गुगल ट्रेन्डका अनुसार सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै भीपीएन, डोमेन नेम सिस्टम (डीएनएस) लगायतका शब्दहरूको खोजी बढेको हो ।
काठमाडौँ — सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै गुगलमा भर्चुअल प्राईभेट नेटवर्क (भीपीएन) सर्च गर्नेहरूको संख्यामा बढेको छ ।
गुगल ट्रेन्डका अनुसार सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै भीपीएन, डोमेन नेम सिस्टम (डीएनएस) लगायतका शब्दहरूको खोजी बढेको हो ।
गुगल ट्रेन्ड अनुसार बिहीबार १ बजेर ४५ मिनेटसम्म खोजी भएको थिएन तर सरकारले निर्णय गरे लगत्तै यो क्रमशः बढ्दै गएको छ । गुगल ट्रेन्ड हेर्दा बिहीबार बेलुका १० बजेसम्ममा यसको ग्राफ बढेको देखिन्छ । त्यस्तै शुक्रबार पनि 'भीपीएन' शब्दको खोजी बढ्दै गरेको देखिन्छ। ग्राफ हेर्दा यो अझै बढ्दै छ ।
गुगल ट्रेन्डका अनुसार मध्य नेपालमा भीपीएन शब्द धेरै खोजी भएको छ । गुगलमा भीपीएन फर ल्यापटप, भीपीएन फर आइफोन, भीपीएन फर फेसबुक जस्ता शब्दहरू सबैभन्दा धेरै खोजी भइरहेको छ
प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले भीपीएन प्रयोग गर्दा डिभाइसमा रहेका तथ्य तथ्यांकहरु असुरक्षित हुने बताए । उनले निःशुल्क रूपमा प्रयोग गरिने भीपीएन प्रदायकहरूले जो कसैको तथ्य तथ्यांक र विवरणहरू अनधिकृत रूपले सङ्कलन गर्ने र तेस्रो पक्षलाई बिक्री वितरण गर्ने सम्भावना रहेको बताए । भीपीएनको प्रयोगबाट अपराधहरू भएका कैयन घटनाहरू ब्युरोमा आएको बताउँदै उनले भने, 'भीपीएन सुरक्षित भने छैन ।'
