‘स्लिपर टु स्याट’ अर्थात् चप्पल किन्नै धौ–धौ हुने चेपाङ समुदायका युवाको स्याटेलाइट निर्माण–कथा ! यो स्याटेलाइटले यसै वर्ष पृथ्वीको चक्कर लगाउनेछ ।
नेदरल्यान्ड्सका राजकुमार बर्नहार्ड चितवनको टाइगर टप्स होटलमा डब्लूडब्लूएफ– १००१ क्लबको कार्यक्रममा सहभागी हुन आएका थिए– विसं २०३४ मा, जसको संयोजन गरेका थिए– तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले ।
त्यसबेला चेपाङ बस्तीको दयनीय अवस्था देखाइयो राजा वीरन्द्रलाई । एक चेपाङ अगुवाले ‘हजुर राजा, हामी प्रजा’ भनेपछि राजाले त्यसमा सहमति जनाए । त्यसै वर्ष मकवानपुरको ज्यामिरेमा पहिलो पटक बृहत् चेपाङ सम्मेलन भयो । तत्कालीन नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय अध्यक्ष एवं अधिराजकुमारी प्रिन्सेप शाहले ‘आजदेखि तिमीहरू चेपाङ होइनौ, प्रजा भयौ’ भनेर घोषणा गरिन् ।
पञ्चायती सरकारले त्यही वर्ष प्रजा विकास कार्यक्रम ल्यायो । त्यसपछि चेपाङहरूले आफ्ना थर ‘प्रजा’ लेख्न थाले । तर, बहुदलपछि पहिचान मेटिन्छ भन्ने चिन्ताले पुनः ‘चेपाङ’ नै लेखे । राजा वीरेन्द्रले देखेका चेपाङहरू वन, जमिन र जीवजन्तुसँग निकै आत्मनिर्भर थिए– जीवनशैलीमा । जंगलमा सिकार, भिरालो जमिनमा खेती, माछा र चमेरा मार्नु, कन्दमूल खानु, कुपोषण–सिकार, बालविवाहजस्ता समस्याले उनीहरूको जीवन कठिन थियो ।
अझै चेपाङहरूको अवस्थामा खासै परिर्वतन आएको छैन, तर जीवन केही सहज भने भएको छ । पछिल्ला दुई पुस्तादेखि इँटा, काठ र जस्ताको प्रयोगबाट घर बनाउन थालेका छन् । सिकार छाडेर कृषि र अन्य पेसामा लाग्दै छन् । यद्यपि यो समुदायका अझै ९० प्रतिशत गरिबीको रेखामुनि छन्, जसको वार्षिक आय १० हजार रुपैयाँभन्दा कम छ । तर, चेपाङहरू अब शिक्षा र प्रविधिको माध्यमबाट नयाँ इतिहास लेख्न पनि थालेका छन् ।
चेपाङहरू अब अन्तरिक्षमा उडाइने नेपालको तेस्रो क्युब स्याटेलाइट बनाउँदै छन् । यस समुदायका ७ र ८ मा अध्ययनरत विद्यार्थी धमाधाम स्याटेलाइट बनाउन तल्लीन छन् । यो काममा नेपाली स्याट–१ का निर्माणकर्ता तथा अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रमुख डा. आभाष मास्केले उनीहरूलाई संलग्न गराएका छन् ।
‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ लिएर मिसन अघि बढाइएको हो । चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइटले यसै वर्ष पृथ्वीको चक्कर लगाउनेछ । वन–यू मोडलको क्युबस्याट विकास गर्दै विद्यार्थीलाई प्रविधिमा अब्बल बनाउने योजना छ । ३ वर्षसम्म निःशुल्क शिक्षासँगै विद्यार्थीले स्याटेलाइट पनि बनाउनेछन् । त्यसका लागि प्रतिष्ठानका ६ जना इन्जिनियरले उपग्रह मिसनको डिजाइन र विकासमा काम गरिरहेको वैज्ञानिक मास्केले बताए । ती इन्जिनियरले विद्यार्थीलाई उपग्रहबारे तालिम पनि दिइरहेका छन् ।
मास्केको ‘भिजन २०५०’ अन्तर्गत सन् २०५० सम्म अन्तरिक्षमा नेपालबाट पहिलो अन्तरिक्ष यात्री पठाउने लक्ष्य छ । र, स्कुले तहमै अन्तरिक्ष प्रविधिको ज्ञान फैलाइरहेका छन् मास्के । त्यही अभियानअन्तर्गत चितवन, मकवानपुर र लमजुङका चेपाङ बस्तीका १० जना विद्यार्थी स्याटेलाइट निर्माणमा व्यस्त छन् । चेपाङले बोक्ने जाबीमा सिकार गरेको वस्तुको विकल्पमा किताब पर्न थालेको पनि धेरै भयो । अब विश्व परिक्रमा गर्ने स्याटेलाइट हुनेछ । मास्केको अन्तरिक्ष प्रतिष्ठान नेपालले सुरु गरेको यो भू–उपग्रह मिसनले नेपालका सीमान्तकृत, विपन्न र आदिवासी समुदायलाई उत्थान र प्रोत्साहन हेतु शिक्षा प्रदान गर्ने उद्देश्य राख्छ ।
स्पेस ल्याब निर्माणदेखि अन्तरिक्ष उडानसम्म
लमजुङ, मकवानपुर र चितवनका विभिन्न विद्यालयमा सन् २०२३ मा मास्केको टोलीले ४ दिने ‘रेडियो र उपग्रह’ सम्बन्धी तालिम आयोजना गरेको थियो । कार्यशालापछि विद्यार्थीहरूको रुचि र क्षमताका आधारमा १० जना विद्यार्थी छनोट गरिएको प्रतिष्ठानका इन्जिनयर ऋषभ अधिकारीले बताए । विद्यार्थीलाई तालिम दिँदै स्याटेलाइट बनाउन नवोदय स्कुलमा स्पेस सिस्टम ल्याबोरेटरी
(एसएसएल) स्थापना गरिएको छ । यो स्याटेलाइट २०८२ सालभित्रै प्रक्षेपण गर्ने तयारी छ । यो मिसनको अर्को उद्देश्य एमेच्योर रेडियोद्वारा सञ्चालित क्यूबस्याटको स्वदेशमै डिजाइन र विकास गर्नु रहेको स्याट मिसनका व्यवस्थापक अधिकारीले बताए ।
चेपाङ विद्यार्थीहरू संलग्न रहेको यो स्याटेलाइट नेपालको तेस्रो क्यूबस्याट हुनेछ । नेपालमा डिजाइन गरिएको यो स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली हो । यस प्रणालीमा विद्युत्शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा समावेश गरिएको हुन्छ । यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ । यसले गर्दा क्यूबस्याटभित्र अन्य उद्देश्यका काम गर्न पर्याप्त ठाउँ उपलब्ध हुने इन्जिनियर अधिकारी बताउँछन् ।
‘स्लिपर टु स्याट’ मिसनले प्राकृतिक विपत्तिमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा लिइएको छ । यस्तै, यो स्याटेलाइटमा डिजिपिटर मिसन पनि समावेश छ, जसअन्तर्गत उपग्रहले विश्वभरका रेडियो तरंगहरूले प्रसारण गरेका संकेतहरूलाई रि–प्ले गर्छ । विद्यार्थीलाई सहजीकरण गरिरहेकी मेन्टर कृति दाहालले यो स्याटेलाइटले पृथ्वीको जल सतहको डाटावेस निर्माण गर्ने बताइन्, जसअन्तर्गत स्याटेलाइमा इन्फ्रारेड र आरजीबी क्यामेरा राखिएका छन् । तीनको प्रयोगबाट जलसतहहरू अवलोकन गरी ‘नर्मलाइज्ड डिफरेन्सियल वाटर इन्डेक्स’ (एनडीडब्लूआई)’ गणना गरिन्छ । यसबाट जलस्रोतहरूको डेटाबेस बनाउन सहयोग पुग्ने दाहालले बताइन् ।
यो स्याटेलाइट भूकम्पीय अध्ययनमा पनि प्रयोग हुनेछ । पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने सूक्ष्म उतारचढावहरू पत्ता लगाउन ‘बुमलेस म्याग्नेटोमिटर’ राखिएको छ । बुमलेस प्रविधिमा चारवटा म्याग्नेटो मिटर सेन्सरहरू छन्, जसलाई ‘क्वाड–म्याग’ भनिने प्रतिष्ठानले उल्लेख गरेको छ । यसबाट पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने अति कम आवृत्ति (ईएलएफ) र अति सूक्ष्म आवृत्ति (यूएलएफ) तरंगहरू पत्ता लगाउन सकिन्छ । त्यसबाट प्राप्त हुने तथ्यांकहरूलाई भूकम्पको पूर्वसूचनाका रूपमा प्रयोग गरिने निर्माणकर्ताको दाबी छ । यसमा सञ्चार प्रणाली, क्यामेरा मिसन, नियन्त्रण प्रणाली, विद्यतीय ऊर्जा प्रणाली, कम्युनिकेसन सिस्टम, अन बोर्ड कम्प्युटर प्रणालीलगातय प्रणाली छन् ।
यो स्याटेलाइट परियोजना निर्माणमा शिवकुमार चेपाङ, सजिना चेपाङ, सुहन प्रजा, एलिसा चेपाङ, बिनामाया प्रजा, रानासिंह चेपाङ, शीतल प्रजा, अमृत चेपाङलगायत संग्लग्न छन् । भर्खरै एसईई परीक्षा दिएका अमित प्रजासँग सम्पर्क गर्दा उनकी दिदी कल्पनाले फोन उठाइन् । भाइले स्याटेलाइट बनाउँदै छ भन्दा आफूलाई पत्यार नै नलागेको सुनाइन् । आफू र परिवारले ‘कहिल्यै यो काम गर्न भाइ सक्षम हुन्छ’ भन्ने नसोचेको उनले बताइन् । ‘भिजन २०५०’ कार्यक्रमअन्तर्गत नेपालका विभिन्न विद्यालय–कलेजहरूमा तालिम सञ्चालन गरिएको छ । ती तालिम हुन्– अन्तरिक्ष विज्ञान र प्रविधिको शैक्षिक प्रसार ।
चेपाङ समुदाय कसरी स्याटेलाइट निर्माणमा पुगे ? आभाषलाई अभिप्रेरित गरेका हुन्– काठमाडौं विश्वविद्यालयमा एमफिल अध्ययन गरिरहेका चेपाङ समुदायका अनुसन्धानकर्ता विश्वास चेपाङले । विश्वास भन्छन्, ‘आभाष दाइले मुनाल स्याटेलाइट मिसनमा पनि विद्यार्थी संलग्न गराउनुभएको थियो । त्यो देखेर मैले उहाँलाई चेपाङ बालबालिकालाई स्याटेलाइट निर्माणमा संलग्न गराउँदा राम्रो सन्देश जाने सल्लाह दिएँ ।’
‘चेपाङले स्याटेलाइट बनाए’ भन्दा नयाँ सन्देश समाजमा प्रवाह भएको छ । अवसर र प्लाटफर्म पाए प्रतिभा प्रस्फुटन हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ– स्याटेलाइट कथा । ‘आधारभूत शिक्षा पाए चेपाङहरू अब्बल काम गर्न सक्छन्,’ विश्वास भन्छन्, ‘जंगली जनावारको सिकार गरेर, स्याउलाको घरमा बसेर, चिउरी र चमेरो खाएर जीवन धानिरहेका चेपाङले स्याटेलाइट बनाए भन्ने खबर राजा वीरेन्द्रले सुन्न पाएका भए सायद जिब्रो टोक्थे !’
