प्रधानमन्त्री वालेन्द्र शाहले अपि हिमाल बेस क्याम्पको भिडियो सेयर गरेपछि धेरैले उनलाई यहाँ अन्तर्राष्ट्रिय क्रकेट रंगशाला बन्नुपर्छ भनेर सुझाव दिएका छन् ।
What you should know
काठमाडौँ — पृष्ठभूमिमा सेताम्मे हिमाल । फेदीमा गलैंचा बिछ्याइजस्तो हरियो मैदान । त्यहीँ क्रिकेटमा रमाइरहेका केही युवा ।
यही सानो भिडियो अंश प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार दिउँसो फेसबुकमा सेयर गर्दै लेखे- अपि हिमाल बेस क्याम्प, दार्चुला ।
उनले छुस्स केही लेख्नासाथ भ्युज, लाइक अनि सेयरको ओइरो लाग्छ । यसमा पनि त्यस्तै देखियो । सकारात्मक कुरा त धेरैले उनलाई यहाँ अन्तर्राष्ट्रिय क्रकेट रंगशाला बन्नुपर्छ भनेर सुझाव दिएका छन् ।
यति अग्लो ठाउँमा रंगशाला बन्न सम्भव छ त ?
अपि हिमालको उचाइ ७ हजार १३२ मिटर हो । प्रधानमन्त्री शाहले भिडियोमा देखाएको बेसक्याम्पको उचाइचाहिँ करिब ४ हजार २५० मिटर छ ।
विश्वमा योभन्दा उचाइमा पनि रंगशाला बनेको छ । त्यो हो ड्यानियल अलसिस्ड्स क्यारिओन । ४ हजार ३३८ मिटर उचाइमा रहेको यो फुटबल रंगशाला पेरुमा छ ।
वालेन्द्र सरकारको शासकीय सुधारका १०० सय कार्यसूचीमा सुदूरपश्चिमका हिमाल पनि समेटिएका छन् । ती स्थानमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने कुरा उल्लेख छ ।
अछामको रामारोशन, बाजुराको बडिमालिका र दार्चुलाको अपि हिमाल ट्रेकिङ रुट सरकारको उच्च प्राथमिकतामा छ ।
अपि र साइपाल आधार शिविरसम्म पुग्ने मार्गमा रहेका झरना, तालतलयैया तथा नदीनाला, रंगिबिरंगी फूलले ढाकेका पाटन र भौगोलिक तथा जैविक विविधताको संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्री र पर्यावरणमा चासो राख्नेका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ । यहीँ सम्भावनालाई साकार रूप दिनका लागि दार्चुलाको अपिहिमाल र बझाङको साइपाल तथा सूर्मा गाउँपालिकासँगको समन्वयमा नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजनाले अपि साइपाल पदयात्रा मार्गको विकासको लागि काम गरिरहेको छ ।
अपि–साइपाल ट्रेक गर्न चाहानेले बझाङ हुँदै दार्चुला वा दाचुर्लाबाट बझाङ आउन सक्छन् । धनगढीबाट सडकमार्गबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको मकरीगाडसम्म पुग्न सकिन्छ । त्यहाँबाट खाइकोट, भल्याखोला, धौलीओडार हुँदै चार दिनको पैदल यात्रामा अपि हिमालको बेसक्याम्प सम्म पुग्न सकिन्छ ।
