उड्ने कारको इतिहास : दा भिन्चीको ‘एरियल स्क्रु’ देखि ‘ब्ल्याकफ्लाइ’ सम्म

सन् २०११ मा मार्कस लेङ नामका क्यानेडियन आविष्कारकले ‘ब्ल्याकफ्लाइ’ नामक उड्ने कार बनाए । यसको परीक्षणका क्रममा उनले आफ्नो साथीहरूलाई पनि सो कारमा राखेर सयर गराएका थिए । उनले कार परीक्षणका क्रममा लगभग २० सेकेन्डजति उडाए । लेङको त्यो कार नै मानवयुक्त पहिलो उड्ने कार थियो ।

भाद्र ४, २०८२

दया दुदराज

History of the Flying Car: From Da Vinci's 'Aerial Screw' to the 'Blackfly'

What you should know

काठमाडौँ — काठमाडौंमा जारी ‘नाडा अटो शो’ प्रदर्शनीमा भीडभाड बाक्लो छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यो प्रदर्शनीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुगेका छन् । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसमेत गइरहेको प्रदर्शनीमा सर्वसाधारणको भीड पनि उस्तै छ । भीडभाड बाक्लो बनाउन त्यहाँ एउटा आकर्षक वस्तु छ, त्यो हो– ‘फ्लाइङ कार’ अर्थात उड्ने कार ।

दुई जना बस्न मिल्ने इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ (इभिटोल) मंगलबार सार्वजनिक गरिएको हो । यो ईएच २१६–एस मोडल हो । करिब ६ सय किलो भार बोकेर साधन अधिकतम १३५ किमि प्रतिघन्टाको रफ्तारमा उड्न सक्छ । एक पटक पूरा चार्ज गर्दा यसले ३० किमि दूरी वा २५ मिनेटसम्म उड्न  सक्छ । यसमा अत्याधुनिक सुरक्षा प्रणाली समेटिएका छन् ।

मानव चालकरहित विमानमा आठ वटा मोटर छन्, तीमध्ये ६ वटाले काम नगरे पनि यो उड्न सक्छ । यसको अधिकतम उडान भार (एमटीओडब्लु) ६ सय किलोग्रामसम्म रहेको छ। करिब ३ किमिमाथि उचाइमा उडेर ३० किमि दूरी कभर गर्न सक्ने क्षमता यसमा छ ।

आविष्कारकहरूका अनुसार हलुका र मजबुद कार्बन–फाइबर कम्पोजिट संरचना भएको पारदर्शी क्याबिन र आधुनिक डिजाइनले यात्रुलाई आकाशको प्यानोरामिक दृश्य अनुभव गराउँछ ।

उड्ने कारको यस्तो छ इतिहास

उड्ने र गुड्ने दुवै खाले सवारी साधन भए पक्कै मानवीय जीवन सहज हुन्छ । त्यसकारण यसको परिकल्पना चित्रकार लियोनार्दो दा भिन्चीले गरिसकेका थिए । उनले आफ्नो चित्रमा उड्ने र गुड्ने साधनको कल्पना गरेका थिए । जहाँबाट उड्ने कारको व्युत्पत्ति भयो ।

१५ औं शताब्दीमा, दा भिन्चीले ‘एरियल स्क्रु’को चित्र कोरे । यो उनको चित्र पछि फ्लाइङ कार निर्माणको आधार बन्न पुग्यो । यही चित्रका आधारमा पछि १९ ‌औं शताब्दीतिरका आख्यानहरुमा उड्ने कारको विषयमा लेखिन थाल्यो ।

लेखक जुल्स वर्नेले लेखेको 'क्लिपर अफ द क्लाउड्स एन्ड मास्टर अफ द वर्ल्ड' नामक साइन्स फिक्सन उपन्यासमा उड्ने कारको परिकल्पना गरिएको छ । जसलाई ‘अल्बाट्रोस’ नाम दिइएको छ । जहाँ यात्रीहलाई एक महादेशबाट अर्को महादेशमा हावामा उडाएर लगेको लेखिएको छ ।

चित्रबाट साहित्य हुँदै परिकल्पना गरिएको उड्ने कार बिस्तारै निर्माणको क्रम सुरु भयो । सन् १९१७ मा ग्लेन कार्टिसले आफ्नो ‘एल्युमिनियम अटोप्लेन’ डिजाइन गरे । जसमा ४० फिट (१२.२  मिटर) सम्म फैलिएको तीन पखेटा थियो । यो कार कहिल्यै उड्न सकेन तर यसले उड्ने कार बनाउने चरणलाई अर्को चरणमा धकेल्यो ।

सन् १९१७ मा वाल्डो वाटरम्यानले ‘एरोवेल’ नामको हाइब्रिड स्टुडबेकर विमान बनाए । अटोप्लेन जस्तै यसमा पनि गाडीको पछाडि प्रोपेलर जोडिएको थियो । यसको तीन वटा पाङ्ग्रा थिए । त्यसपछि सन् १९४६ मा रोबर्ट फुल्टन जुनियरले ‘एयरफिबियन’को विकास गरे । यो फेड्रल एभियसन एडमिनिस्ट्रेसन (एफएए) र सिभिल एरोन्टिक्स प्रशासनद्वारा प्रमाणित गरिएको पहिलो उडान कार थियो । यसमा १५० हर्सपावर,  छ सिलिन्डर इन्जिन थियो । यो प्रतिघन्टा १२० माइन उड्न सक्थ्यो र प्रतिघन्टा ५० माइलको गतिमा चलाउन सकिन्थ्यो । यद्यपि आर्थिक अभावका कारण सफलताका बाबजुद फुल्टनले एयरफिबियनलाई त्यति अगाडि बढाउन सकेनन् ।

पछि सन् १९४० को दशकमा कन्सोलिडेटेड मल्टि एयरक्राफ्टले छुट्याउन मिल्ने हवाइजहाज युनिट भएको दुई ढोका भएको ‘कन्भेयरकार’ आविष्कार गर्‍यो । यसले सन् १९४६ मा उडानको सुरुवात गरेको थियो । यसले सुरुमा एक घन्टाको उडान गरेको थियो । तेस्रो उडानका क्रममा दुर्घटना भएपछि यो कार बजारमा भने आउन सकेन ।

सैन्य प्रयोगका लागि डिजाइन गरिएको पहिलो उड्ने कार ‘एभ्रोकार’ थियो । जुन सन् १९५० को दशकमा क्यानडाका डिजाइनर जोन फ्रोस्टले बनाएका थिए । जुनसुकै समयमा जस्तोसुकै ठाउँबाट उड्न र अवतरण गर्न सकिने भएपछि यसलाई अमेरिकी सरकारले लडाकु बमवर्षक विमानका रूपमा प्रयोग गर्ने सोच्यो । सन् १९५७ मा थप विकास गर्नका लागि भन्दै लगानी गर्‍यो । तर एभ्रोकारले त्यो स्विकारेन ।

रोबर्ट फुल्टिनबाट प्रेरित भएर, मौल्टन टेलर उर्फ ‘माल्टे’ले उडानकार निर्माण गरे । जसलाई ‘एरोकार’ नाम दिइयो । एरोकारलाई कुनैपनि अवरोधविना चलाउन र उड्न दिइएको थियो । त्यस्तै, एफएएले पनि यसलाई अनुमोदन गरेको थियो । पछि सन् १९७० मा फोर्ड मोटर कम्पनीले यसलाई मार्केटिङ गर्ने विचार गर्‍यो तर तेल संकटका कारण त्यो योजना विफल भयो ।

सन् २०११ मा, मार्कस लेङ नामका क्यानेडियन आविष्कारकले ‘ब्ल्याकफ्लाइ’ नामक उड्ने कार बनाए । यसको परीक्षणका क्रममा उनले आफ्नो साथीहरूलाई पनि सो कारमा राखेर सयर गराएका थिए । उनले परीक्षणका क्रममा लगभग २० सेकेन्डजति उडान गरे । यो उनको कामले गुगलका पूर्व सीईओ ल्यारी पेजको ध्यान खिच्यो । द न्यु योर्करमा मार्कस लेङको विषयमा लेखिए अनुसार यो नै मानवयुक्त पहिलो उड्ने कार हो ।

द न्यु योर्करका अनुसार लेङ सधैँ पाइलटको इजाजतपत्र आवश्यक नपर्ने विमानको परिकल्पना गर्थे । द न्यु योर्करसँगको संवादमा उनले भनेका छन्– ‘म यस्तो विमान गर्न चाहन्थे जुन चलाउनको लागि पाइलटको इजाजतपत्र आवश्यक नपरोस् र जुनकुनै ठाउँमा उडान र अवतरण गर्न सकियोस् ।‘

उद्योग व्यापार विश्लेषण साइट थोम्सनका अनुसार चित्रबाट सुरु भएको उड्ने कार आजका दिनमा ४०० भन्दा बढी स्टार्टअप र कम्पनीहरूले उन्नत एयर मोबिलिटी उद्योगका लागि कार्यात्मक उडान सवारी साधन निर्माण गर्न काम गरिरहेको छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully