चन्द्रमामा स्थायी बसोबास खडा गर्ने नासाको तयारी

नासाका अनुसार २०२८ मा आर्टेमिस–४ अभियानका क्रममा चन्द्रमाको कक्षमा एउटा सानो अन्तरिक्ष स्टेसन ‘लुनार गेटवे’ स्थापना गरिने र आर्टेमिस–५ अभियानमा चन्द्रमामा स्थायी आधारशिविर निर्माणको काम सुरु गरिने, चीनको पनि २०३३ मा मानवसहितको पहिलो मंगल उडान गर्दै २०३५, २०४१ र २०४३ मा थप मानिस पठाएर आधार शिविर बनाउने तयारी, निजी क्षेत्रबाट पनि स्पेस एक्सले २०२६ सम्ममा मंगलमा मान्छे पुर्‍याउने दाबी

चैत्र २९, २०८२

सजना बराल

NASA is preparing to establish a permanent settlement on the Moon

What you should know

काठमाडौँ — अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाको आर्टेमिस–२ अभियान सफलतापूर्वक सम्पन्न भएको छ । ९ दिन १ घण्टा ३२ मिनेटको यात्रापछि चार अन्तरिक्ष यात्री शनिबार बिहान पृथ्वीमा फर्किएका हुन् । प्रशान्त महासागरमा अवतरण (स्प्ल्यासडाउन) गर्दै उनीहरूले अन्तरिक्ष अभियानमा नयाँ उत्साह थपेका छन् ।  

यी चार अन्तरिक्ष यात्री पृथ्वीबाट ४ लाख ६ हजार किलोमिटर टाढा पुग्दै चन्द्रमालाई ६ हजार किमीको दूरीबाट अवलोकन गरेका थिए । उनीहरूले मानव इतिहासमा पृथ्वीबाट सबैभन्दा टाढा पुगेको कीर्तिमान पनि रचेका छन् । तर, यो कीर्तिमान यतिमै सीमित राख्ने नासा वा अन्य कुनै अन्तरिक्ष एजेन्सीको उद्देश्य छैन । खासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ अब उद्देश्य मात्र रहेन । 

नासाले चन्द्रमामा मानिसको स्थायी बसोबास खडा गरी चन्द्रमालाई नै आधार शिविर बनाएर मंगल ग्रहमा जाने मूल लक्ष्य लिएको छ । त्यसकै तयारीस्वरूप सन् २०१७ देखि नासाले क्यानडा, जापान, संयुक्त अरब इमिरेट्स, युरोपेली एजेन्सीलगायत विभिन्न देश र संगठनहरूसँग मिलेर ‘आर्टेमिस कार्यक्रम’ अघि बढाइरहेको हो । अन्तरिक्ष यात्री चन्द्रमामा जानुभन्दा केही समयअघि मात्रै नासाले करिब २० अर्ब डलर लगानी गरेर चन्द्रमाको सतहमा दीर्घकालीन मानव उपस्थिति खडा गर्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको थियो । त्यसमा ह्वाइट हाउस अर्थात् अमेरिकाको राष्ट्रपति कार्यालयले समेत ‘अमेरिकाले अब कहिल्यै पनि चन्द्र यात्रामा हार मान्ने छैन’ भन्ने सन्देशसहित विशेष समर्थन जाहेर गरेको थियो ।

२०२७ मा प्रक्षेपण गरिने आर्टेमिस–३ ले स्पेस एक्सको शक्तिशाली स्टारसिप ल्यान्डरसँग अन्तरिक्षमा ‘डकिङ’ परीक्षण गर्नेछ । त्यस अभियानमा अहिलेको जस्तो फ्लाईबाई वा चन्द्रमाको परिक्रमा मात्रै हुनेछैन, सन् १९७२ को अपोलो १७ पछि मानिसले चन्द्रमामा पुनः पाइला टेक्नेछन् । त्यो अवतरण पृथ्वीतर्फ फर्किएको चन्द्रमाको बीच भागमा नभएर दक्षिणी ध्रुव (फार साइड अफ द मुन) मा हुनेछ । आर्टेमिस–२ का कमान्डर रेड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन स्पेसलिस्टद्वय क्रिस्टिना कोच र जेरेमी ह्यान्सेन अहिले त्यही दक्षिणी ध्रुवमा पुगेर आएका हुन् । 

NASA is preparing to establish a permanent settlement on the Moonदक्षिणी ध्रुवमा असाध्यै गहिरा खाडलहरू (क्रेटर) भएकाले त्यहाँ सूर्यको प्रकाश नपुग्ने र त्यसले गर्दा त्यहाँ बरफ रहेको वैज्ञानिकहरूको ठहर छ । त्यही बरफ पगालेर अन्तरिक्ष यात्रीका लागि पिउने पानी र सास फेर्न अक्सिजन निकाल्ने उनीहरूको योजना छ । सबैभन्दा महत्त्वपूर्ण त पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याएर रकेटको इन्धन बनाउने ठानिएको छ । चन्द्रमामा इन्धन बनाउन सकियो भने मंगल ग्रहको यात्राका लागि पृथ्वीबाट इन्धन बोकेर लैजानु पर्दैन । यसले मंगलतर्फको यात्रा सहज बनाउने अनुमान गरिएको छ । 

नासाको वेबसाइटमा राखिएको जानकारीअनुसार २०२८ मा आर्टेमिस–४ अभियानका क्रममा चन्द्रमाको कक्षमा एउटा सानो अन्तरिक्ष स्टेसन ‘लुनार गेटवे’ स्थापना गरिनेछ । ‘आर्टेमिस–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा मानिसलाई उतारेलगत्तै आर्टेमिस–४ का अन्तरिक्ष यात्रीहरूले इतिहासमै पहिलो पटक लुनार स्पेस स्टेसन ‘गेटवे’ सञ्चालनमा ल्याउनेछन्,’ नासाको वेबसाइटमा क्याथरिन ई. विलियम्सले लेखेकी छन्, ‘त्यसले वैज्ञानिक अनुसन्धानका लागि नयाँ अवसरहरू सिर्जना गर्नुका साथै मंगल ग्रहमा मानव यात्राका लागि सहयोग पुर्‍याउनेछ ।’ २०२८ कै लागि तयारी गरिएको आर्टेमिस–५ अभियानमा नासाले चन्द्रमामा स्थायी आधार शिविर निर्माणको काम सुरु गर्ने जनाएको छ ।

मंगल ग्रहमा मानव पठाउने दौडमा नासा एक्लो छैन । यसका लागि चीनले तीन चरणको खाका सार्वजनिक गरेको छ । २०३३ मा मानवसहितको पहिलो मंगल उडान गर्ने चीनको लक्ष्य छ । सन् २०३५, २०४१ र २०४३ मा थप मानिस मंगल ग्रहमा पठाएर त्यहाँ एउटा सानो आधार शिविर बनाउने गरी चीनले तयारी गरिरहेको छ । २०२१ मा चीनले पहिलो प्रयासमै मंगल ग्रहमा आफ्नो यान सफलतापूर्वक अवतरण गराएको थियो । एउटै मिसनमा अर्बिटर (परिक्रमा गर्ने यान), 

ल्यान्डर (जमिनमा अवतरण गर्ने यान) र रोभर (जमिनमा गुड्ने यान) मंगल ग्रहमा पठाएर चीनले कीर्तिमान नै रचेको छ । मंगल ग्रहसम्म गह्रौं सामान र मानिस लैजान चीनले हाल ‘लङ मार्च नाइन’ नामक रकेट बनाइरहेको र त्यो अमेरिकाको स्टारसिपजस्तै शक्तिशाली हुने अड्कल गरिएको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले मंगलको माटो पृथ्वीमा ल्याउन नासासँगै सहकार्य गरिरहेको छ । निजी क्षेत्रबाट स्पेस एक्सले २०२६ सम्ममा मंगलमा मान्छे पुर्‍याउने दाबी गरेको छ भने ब्लु अरिजिनले कार्गो पुर्‍याउने प्रविधिमा काम गरिरहेको छ । भविष्यमा मानवबस्तीलाई पृथ्वीभन्दा बाहिर विस्तार गर्न यी सबै प्रयास भइरहँदा नासाले यस पटकको अभियान अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात भएको दाबी गरेको छ । नासाको एसएलएस रकेट, ओरायन यान र मानव अन्वेषण क्षमता धेरै परिष्कृत भइसकेको र यस पटकको यात्राले असाधारण सीप, साहस र समर्पणलाई प्रमाणित गरेको नासाका प्रमुख प्रकाशक ज्यारेड आइज्याकम्यानले प्रतिक्रिया दिएका छन् ।

‘यो सुरुवात मात्र हो, हामी अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पुनः पठाउने र पृथ्वीमा सुरक्षित फर्काउने अभियानमा लागेका छौं,’ शनिबार बिहान चारैजना अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेपछि ज्यारेडले भनेका थिए, ‘अब नासाको ध्यान आर्टेमिस–३ को तयारीमा केन्द्रित हुनेछ । हाम्रो लक्ष्य चन्द्रमामा पुग्नु मात्र होइन, त्यहाँ स्थायी शिविर निर्माण गर्नु हो । हामी अब पहिलेजस्तै चन्द्र अभियान अलपत्र पार्ने छैनौं । यसमा एक्लै होइन, सबैको सहकार्यमा अघि बढ्नेछौं । हालै मात्र चन्द्रमामा ह्याबिटाट मोड्युल बनाउन हामीले इटालियन अन्तरिक्ष एजेन्सीसँग समझदारी गरेका छौं ।’ 

NASA is preparing to establish a permanent settlement on the Moonआर्टेमिस–२ को क्षण

साढे ५ दशकदेखि स्थगित रहेको मानवसहितको चन्द्रयात्रालाई यस अभियानले लयमा फर्काएको छ । प्राविधिक हिसाबले पनि यो अभियान उल्लेखनीय रह्यो । किनभने अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको दूर भाग (फार साइड) सम्म पुगेर पछिल्ला प्रविधि र उपकरणहरू परीक्षण गर्न भ्याए । सहकार्यको हिसाबले पनि यो यात्रा महत्त्वपूर्ण रह्यो । पहिले नासा वा अमेरिकी सरकारले एक्लै गर्ने गरेको यस्तो अभियानमा यस पटक क्यानडा, युरोपलगायत अन्तरिक्ष एजेन्सीसँगै स्पेसएक्स र ब्लु अरिजिनजस्ता निजी क्षेत्र पनि जोडिए । तर, यो मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भने गैरअमेरिकी, अश्वेत र महिलालाई पहिलो पटक पृथ्वीको कक्षभन्दा बाहिर पुर्‍याउनुलाई मानिएको छ । 

अन्तरिक्ष यात्रीले दुर्लभ सूर्य ग्रहणको दृश्य कैद गरे । उनीहरूले चन्द्रमामा खस्दै गरेका ६ वटा उल्कापिण्डका प्रकाश रेकर्ड गरेका छन् । यस पटकको यात्रामा चन्द्रमाका दुईवटा गहिरा खाडलहरूको नाम प्रस्ताव गरिएको छ– ‘क्यारोल’ र ‘इन्टिग्रिटी’ । 

अन्तरिक्ष अभियानको सबैभन्दा चुनौतीपूर्ण क्षण नै पृथ्वीमा अवतरणलाई मानिन्छ । ओरियन क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा त्यसको तापप्रतिरोधी ढाल (हिट सिल्ड) ले ५ हजार डिग्री फरेनहाइटसम्मको तापक्रम सफलतापूर्वक झेलेको थियो । क्याप्सुल आकाशबाट प्यारासुटका माध्यमबाट बिस्तारै तल झर्दै गर्दा नौसेनाका जहाजहरू र विमानहरूले यसलाई निगरानी गरिरहेका थिए । अन्ततः सो क्याप्सुल सान डियागो नजिकैको प्रशान्त महासागरमा खस्यो । ‘यूएसएस जोन मुर्था’ जहाजमा रहेका उद्धार टोली र नौसेनाका गोताखोरहरूले अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको दृश्य नासाले लाइभ गर्दा कमेन्टमा धेरैले ताली पिटेको इमोजी राखे । यस अभियानका लागि करिब ४ अर्ब अमेरिकी डलर खर्च भएको छ । 

NASA is preparing to establish a permanent settlement on the Moonचन्द्रमाको यो नौदिने यात्रा रोचक र अविस्मरणीय घटनाहरूले पनि भरिएको छ । यात्राका क्रममा ओरायन क्याप्सुलभित्र ‘नुटेला’ को बट्टा तैरिरहेको दृश्यले इन्टरनेटमा औधी चर्चा बटुल्यो । नुटेलाले ‘हामी त अन्तरिक्षमा पुग्यौं’ भन्दै प्रचार गरिरहेको छ । अन्तरिक्ष यात्री क्रिस्टिना कोचले क्याप्सुलको शौचालय जाम हुँदा त्यसलाई मर्मत गरिन् । लाइभ हेरिरहेका दर्शकले उनलाई ‘स्पेस प्लम्बर’ भन्दै हँसीमजाक गरे । अन्तरिक्षमा गुरुत्त्वाकर्षण नभएको संकेत गर्न यात्रीहरूले केही न केही सामग्री लैजाने गरेका छन् । यस पटक ‘राइज’ नामक सानो गुडिया प्रयोग गरिएको थियो । त्यो गुडिया अहिले चर्चित बनेको छ । 

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully