चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण

‘स्लिपर टु स्याट’ मिसनले प्राकृतिक विपत्तिमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Satellite built by Chepang student launched from China

काठमाडौँ — चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण भएको छ । 'स्लिपर्स टु स्याट' मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट बुधबार बिहान पौने १० बजे प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।

चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । यो नेपालभित्रै बनेर बनेको पहिलो स्याटेलाइट हो । यो स्याटेलाइट क्युब स्याटेलाइट हो । चेपाङ समुदायका ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थी स्याटेलाइट निर्माणमा संलग्न थिए ।

‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ लिएर मिसन अघि बढाइएको हो ।

नेपालमा डिजाइन गरिएको यो स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली हो । यस प्रणालीमा विद्युत् शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा समावेश गरिएको हुन्छ ।

यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ । यसले गर्दा क्यूबस्याटभित्र अन्य उद्देश्यका काम गर्न पर्याप्त ठाउँ उपलब्ध हुने स्याटेलाइट मिसनका म्यानेजर इन्जिनियर ऋषभ अधिकारी बताउँछन् ।

‘स्लिपर टु स्याट’ मिसनले प्राकृतिक विपत्तिमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

कान्तिपुर

Link copied successfully