प्रधानमन्त्रीको पोस्टपछि सामाजिक सञ्जालमा लाखौंको ध्यान तान्न सफल अपि हिमाल क्षेत्रले धेरै सम्भावनाको ढोका पनि खोलेको छ ।
What you should know
धनगढी — चुनावी यात्राका दौरान हालका प्रधानमन्त्री वालेन्द्र (बालेन) साह सुदूरपश्चिममा थिए । सुदूरको सुन्दर भूमिबाट त्यहीबेला उनले फेसबुकमा आफ्नो फोटो राख्दै लेखे- सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई !
कपासका टुक्राजस्तो देखिने भित्तोलाई पृष्ठभूमिमा राखेर उनी सडकमा पग्लिनसकेको हिउँमाथि उभिएका थिए । मौलिक ब्रान्ड बनिसकेको कालो पहिरनमा उभिएका बालेनको पोस्टमा तत्काल लाइकको वर्षा भयो । सेयर र कमेन्ट त कति हो कति !
सामान्य पोस्ट लागे पनि धेरैले यसलाई राज्यले सुदूरपश्चिमलाई पछाडि पारिरहेको विगत र बालेनको आगतसँग जोडे । कतिपयले त सुदूर अब राजधानीसँगै जोडिनेछ भन्ने आशातीत प्रतिक्रिया दिन भ्याए ।
यस्तै, धनगढीको चुनावीसभामा बालेन बोले, ‘बडिमालिका स्विट्जरल्यान्डको बाउ हो, रामारोशन स्विट्जरल्यान्डको पराकाष्ठा हो ।'
चुनावअघि सुदूरपश्चिमका बारेमा गरेका उनका यी टिप्पणीले अत्यधिक चर्चा बटुले । ‘झिक्कैझिक्कै माया तम्लाई’ त 'राष्ट्रिय थेगो' नै बन्यो भन्दा हुन्छ ।
सामाजिक सञ्जालामा सटिक टिप्पणी गरेर वाहवाही त कहिले आलोचनासमेत खेपिरहने उनले गत शनिबार बिहान पनि सुदूरपश्चिम सम्झिए ।
दार्चुलाको अपि बेस क्याम्पमा स्थानीयले क्रिकेट खेलिरहेको मनमोहक भिडियो पोष्ट गरेपछि सुदूरपश्चिमको पर्यटन र खेल सम्भावनाबारे नयाँ बहस सुरु भएको छ । लाखौंले हेरेको उक्त भिडियोले अपिको प्राकृतिक सौन्दर्य मात्र होइन, खेल पर्यटनको सम्भावनालाई समेत राष्ट्रिय चर्चाको केन्द्रमा ल्याएको छ । धेरैजसोले त त्यहाँ क्रिकेट रंगशाला बनाउनुपर्ने सुझावसमेत दिएका छन् ।
उक्त भिडियो दार्चुलाकै हिमालय भट्टले खिचेका हुन् । उनका अनुसार त्यो ठाउँ सिमसार क्षेत्र भएकाले दलदले जमिन छ । ‘म हरेक मौसममा अपि बेसक्याम्प पुगेको छु । त्यो भिडियो मैले १० दिनअघि खिचेको हुँ ।' उनले भने ६ महिना पूरै हिमपात हुने यहाँ अघिपछि पनि माइनस डिग्री तापक्रम हुने बताए ।
दार्चुलाका स्थानीयका अनुसार खण्डेश्वरीसम्म सडक पुगेको छ । खण्डेश्वरीबाट बेसक्याम्प पुग्न दुई दिन हिँड्नुपर्छ ।
दार्चुलाका क्रिकेट खेलाडी विकास अवस्थी अपि बेसक्याम्प फराकिलो ठाउँ भएकाले हिउँदे सिजनबाहेक अघिपछि क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने बताउँछन् । उनका अनुसार मंसिरदेखि चैतसम्म बेस क्याम्पमा बाक्लो हिमपात हुन्छ ।
सुदूरपश्चिममा क्रिकेटका अभियन्ता सुभास शाही सुदूरपश्चिममा खेल पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउँछन् । ‘सुदूरपश्चिम आकर्षक पर्यटन गन्तव्यहरुको भण्डार हो,’ उनले भने ‘यस्तो ठाउँमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने हो भने विभिन्न पर्यटकीय गन्तव्यमा खेलाडीलाई घुमाउन सकिन्छ ।’
प्रधानमन्त्रीले शनिबार पोस्ट गरेको भिडियोको अर्थ त्यहाँ क्रिकेट रंगशाला बनाइहाल्ने हो जस्तो नलागेको शाहीको बुझाइ छ । ‘अपि बेस क्याम्पका माध्यमद्वारा सुदूरपश्चिमका पर्यटन गन्तव्यहरूको महत्व झल्काउन खोजेजस्तो चाहिँ लाग्छ,’ उनले भने ।
संसारभर पर्यटन गन्तव्यको प्रवर्धन गर्न खेल प्रतियोगिताको मुख्य भूमिका हुने उनी बताउँछन् । ‘धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरे बीचमा खाली रहेको अवधिमा पर्यटन व्यवसायीहरूले प्याकेज बनाएर खेलाडीलाई बडिमालिका, खप्तड, अपि, साइपाल बेसक्याप्प भ्रमण गराउन सक्छन्,’ वर्षौंअघिदेखि फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अगुवाइ गरिरहेका शाहीले भने, ‘बडिमालिका, खप्तड, साइपाल बेस क्याम्प, अपि बेस क्याम्प लगायतका स्थानमा हाई अल्टिच्युड खेल सञ्चालन गर्न सकिने निकै सम्भावना छ ।’
प्रधानमन्त्री शाहले भिडियो क्लिप पोस्ट गरेर पर्यटन प्रवर्धनमा टेवा पुर्याएको भन्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले खुसी व्यक्त गरे । ‘प्रधानमन्त्रीज्यूले भिडियो पोस्ट गरेपछि हाम्रो अपिको चर्चा अझै चुलिएको छ । उहाँलाई हामी धेरैधेरै धन्यवाद दिन चाहन्छौं । अपि हिमालको बेस क्याम्पमा भ्रमणको निमन्त्रणासमेत दिन चाहन्छौं ।’
सुदूरपश्चिममा क्रिकेटको लहर आएको लामो समय भएको छैन । करिब एक दशकअघि धनगढी नेपालकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्ने सहर हो । त्यही बेलादेखि क्रिकेटको सहरको उपमा दिन थालिएको हो धनगढीलाई ।
राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमले नै सबैभन्दा धेरै खेलाडी उत्पादन गरेको छ । कमजोर पूर्वाधार भएर पनि सुदूरपश्चिम क्रिकेटमा लहर चलेको त्यस्तो प्रदेश हो, जहाँका चार खेलाडी दिपेन्द्रसिंह एैरी, शेर मल्ल, लोकेश बम र सन्दीप जोराले त विश्वकप नै खेले । यतिबेला नेपाली क्रिकेटमा टिकिरहेका प्रेम चौधरी, धीरेन्द्र चन्द, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, ललितसिंह भण्डारी, कमल गिरी, भीम सार्की, आकाश चन्द, हेमन्त धामी, चन्द्र साउँद र विक्रम सोब पनि सुदूरपश्चिमकै माटोमा जन्मिएका हुन् ।
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तयारी भइरहेको छ । त्यसका लागि जग्गा प्राप्ति, डीपीआर निर्माण तथा स्वीकृतिलगायत प्रारम्भिक काम सम्पन्न भइसकेको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्षसमेत रहेका शुभाष शाहीले बताए । ‘सुदूरपश्चिम आर्थिक समृद्धिको आधार भनेकै पर्यटन हो,’ उनले भने, ‘खेलकुद प्रतियोगिताहरुले पर्यटनलाई जोड्छन् ।’
प्रधानमन्त्रीले सुदूरपश्चिमलाई 'झिक्कै झिक्कै माया' भने पनि बजेटमा भने प्राथमिकता नदिएको धेरैको गुनासो छ । संघ सरकारले ल्याएको बजेटमा रामारोशन (अछाम), खप्तड, बडिमालिका (बाजुरा), शैलेश्वरी (डोटी), उग्रतारा (डडेल्धुरा) र मालिकार्जुन (दार्चुला) क्षेत्र समेटेर पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । ‘सुदूरपश्चिमको पर्यटन विकासका लागि ठोस तथा ठूला आयोजना बजेटमा आउलान् भन्ने लागेको थियो । तर सोचेजस्तो केही आएन,’ नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले भने ।
प्रधानमन्त्री निकटस्थहरुका अनुसार क्रिकेट रंगशालाकै लागि भन्दा पनि प्रधानमन्त्रीले धेरै समयदेखि जान खोजेको तर जान नपाएको ठाउँको भिडियो देखेपछि यस्तो पोस्ट गरेका हुन् ।
‘झिक्कै-झिक्कै माया तम्लाई’ भन्दै सुदूरपश्चिमको सौन्दर्यको प्रशंसा गरेका प्रधानमन्त्रीले अहिले अपि बेसक्याम्पको भिडियोमार्फत फेरि सुदूरलाई सम्झिएका छन् । सामाजिक सञ्जालमा लाखौंको ध्यान तान्न सफल अपि अब सुन्दर हिमाल मात्र रहेन, यो क्षेत्रले धेरै सम्भावनाको ढोकाको पनि खोलेको छ ।
