रेस देश कस्तो बनाउने भन्ने एजेन्डामा रहेकाले नागरिकले विश्वास गर्ने बताउँछन् ।
गत निर्वाचनमा झिनो मतान्तरले हारेका एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ यस पटक जित निकाल्ने दाउमा छन् । उनले पनि यो निर्वाचनलाई नीति, सिद्धान्त र विचारको लडाइँका रूपमा लिएको बताए । ‘अहिले मुलुक बनाउने र जलाउनेबीचको प्रतिस्पर्धा चलिरहेको छ,’ उनले भने, ‘एमालेले देश बनाउनेहरूको नेतृत्व गर्छ ।’ पार्टीको नीति, सिद्धान्त र विचार हेरेर जनताले मतदान गर्नुपर्ने पनि उनले बताए । म्याग्दीमा पार्टीको बलियो संगठन भएको भन्दै निर्वाचन जित्ने मुख्य दाउ राखेको बताए ।
महावीर आउँदाको तरंगलाई श्रेष्ठले रमाइलो भएको बताए । ‘उहाँजस्तो व्यक्तित्व चुनावमा आउँदा चर्चा त हुने नै भयो, धेरैलाई रमाइलो पनि लागेकै छ,’ उनले भने, ‘त्यसले एमालेलाई असर पर्दैन ।’
नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले भने युवाको उम्मेदवार आफू भएको दाबी गरे । उनी तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट आएका हुन् । ‘जेन–जी आन्दोलनपछिको निर्वाचन भएकाले युवाले रोजेको उम्मेदवारले युवाको चाहना बुझ्ने गरी जानेछौं,’ उनले भने । महावीर आए पनि निर्वाचन परिणाम उनको पक्षमा आउन नसक्ने बताए । राप्रपाका डम्बरबहादुर सुवेदीको भने फरक विचार छ । उनले यो निर्वाचन एजेन्डाको निर्वाचन भएको बताए । यतिबेला राप्रपाले संवैधानिक राजसंस्था, कार्यकारी प्रधानमन्त्री र हिन्दु राज्यको माग गरेकाले सो मुद्दामा जनताले मत दिने उनी बताउँछन् ।
