अपी बेसक्याम्प (दार्चुला) — सुदूरपश्चिम प्रदेशकै अग्लो (७ हजार १३२ मिटर उचाइ) अपी हिमाल भ्रमणका लागि अपी हिमाल गाउँपालिकाले ‘अपी हिमाल भ्रमण वर्ष २०८०’ घोषणा गरेको छ । गाउँपालिकाले विश्व पर्यटन दिवसको अवसरमा अपी हिमालको बेसमा एक कार्यक्रम गरी अपी हिमाल भ्रमण वर्षको लोगो सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, वन पर्यटनमन्त्री रमेशसिंह धामीले बुधबार अपी हिमाल बेसक्याम्पमा लोगो सार्वजनिक गरे । अपी हिमाल भ्रमणका लागि आधारभूत संरचना निर्माण गरिएको र यसको प्रचारका लागि यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । उनले यो वर्ष आन्तरिक र बाहृय गरी पाँच हजार पर्यटक अपी हिमाल भित्र्याउने लक्ष्य रहेको बताए । यहाँको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक रहनसहन र भेषभूषा अवलोकनका लागि अपी हिमाल गाउँपालिकामा भ्रमण गर्न सबैलाई अनुरोध गरेको छ ।
पहिलो चरणमा प्रचारप्रसार गर्दै भविष्यमा उत्कृष्ट गन्तव्य बनाउने ध्येय गाउँपालिकाले लिएको छ । होमस्टे तालिम तथा पर्यटक पदप्रदर्शकका लागि ३० जनालाई टुरिस्ट गाइड तालिम दिइएको अध्यक्ष बोहराले बताए । उनले अपी हिमाल भ्रमणको बाटोमा पर्ने बस्तीहरुमा पर्यटकहरुको सजिलोका लागि होमस्टे संचालनमा रहेको बताए । छिरेछिरे, सिमार र धौलीओडारमा पर्यटक आवास गृह निर्माण भएको गाउँपालिकाले जनाएको छ ।


