उबरले काठमाडौंमा सुरु गर्‍यो सेवा

नेपालस्थित उबरको थर्ड पार्टी भेन्डर (साझेदार) बुक क्याब नाउका अशोक धमलाले भने, ‘उबरमा अहिले नेपालका १ हजार चालक जोडिएका छन् ।’

जेष्ठ ६, २०८३

सजना बराल

Uber launches service in Kathmandu

What you should know

काठमाडौँ — विश्वकै अग्रणी राइड-सेयरिङ प्लाटफर्म उबरले नेपाली बजारमा सेवा सुरु गरेको छ । बुधबारबाट उबरले काठमाडौं उपत्यकाभित्र सेवा सञ्चालनमा ल्याएको हो । उबरका बाइक र कार सुविधा एपमा छनोट गर्न सकिन्छ ।

‘अहिलेलाई अनौपचारिक रूपमा आजैबाट सेवा सञ्चालनमा ल्याएको हो, १ जुनमा औपचारिक लन्च हुँदैछ,’ नेपालस्थित उबरको थर्ड पार्टी भेन्डर (साझेदार) बुक क्याब नाउका अशोक धमलाले भने, ‘उबरमा अहिले नेपालका १ हजार चालक जोडिएका छन् ।’ 

उबरले केही दिन अघिदेखि नै आफ्नो सेवा विस्तारबारे ‘हेलो नेपाल, तपाईंको उबर आइपुग्यो !’ भन्ने सन्देशसहित इमेलमार्फत जानकारी दिन थालेको थियो । नेपालबाट उबर एप डाउनलोड गरेर खाता खोल्नेलाई कम्पनीले काठमाडौंमा सेवा सुरू भएको जानकारी दिँदै आधिकारिक इमेल पठाइरहेको छ ।

उबरको आधिकारिक डोमेन नेमबाट कान्तिपुरलाई प्राप्त इमेलमा काठमाडौंको ऐतिहासिक बौद्ध स्तुपको पृष्ठभूमिमा कार गुडिरहेको तस्बिर समावेश गरिएको छ । इमेलमा भनिएको छ, ‘अब यात्रा अझ सहज भएको छ । तपाईं काममा जाँदै हुनुहुन्छ, साथीभाई भेट्दै हुनुहुन्छ वा कतै बाहिर निस्किँदै हुनुहुन्छ भने केही मिनेटमै तपाईंलाई सवारी उपलब्ध हुनेछ ।’ ठेगानामा नेदरल्याण्ड्सस्थित कम्पनीको अन्तर्राष्ट्रिय मुख्यालय उल्लेख छ ।   

उबर नेपाल आउने चर्चामाँझ सामाजिक सञ्जालमा उबरको नाममा भइरहेका विज्ञापन र चालक दर्ता प्रक्रियाबारे ई-कान्तिपुरमा यसअघि समाचार सार्वजनिक भएपछि उबरको नेपालस्थित थर्ड पार्टी भेन्डर (साझेदार) बताउने ‘बुक क्याब नाउ’ कम्पनीले ती विज्ञापनहरू आधिकारिक भएको दाबी गरेको छ । बुक क्याब सञ्चालन गर्ने ‘इको इन्कर्पोरेसन ग्रुप’ का अशोक धमलाले चार वर्षदेखि आफूहरू उबरसँग सम्पर्कमा रहेको बताए । 

अहिले नेपालमा उबरको ‘टेक्नोलोजी टेस्टिङ’ अर्थात प्रविधि परीक्षणको चरण चलिरहेको उनले उल्लेख गरे । ‘हाल करिब १००० जना चालकलाई उबरको प्रणालीमा आबद्ध  गराइसकेका छौँ,’ उनले भने, ‘नेपाली बजारमा उबरको टेक्नोलोजी अनुकूलता जाँच गर्ने उद्देश्यले अर्ली अनबोर्डिङ भइरहेको हो ।’ उबरको आधिकारिक ड्राइभर एपमार्फत् नै चालक दर्ता गर्ने गरिएको उनले बताए ।

‘इच्छुक चालकले पहिले उबरको आधिकारिक ड्राइभर एप डाउनलोड गरी त्यसमा आफैँले रजिस्ट्रेसन गर्नुपर्छ,’ उनले भने, ‘एपमा दर्ता भइसकेपछि, त्यसमा प्रयोग गरिएको मोबाइल नम्बर हाम्रो टिमलाई उपलब्ध गराउनुपर्छ । नम्बर प्राप्त भएपछि हाम्रो टिमले सम्बन्धित चालक नेपाली नै हो भनी भेरिफाई गरिदिन्छ । हामीले यताबाट विवरण इन्ट्री गरेपछि चालकहरूलाई सिधै उबरबाटै आधिकारिक लिङ्क जान्छ र उनीहरू सिस्टममा आबद्ध हुन्छन् ।’

धमलाले भारतबाट नेपालको मामिला हेर्ने उबरका प्रतिनिधि साम्बित पानीग्राही भएको पनि उल्लेख गरेका छन् । पानीग्राही र उबरको मिडिया हेर्ने इकाइलाई यसबारे सत्यतथ्य बुझ्न कान्तिपुरले पटक-पटक इमेल पठाए पनि कुनै जवाफ प्राप्त हुन सकेन । सामाजिक सञ्जालमा भने अनेकौं पेजहरूले आफूलाई नै आधिकारिक भन्दै सवारी चालक अनुमतिपत्र, सवारी नम्बर प्लेट दर्ता गर्न भन्दै स्पन्सर्ड विज्ञापन पोस्ट गरिरहेका छन् । कतिपयले वेबसाइट नै बनाएर यस्ता प्रचार तीव्र पारेका छन् । ‘उबरनेपाल डट को’ नामक वेबसाइटले धमाधम वैयक्तिक विवरण संकलन गरिरहेको छ । 

धमलाले ‘उबर नेपाल-बुक क्याब’ र ‘उबर अनराइडर’ जस्ता पेजहरू आधिकारिक भएको र आफूहरूले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको बताए । कान्तिपुरको समाचारपश्चात ‘उबर नेपाल’ नामक फेसबुक पेज भने केही समय निष्क्रिय बनाइएकोमा हाल पुन: ‘नेपाल उबर अनबोर्डिङ हब’ नाममा सक्रिय बनाइएको छ । ‘नेपालमा उबरका थुप्रै भेन्डर होलान्, को-कोसँग सम्झौता भएको छ, त्यो हामीलाई जानकारी भएन,’ धमलाले भने, ‘हामीले चाहिँ उबरसँग अप्रिलमा नन-डिस्क्लोजर अग्रिमेन्ट गरेका छौँ ।’ 

धमलाले सामाजिक सञ्जालमा गरिएका आफ्ना विज्ञापन आधिकारिक भएको दाबी गरे पनि सरकारी निकाय र मुख्य कम्पनीको मौनताले प्रश्न खडा गरेको बताएका छन् । उद्योग विभागले उबरको नाममा हालसम्म कुनै औपचारिक वैदेशिक लगानी वा दर्ताको आवेदन नपरेको जानकारी दिएको छ । यसले विज्ञापनको पारदर्शिता र डेटा सुरक्षामा शंका उब्जाएको छ । 

दर्ता गर्न आह्वान गरिएका पेज र पोर्टलमा सवारी चालकको नाम, फोन नम्बर, सवारी साधनको नम्बर प्लेट, नम्बर मागिएका छन् । सामाजिक सञ्जालमा भइरहेको चालक दर्तासम्बन्धी विज्ञापनबारे कान्तिपुरले जिज्ञाशा राखेपछि ‘उबर नेपाल’ पेजका सञ्चालकले भने उक्त पेज निष्क्रिय बनाएका थिए । धमलाका अनुसार फेसबुकमा चालक दर्ताका लागि आफूहरूले प्रयोग गरेको फोन नम्बर र सोसँग सम्बन्धित प्रक्रियाहरू उबरको टिमबाटै स्वीकृत भएका हुन् । ‘अनबोर्डिङका लागि प्रयोग गरिएका नम्बर र फेसबुकमा देखिने डिजाइनहरू उताबाटै (उबरको अन्तर्राष्ट्रिय टिम) एप्रुभ भएर आएका हुन्,’ उनले भने । 

नेपालमा यसअघि अन्य राइड-हेलिङ कम्पनीहरूले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै, आवश्यक कानुनी कागजात र दर्ता प्रक्रिया पूरा गरेर मात्र अगाडि बढ्न उबरलाई सल्लाह दिएको पनि धमलाले बताए । आफ्नो कम्पनी ‘इको इन्कर्पोरेसन ग्रुप’ मुख्यतया पर्यटन क्षेत्रमा संलग्न रहेको र यसले नेपालमा बुकिङ डट कमजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूको ‘ग्राउन्ड ह्यान्डल’ गर्ने गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नेपाली बजारमा प्रवेश गर्ने योजनमा 'उबर'

उबर ड्राइभर दर्ता गर्न भन्दै सामाजिक सञ्जालभर फेक विज्ञापन

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully