सोसल मिडियामा सक्रिय नक्कली पेजले काठमाडौंमा उबर सेवा सुरू हुने भन्दै नम्बर दर्ता गर्न आह्वान गरेर जोखिम निम्त्याएका छन् ।
What you should know
काठमाडौँ — अमेरिकी राइड-हेलिङ कम्पनी उबर नेपालमा आउने चर्चाबीच ‘उबर नेपाल’, 'उबर नेपाल- बुक क्याब' लगायत नामका सोसल मिडिया पेज र वेबसाइट नै बनाएर गाडी तथा चालक दर्ता गर्ने प्रचार तीव्र पारिएको छ । ‘उबरनेपाल डट को’ नामक वेबसाइट र फेसबुक पेजमार्फत ‘काठमाडौंमा आधिकारिक सुरुवात’ भन्दै चालकहरूलाई नम्बर दर्ता गर्न आह्वान गरिएको छ । काठमाडौं उपत्यकामा 'उबर ड्राइभर अनबोर्डिङ' सुरु भएको भन्दै अफवाह फैलाइएको छ ।
सामाजिक सञ्जालमा गरिएका यस्तो प्रचारमा चालकहरूलाई आफ्नै तालिकामा कमाउन सकिने प्रलोभन देखाइएको छ । 'उबर नेपाल' नामक फेसबुक पेजमा एनसेलको नम्बर र चाबहिलको लोकेसन उपलब्ध गराइएको छ । यस विषयमा बुझ्न कान्तिपुरले उक्त नम्बरमा सम्पर्क गर्दा सम्बन्धित पक्षले आफूहरू हाल नेपालमा उबरको ‘टेक्नोलोजी टेस्टिङ’ को चरणमा रहेको र अहिले चालक दर्ता प्रक्रिया मात्र अगाडि बढाइएको दाबी गरेका थिए । आफ्नो परिचय खुलाउन नमानी हतारमा फोन काटेका उनले कान्तिपुरको चासोपश्चात फेसबुक पेज निष्क्रिय बनाएका छन् ।
उद्योग विभागका अनुसार हालसम्म उबरको नामबाट कुनै पनि औपचारिक वैदेशिक लगानी वा दर्ताको आवेदन आएको छैन । ‘उबरले नेपाल आउने इच्छा देखाएको चर्चा भए पनि हालसम्म उद्योग विभागमा कुनै पनि औपचारिक आवेदन परेको छैन,’ विभागका वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले भने, ‘सामाजिक सञ्जालमा प्रचार भएको विषय हामीले भर्खरै थाहा पायौं, त्यसमा अध्ययन गर्छौं ।’
सामाजिक सञ्जालमा केहीबेरअघिसम्म उपलब्ध ‘उबर नेपाल’ दाबी गरिएको पेजले धेरैको ध्यान तानेको थियो । प्रयोगर्ताहरूले यसबारे सोधपुछ गर्न तथा दर्ता गर्न चासो देखाइरहेका थिए । उक्त पेजका 'स्पन्सर्ड' पोस्ट अर्थात् पैसा तिरेर प्रचार गरिएको विज्ञापनमा सयौं कमेन्ट र इन्गेजमेन्ट थियो । 'उबर नेपाल- बुक क्याब' नामक पेजमा भने अहिले १३ हजार फलोअर छन् । यस्ता नक्कली पेजमा उबरको आधिकारिक बिजनेस इमेल नभई, जिमेल ठेगाना राखिएको छ ।
उबर नेपाल आउन लागेको दाबीसहित बनाइएको वेबसाइटमा पनि '© 2025 UberNepal' लेखिएको छ । आधिकारिक उबर वेबसाइटहरूमा 'Uber Technologies Inc.' को नाममा प्रतिलिपि अधिकार सुरक्षित गरिएको हुन्छ । साथै, उबरले कुनै पनि देशमा आफ्नो सेवा विस्तार गर्दा छुट्टै देशको नाम जोडेर नयाँ कम्पनीको रूपमा भन्दा पनि मुख्य उबरकै ब्रान्डकै प्रयोग गर्दै आएको छ । वेबसाइटमा सम्पर्कका लागि सामाजिक सञ्जालका आइकन राखिए पनि तिनले कुनै आधिकारिक पेजमा पुर्याउँदैनन्, ‘चाँडै सुचारु हुनेछ’ भन्ने सन्देश आउँछ ।
सोसल मिडियामा सुरु गरिएका यस्तो प्रचारले भने उपभोक्ता र चालकहरूलाई अन्योल र जोखिममा पारेको छ । उबरनेपाल नामको वेबसाइटमा त काठमाडौंमा उबर आउने काउन्टडाउन मितिसमेत राखिएको छ । जसअनुसार अबको २१ दिनपछि आउने उल्लेख छ ।
निजी कारसमेत व्यावसायिक राइड-हेलिङमा प्रयोग गर्न दिनु उबरको मूल अवधारणा रहँदै आएको छ । तर, नेपालमा भने निजी सवारी साधन (रातो प्लेट) लाई भाडामा प्रयोग गर्न पाइने कि नपाइने भन्ने विषय लामो समयदेखि बहसमा रहँदै आएको छ । संघीय सरकारले राइड-हेलिङ सेवालाई नियमन गर्न मापदण्ड जारी गर्ने तयारी गरिरहेको छ ।
