नयाँ सरकारले १०० कार्यसूचीमा राखेको अपि साइपालका सम्भावना र चुनौती के छन् ?
What you should know
बझाङ — नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले सार्वजनिक गरेको शासकीय सुधारका १०० सय कार्यसूचीमा सुदूरपश्चिमका हिमालमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने कुरा उल्लेख छ ।
अछामको रामारोशन, बाजुराको बडिमालिका र दार्चुलाको अपि हिमाल ट्रेकिङ रुट सरकारको उच्च प्राथमिकता प्राप्त सूचीमा समेटिएकामा सुदूरपश्चिमको पर्यटन विकासमा चासो राख्नेहरू उत्साहित पनि भएका छन् ।
हिमाल आरोहण र पर्वतीय पदयात्राका लागि विश्वस्तरीय गन्तव्य बन्न सक्ने अपि र साइपालजस्ता हिमालको पर्यटन विकासको सवालमा सरकारले प्राथमिकताका साथ काम गरेमा यस क्षेत्रको जनजीवन नै बदलिने पर्यटन अभियन्ता भरतविक्रम शाह बताउँछन् । ‘सुदूरका गन्तव्य सरकारको कार्यसूचीमा समेटिएको खबरले खुसी लागेको छ,’ उनी भन्छन्, ‘अपि, साइपालजस्ता हिमालमा पर्यटन पूर्वाधारको विकास हुन सके सुदूरपश्चिममात्रै नभएर देशकै पर्यटनले नयाँ उचाइ लिनेछ ।’ पटक–पटक यस क्षेत्रको यात्रा गरेका उनले यहाँको हिमाली भूगोल, पर्यावरण, कलासंस्कृति र जनजीवन पर्यटक आकर्षण गर्नका लागि पर्याप्त भए पनि पर्यटन पूर्वाधारको अभावका कारण ओझेल परेको बताए ।
उसो त यहाँ पुगेका विश्वविख्यात् पर्वतारोहीले पनि सुदूरका हिमाल आरोहण र पदयात्रा दुवैको दृष्टिकोणबाट निकै आकर्षक रहेको बताउने गरेका छन् । सन् २०१८ मा बझाङको साइपाल हिमाल आरोहणका लागि आएका स्पेनका आरोही डा. जर्ज इगोचेएगाले साइपाल हिमाल र यस क्षेत्रको जनजीवन अद्वितीय भएको बताएका थिए । उनले भनेका थिए, ‘यो क्षेत्र लुकेको हीरा हो । एक दिन विश्वजगत् यो हीरा हेर्न लालायित हुनेछ ।’ उनी संसारका आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर रेकर्ड कायम गरिसकेका गिनिज बुक रेकर्डधारीमध्ये एक हुन् ।
उनीसँगै यहाँ पुगेका स्पेन, अमेरिका, इटाली, क्यानाडालगायत देशका आरोहीहरूले यहाँको सुन्दरताले आफूहरूलाई लठ्याएको बताएका थिए । ‘यहाँको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन,’ स्पेनका चिकित्सक समेत रहेका हिमाल आरोही जेफ हवेनले भने, ‘यति चै ढुक्कले भन्न सकिन्छ कि यति सुन्दर हिमाल विश्वमा कमै होलान् ।’ यहाँका हिमालहरूको आकर्षक वनावट, भौगोलिक सुन्दरता र स्थानीय जनजीवन जोकोहीलाई पनि मन्त्रमुग्ध पार्ने खालको भएको त्यहाँ पुगेकाहरू बताउँछन् ।
अपि र साइपाल आधार शिविरसम्म पुग्ने मार्गमा रहेका झरना, तालतलयैया तथा नदीनाला, रंगिविरंगी फूलले ढाकेका पाटन र भौगोलिक तथा जैविक विविधताको संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्री र पर्यावरणमा चासो राख्नेका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ । यहीँ सम्भावनालाई साकार रूप दिनका लागि दार्चुलाको अपिहिमाल र बझाङको साइपाल तथा सूर्मा गाउँपालिकासँगको समन्वयमा नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजनाले अपि साइपाल पदयात्रा मार्गको विकासको लागि काम गरिरहेको छ ।
करिब १४ दिन लामो यो यात्राका दौरान दर्जनौं हिमाल हेर्न पाइन्छ । उचाइँ पनि धेरै नभएको र बाटो पनि निकै सजिलो भएका कारण यो क्षेत्र हिमाल आरोहीका लागि मात्र नभएर भ्रमणको आनन्द लिन चाहाने जोकोहीका लागि पनि आकर्षक गन्तव्य हुनसक्ने यहाँ पुग्नेहरू बताउँछन् । डाँफे, मुनाल जस्ता चराचुरुङी तथा नाउर र झारलका बथानको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिँड्नेले सजिलै पाउने गरेको यस क्षेत्रका बासिन्दा बताउँछन् । हिमाली क्षेत्रमा पाइने विभिन्न खालका जडीबुटी र बनस्पतिहरूले पनि यो यात्रालाई थप रोमाञ्चक बनाउने गरेका छन् । यो क्षेत्रमा हिमाली जनजीवन, देउडा, दार्चुलाको मलेसी र बझाङको धुलेली संस्कृति पनि हेर्न पाइन्छ । सुदूरपश्चिमको सुन्दर गन्तव्य मध्येको एक सुर्मासरोवर मार्गमा पर्ने तातोपानीका मुहान, विशाल हिमाली पाटन र पर्यावरणको अनुभव पनि लिन पाइन्छ । खेतीपाती गर्ने परम्परागत तरिका, रहनसहन र न्यानो आतिथ्यताका कारण पनि यहाँ पुग्ने पर्यटकहरू मिठो अनुभव लिएर फर्किने गरेका छन् ।
ओझेलमा परेको उज्यालो सम्भावना
सुदूरपश्चिम प्रदेशका नौमध्ये बझाङ, दार्चुला र बाजुरा हिमाली जिल्ला हुन् । सुदूरपश्चिमको कुल भूभागको करिब ४१ प्रतिशत हिमालमा पर्दछ । यो प्रदेशको कुल क्षेत्रफल १९ हजार ५४९ वर्गकिलोमिटरमध्ये ७ हजार ९३३ वर्गकिलोमिटर समुन्द्र सतहदेखि पाँच हजार मिटर भन्दा उचाइँमा रहेको छ ।
नेपालका ७७ जिल्लामध्ये सर्वाधिक हिमक्षेत्र भएको जिल्ला बझाङ पनि यही प्रदेशमा छ । बझाङको ३० प्रतिशत भूभाग (करिब १ हजार २७ वर्ग किमी) हिमाली भेगमा पर्दछ । अपि हिमाल ७१३२ मिटर र साइपाल ७०३१ मिटर यो प्रदेशका अग्ला हिमाल हुन् । व्याँस, नाम्पा, कापुचुली, बब्बे, फिरानकोभ, दोङलिप, योकापहाड रानी हिमाल, जेठीबहुरानी, सुनखानी, शंखमाला, चाँदेशिखर, गाइसेरा, गुदुपाल, व्याँसीमारेलगायतका ६ हजार मिटर भन्दा माथि र सात हजार मिटर भन्दा कम उचाइँ भएका हिमालको संख्या दर्जनौं छ । पाँच हजार मिटर भन्दा माथि उचाइँ भएका हिमचुचुराहरू त सयौं छन् ।
नेपालमा विदेशी पर्यटक तान्ने सबैभन्दा ठूलो आकर्षण हो, हिमाल । नेपाल आउने अधिकांश विदेशी पर्यटक हिमाल हेर्न र आरोहण गर्नकै लागि आउने गर्दछन् । पर्यटन विभागले संकलन गरेको राजस्व दाखिला विवरणका आधारमा पर्यटनका विभिन्न पाँच क्षेत्र मध्ये क्यासिनो पछि सबैभन्दा धेरै राजस्व संकलन पर्वतारोहणबाट भएको देखिन्छ । हिमाली क्षेत्रको पदयात्रा र आरोहणका दौरान पर्यटकले बढी रकम खर्च गर्ने भएकोले पर्यटन व्यवसायी, होटल व्यवसायी र स्थानीयले पाउने लाभको हिस्सा अझै ठूलो छ ।
यद्यपि हिमाल आरोहण र पदयात्राको ठूलो सम्भावना बोक्ने सुदूरपश्चिममा रहेका सबै हिमालको पहिचान र प्रचारप्रसार हुन सकेको छैन । यसर्थ भूगोलको झण्डै आधा हिस्सा हिमाली भए पनि यो प्रदेश हिमालबाट लिनुपर्ने लाभ पाउनबाट लगभग बञ्चित छ । विश्वभरका हिमालको बारेमा जानकारी दिने वेबपोर्टल पिकभाइजरका अनुसार सुदूरपश्चिमका ७१ वटा हिमालको मात्र नामाकरण गरिएको छ । तर यस क्षेत्रमा ५ हजार ५ सय मिटर माथिका दुई सय बढी हिमाल रहेको अनुमान छ । यस प्रदेशमा रहेका हिमालको गणना, नापजाँच र नामाकरण पनि हुन नसक्दा पर्यटनको प्रमुख आकर्षणको रूपमा रहेका हिमालहरू अझ पनि प्रकृतिकै गर्भमा लुकिरहेका छन् ।
सुदूरपश्चिमका हिमालसँग जोडिने अर्को आकर्षण भनेको यहाँको हिमाली पर्यावरण र जनजीवन पनि हो । यहाँका कैलाली र कञ्चनपुरबाहेक अरु सबै जिल्लाबाट हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । सुदूरका हिमाली क्षेत्रमा रहेको अद्धितीय जैविकविविधता, अनुपम भू–धरातल र परम्परागत जीवनशैली पर्यटकका लागि नौलो र अविस्मरणीय अनुभव दिने खालका छन् । हिमाल हेर्न वा आरोहण गर्न सुदूरपश्चिम पुग्नेहरूको यात्रालाई पृथक बोलीचाली, खानपान, भेषभुषा, र कलासंस्कृतिको सुन्दर संयोजनले थप रोमाञ्चक बनाउने गरेको छ ।
पूर्वाधार आवश्यक
गत साउन १२ को नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीका हिमाल गर्दा दुई वर्षसम्म सलामी दस्तुर नलाग्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले राजधानीबाट टाढा रहेकाले महागो खर्चका कारण यहाँ आउन हिच्किचाउने पर्यटकलाई राहत हुने र पर्यटकको चहलपहल बढ्ने दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भरतसिंह ठेकेरे बोहरा बताउँछन् । ‘सरकारलाई तिर्नुपर्ने सलामी दस्तुरको खर्चले पर्यटकको आधा भन्दा बढी रकम सस्तो हुन्छ,’ उनले भने, ‘त्यसो हुँदा धेरै खर्च गर्न नसक्ने पर्यटक पनि यता आउँछन् भन्ने आशा गरेका छौं ।’
उनले दार्चुलाबाट अपि र बझाङबाट साइपाल हिमालको आधार शिविरसम्म पुग्ने बाटोघाटो राम्रो रहेको भए पनि अपि–साइपाल क्षेत्रलाई जोड्नका लागि अझै थुप्रै पुर्वाधारको विकास गर्नुपर्ने बताए । आरोहण वा पदयात्रा चुलीको रूपमा सुदूरका हिमाललाई प्रबर्द्धन गर्ने हो भने हिमालका आधार शिविरसम्म पुग्ने सुरक्षित पदमार्ग, क्याम्प साइट, बाटोमा खानबस्न मिल्ने टी हाउसको निर्माण, बाटोका बारेमा जानकारी दिने संकेत चिन्ह र शौचालय जस्ता पूर्वाधारहरू निर्माण गर्नुपर्ने उनले बताए ।
यहाँका हिमालहरूको नामाकरण, उचाइँसहितको पिक प्रोफाइल तयार गरेर आरोहणको सम्भावना भएका हिमालहरूमा आरोहणरुटको विकास गर्न सक्ने पर्वतीय पदयात्रा मात्रै नभएर हिमाल आरोहणमा चासो राख्ने पर्यटक बढाउन सकिने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङ बताउँछिन् । ‘यहाँ कति हिमाल छन्। तिनको उचाइँ नापजाँच गरेर आरोहणको मार्ग बनाउन सकियो र त्यसको प्रचारप्रसार गर्न सकियो भने आरोहीहरूलाई आकर्षण गर्न सकिन्छ,’ उनले भनिन् । यसको अलावा स्थानीय स्तरमा तालिम प्राप्त भरिया, ट्रेकिङ तथा माउन्टेन गाइड तयार गर्नका लागि तालिम, बाटोमा पर्ने होमस्टेको व्यवस्थापन जस्ता काम पनि गर्नु आवश्यक रहेको उनको भनाई छ ।
सुदूरपश्चिमका हिमाली क्षेत्र यार्सागुम्बालगायतका सयौं प्रजातिका बहुमुल्य जडीबुटी, डाँफे, कस्तुरी, हिमचितुवा जस्ता वन्यजन्तु र भोजपत्र, धुपी जस्ता हिमाली वनस्पति पाइन्छन् । यहाँको जैविक विविधता हेर्नका लागि मात्रै नभएर स्थानीयको जिविकाको आधार पनि हो । विश्वमै दुर्लभ बन्दै गएको हिमाली पारिस्थितिक प्रणाली संरक्षणका दृष्टिले पनि उतिकै संवेदनशील छ । संरक्षणको पाटोलाई पूर्ण बेवास्ता गरिएका कारण केही वर्षयता भइरहेको अस्वभाविक दोहनले अस्तित्व नै संकटमा पर्नै चिन्ता बढाउँदै गएको छ ।
एकातिर बढ्दै गएको विश्व तापमान र अस्वाभाविक मौसमी परिवर्तनले हिमालहरू कालापहाडमा रूपान्तरण हुँदै गएका छन् भने अर्कोतिर जडीबुटी संकलनका लागि वर्सेनि ठूलो संख्यामा हिमाली क्षेत्रमा पुग्ने मानिसले जथाभावी चोरीसिकार गर्ने, डढेलो लगाउने, फोहोर फाल्ने, वन फँडानी गर्नेलगायतका गतिविधिले हिमाली क्षेत्रको जैविक विविधता सखाप हुने क्रममा छ । हिमनदी, हिमताल र पानीका स्रोतहरू सुक्न थालेका छन् । जंगल, जडीबुटी र वन्यजन्तुहरू लोपोन्मुख छन् । हराभरा हिमाली क्षेत्र वनस्पतिविहीन–जीवविहीन फोहोरको डंगुरमा रूपान्तरण हुने बाटोमा छ ।
हिमाल र यहाँको जैविक विविधता जोगाउने हो भने मानवीय गतिविधिलाई नियन्त्रण र नियमन गरी सखाप भएको वन क्षेत्रको पुनर्भरण गर्नु अहिलेको मुख्य चुनौतीको रूपमा देखिएको छ । यसका लागि संवेदनशीलतालाई हेरेर निश्चित क्षेत्रलाई संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्जका रूपमा तोकिनु पर्ने आवाज पनि उठिरहेका छन् ।
कसरी पुग्ने ?
अपि–साइपाल ट्रेक गर्न चाहानेले बझाङ हुँदै दार्चुला वा दाचुर्लाबाट बझाङ आउन सक्छन् । धनगढीबाट सडकमार्गबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको मकरीगाडसम्म पुग्न सकिन्छ । त्यहाँबाट खाइकोट, भल्याखोला, धौलीओडार हुँदै चार दिनको पैदल यात्रामा अपि हिमालको बेसक्याम्प सम्म पुग्न सकिन्छ ।
दार्चुलाको थुम्ती, छिती हुँदै बझाङको सुर्मा सरोवरमा रहेको विरे ओडार गाइसेरा हुँदै साइपाल गाउँपालिको नयाँ पुगिन्छ । यो यात्रामा बझाङको उत्तरी भेगमा रहेको अन्तिम मानव बस्ती धुली गाउँ हुँदै काँडा र साइपाल बेस क्याम्पसम्म पुग्न दार्चुलाबाट पााच दिन हिँड्नु पर्छ ।
साइपाल बेसक्याम्प पुगेपछि बझाङको सदरमुकाम चैनपुर झर्न दुई दिन लाग्छ । त्यहाँबाट एक दिनमा सडक यातायातबाट धनगढी पुग्न सकिन्छ । साइपाल र अपि हिमालको छुट्टाछुटै यात्रा गर्न पनि सकिन्छ । यसरी यात्रा गर्दा काठमाडौंबाट आउजाउ गर्न अपि हिमालसम्म १० दिन र साइपालसम्म आठ दिन लाग्छ । चैतदेखि मसिंरसम्म जडीबुटी संकलकहरू यस क्षेत्रमा बस्ने भएकाले खाना र बासको लागि अस्थायी होटल पाइन्छन् ।
