बालेन्द्र शाहले ‘स्विजरल्यान्डको बाउ’ को संज्ञा दिएपछि बडिमालिका मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा झन् चर्चामा आएको छ । आखिर के छ त बडिमालिकाको आकर्षण ? अनि कसरी पुग्ने ?
What you should know
धनगढी — नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत असारमा पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि बडिमालिकाको निकै चर्चा भएको थियो । यसपटक चुनावी प्रचारप्रसारका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले धनगढीमा आयोजित सभामा ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका र त्यसको पराकाष्ठा रामारोशन यहीँ छ भने किन बनाउनु पर्यो स्विजरल्यान्ड ?’ भनेपछि बडिमालिकाको चर्चा पुनः चुलियो ।
देवीका शक्तिपीठहरूमध्ये बडिमालिकामा निर्माण गरिएको मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर हो । ४ हजार २ सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको नेपाली सेनाको प्रारम्भिक अध्ययन छ । दोस्रो, अधिकांश समय हिउँ पर्ने बडिमालिकामा कलात्मक मन्दिर निर्माण सम्पन्न गर्नु चानचुने कुरा थिएन । सेनाको कठोर मिहिनेत र जोखिमले मात्र त्यो सम्भव भएको थियो ।
प्रधानमन्त्री नहुँदै बडिमालिकाबारे शाहले गरेको टिप्पणी निकै भाइरल भयो । त्यसको करिब दुई महिनापछि शाह प्रधानमन्त्री बनिसकेका छन् । उनी प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची जारी भए । उक्त कार्यसूचीको ७२ नम्बर बुँदामा बाजुराको बडिमालिकामा ट्रेक्रिङ रुटसहित व्यवस्थित पर्यटनका अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने भनिएको छ । उक्त निर्णयले बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्त्व तथा पर्यटन विकासको सम्भावनालाई झल्काएको पर्यटन व्यवसायी बताउँछन् । कार्यसूचीमा तोकिएबमोजिम बडिमालिकामा ट्रेक्रिङ रुटसहित व्यवस्थित पर्यटनका अध्ययनको विस्तृत प्रक्रिया र प्रगति भने सार्वजनिक भइसकेको छैन ।
यता सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिमालिका क्षेत्रको पर्यटन विकासका लागि ‘कार्ययोजना तयारी कार्यदल’ गठन गरेर काम गरिरहेको जनाएको छ । प्रदेश सरकारले गत मंसिर २ मा बाजुराबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद पदमबहादुर शाहीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बाजुराका प्रदेश सांसद नरेशकुमार शाही र जुना दानीसहित मन्त्रालयका सचिव, वन निर्देशक, पर्यटन इकाई प्रमुख, बाजुराका त्रिवेणी, बडिमालिका र बुढीनन्दा नगरपालिकाका नगरप्रमुख र पर्यटन व्यवसायी उक्त कार्यदलमा सदस्य रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत दानबहादुर थापाले बताए । थापाका अनुसार पाँच महिना अवधि तोकेर कार्यदल गठन गरिएको हो ।
हालसम्म उक्त कार्यदलले बाजुरामा सरोकारवालासँग बैठक, मन्त्रालयमा विभिन्न चरणमा बैठक सम्पन्न गरेको थापाको भनाइ छ । ‘बडिमालिकामा विगतमा भएका कार्यक्रमको समीक्षा गर्ने, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन गर्न आगामी दिनमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने कार्यदलको मुख्य उद्देश्य हो,’ थापाले भने ‘कार्यदलका सदस्यहरू यसअघि हिमपात हुने भएकाले बडिमालिका पुग्न नसकेर फर्किएका हुन्, अब फेरि जाने तयारी छ ।’ उनले संघ सरकारले हालै जारी गरेको कार्यसूचीमा उल्लेख भएअनुसार कार्यान्वयनका क्रममा प्रदेश र संघ सरकारका निकायबीच समन्वय हुने बताए । ‘अहिलेसम्म उक्त कार्यसूचीअन्तर्गत बडिमालिकाको सन्दर्भ कार्यान्वयन गर्ने जिम्मेवार निकायबारे जानकारी भएको छैन, जिम्मेवार निकायबारे जानकारी भएपछि प्रदेश र संघको कार्यदलबीच समन्वयमा काम गर्छौं,’ थापाले भने ।
प्रदेशको कार्यदलले तयार गरिरहेको बडिमालिका विकास योजनाअन्तर्गत त्यस क्षेत्रको पर्यटन विकासका लागि सहज पहुँच, पदमार्ग विकास, आवास तथा खानालगायत आधारभूत सुविधा उपलब्ध हुने प्रकृतिमैत्री र स्थानीय साधनस्रोतमा आधारित पूर्वाधार विकास गर्नुपर्ने आवश्यकतामा आधारित कार्ययोजना निर्माण भइरहेको जनाएको छ । बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य जनकराज गिरीले हालै मात्र अर्थमन्त्रीसँग बडिमालिकाको पर्यटन विकासका बारेमा जानकारी गराएर प्राथमिकताका साथ आवश्यक योजना अघि बढाउन अनुरोध गरेको बताए ।
बडिमालिका मन्दिरको इतिहास
बडिमालिकाका पुजारी नेत्रराज पाध्यायका अनुसार बडिमालिका मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भएअनुसार सत्यदेवीले आफ्ना पीता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसरी ठाउँठाउँमा सत्यदेवीका अंगहरू पतन हुँदै झर्दै खस्न थाले । सत्यदेवीका अंगहरु जहाँजहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत (बडिमालिका) मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।
बडिमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडिमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापानी भन्ने ठाउँबाट ढुंगा बोकाएर बडिमालिकामा मन्दिर निर्माण गराएका थिए ।
शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६-०३७ तिर तत्कालील जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । नेपाली सेनाले गत वर्ष प्राचीन स्मारक ऐन २०१३ अनुसार पुरातत्व विभागको डिजाइनमा बडिमालिका नेपाली शैलीको मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माण गर्न सेनाले भुटानको राजदरबार निर्माणमा संलग्न रहेको अनुभव भएका कालीगढ झिकाएको थियो ।
जैविक विविधताको खजानाका रूपमा रहेको बडिमालिका मानवजातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ । बाजुराको त्रिवेणी नगरपालिका-६ मा अवस्थित छ बडिमालिका ।
बडिमालिकामा पूजा परम्परा
हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउँ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन् ।
बडिमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ । जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोलीसहित सरकारी टोली नागपञ्चमीका दिन बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि कायमै छ ।
डोटीबाट अमरसिंह थापाकै पालादेखि बडिमालिकामा ‘पेटारो’ पठाउने चलन थियो । सरकारी प"जा सामग्रीलाई डोली भन्ने चलन छ । सिलगढीबाट १५ दिनमा बडिमालिका पुग्ने प्रचलन रहिएकोले श्रावण प्रतिपदाका दिन सदरमुकाम सिलगढीबाट पूजा टोली बडिमालिका प्रस्थान गर्ने गरेको छ ।
डोटीको डोलीमा दिपायलको भुरुडी, (धानको पात) र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ । जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामीसहित बिदाइ गर्ने चलन छ । त्यसपछि सिलगढीस्थित शैलेश्वरी र मालिका मन्दिरमा पूजापछि उक्त टोली बडिमालिकातर्फ अघि बढ्ने परम्परा छ । १५औं दिनमा मात्र उक्त टोली बडिमालिका पुग्ने धार्मिक परम्परा छ ।
यता, जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिका मन्दिरमा डोलीको पूजा गरेर यात्रा सुरू हुन्छ । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरबार मालिकाको सलामी अर्पण गरेपछि बडिमालिकामा पूजा गर्न जुम्लाको सरकारी डोली बडिमालिकातिर प्रस्थान गर्ने परम्परा छ ।
डोलीसहित जुम्लाको सरकारी पूजा टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजाआजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्किने धार्मिक परम्परा छ । कालीकोट र बाजुराबाट पनि जिल्ला प्रशासनबाट सरकारी टोली बडिमालिका जाने चलन छ । बाजुराबाट प्रस्थान हुने सरकारी पूजा टोलीलाई मार्तडीमा पञ्चेबाजा र पञ्चकन्यासहित जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्चमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी दिएर बिदाइ गर्ने परम्परा रहेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का बताउँछन् ।
बडिमालिका मेलामा देशभरका तथा छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजन तीर्थयात्रा गर्न आइपुग्छन् । तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्त्व छ । त्रिवेणीमा स्नान गरिसकेपछि तीर्थालु बडिमालिका मन्दिरतर्फ उक्लिन्छन् । भोलिपल्ट बिहान बडिमालिका मन्दिरमा पूजा गरेर त्यसै दिन बाजुराकै त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मन्दिर फर्किन्छन् । नाटेश्वरी मन्दिरमा पूजा गरेपछि बडिमालिका दर्शनको चक्र पूरा हुन्छ भन्ने मान्यता छ ।
बडिमालिकामा पुजाको पनि विधि र परम्परा छ । ‘सुरूमा डोटीबाट आएको डोलीसँगै गोरखनाथको पेटारो चढाइन्छ, त्यस क्रममा जुम्लाबाट आएको चन्दननाथको पेटारो पुजाको चढाउने पराम्परा छ,’ पुजारी नेत्रराज पाध्या भन्छन् ‘तीन दिनअघि बडिमालिकाका पुजारीले लिने आशागुर्जा (चाँदीका पूजा भाँडा) र कालीकोटका ब्राह्मणले लिने छत्रको पूजा गर्ने चलन छ । त्यसपछि पूजा जल लिएर पुजारीहरू बडिमालिका मन्दिरतर्फ प्रस्थान गर्दछन् ।
बडिमालिका मन्दिरमा प्राचीन कालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ । बडिमालिका मन्दिरका पुजारी पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ । वि.सं. १८८३ मा राजा रणबहादुर शाहद्वारा बडिमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा लालमोहर लगाएर प्रमाणित गरेको पुजारी परिवारको भनाइ छ । राजा रणबहादुर शाह स्वयंले पनि बडिमालिकाको दर्शन गरेको भन्ने भनाइ छ ।
बडिमालिका पूजाआजा सकेर त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिरमा दर्शन गर्ने परम्परा छ । बडिमालिका दर्शन गरिसकेपछि बाजुराको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी भगवतीको दर्शन गर्नुपुर्न धार्मिक मान्यता रहिआएको बडिमालिकाका पुजारी पाध्या बताउँछन् । तीर्थयात्रीहरू नाटेश्वरीमा रक्षाबन्धन बाँधेर पूजाआजा गरी आ-आफ्ना गन्तव्यतर्फ फर्किन्छन् ।
मनै लोभ्याउने बडिमालिका
बडिमालिकाको प्राकृतिक सुन्दरता अवर्णनीय रहेको भ्रमणबाट फर्केकाहरू अनुभव सुनाउँछन् । धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर बडिमालिकाको प्राकृतिक सौन्दर्यताले १४ हजार फीट उचाइमा रहेको बडिमालिकामा पुग्दाको सास्ती सबै त्यसै हराउने तीर्थालु तथा पर्यटक बताउँछन् ।
‘समथर फाँटहरूलाई स्थानीय भाषामा पाटन भन्ने गरिन्छ । यिनै हरिया पाटनमाथि सेताम्मे भेडाका बथान, ठूल्ठूला पाटन चरिरहेका घोडा अनि अनेक प्रजातिका चराचुरुङ्गी, र मृग प्रजातिका वन्यतन्तु देख्दा मन फुरुंग हुने नै भयो,’ प्रचारप्रसारको उद्देश्यले दुई वर्षअघि पहिलो पटक बडिमालिकामा साइकल लिएर पुगेका कैलालीका भरत शाहले भने, ‘आस्तिकहरुको मानसपटलमा साँच्चिकै भगवान् प्रकट भाएको भान हुने भएपछि श्रद्धालुको आस्थामा बडिमालिकाप्रतिको भक्तिभाव स्वतः बढेर आउने रहेछ । अनि प्रकृतिप्रेमीका लागि त बडिमालिका भन्दा मनमोहक ठाउँ सायदै अन्यत्र होला ।’
बडिमालिकाको धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावनालाई स्थापित गर्न सुदूरपश्चिम क्षेत्रकै आर्थिक विकासले कोल्टे फेर्ने पर्यटन व्यवसायी बताउँछन् । ‘छिमेकका भारतीय पर्यटकलाई बडिमालिका आकर्षित गराउने हो भने हजारौंले त पूजा सामग्री बेचेरै प्रशस्त आयआर्जन गर्न सक्ने सम्भावना छ,’ नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंह भन्छन्, ‘बडिमालिका क्षेत्रमा २२ वटा समथर फाँट, बगैँचामा झैँ फुलेका रंगीचंगी फूल, त्रिवेणी, विष्णुपानी, खेतीबेती, लौरीविनायक, धर्मद्वार आकर्षक स्थल हुन् ।’ हिमपात हुने बेला त्रिवेणी पाटनमा हिउँचिप्लेटी (आइस स्केटिङ) को सम्भावना रहेको सिंहको भनाइ छ । बडिमालिका त्रिवेणी क्षेत्रमा कात्तिकदेखि चैतसम्म बाक्लो हिमपात हुने गर्छ ।
यति मात्रै होइन, बडिमालिका क्षेत्र जैविक विविधताले सम्पन्न छ । जैविक विविधताका दृष्टिले धनी मानिएका नेपालका १८ जिल्लामध्ये बाजुरासमेत एक हो । वैज्ञानिक अध्ययन अनुसन्धानस्थलका रूपमा विकास हुनसक्ने सम्भावित क्षेत्रका रूपमा रहेको बडिमालिकामा केही वर्ष पहिलेसम्म कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भुतकेस, वायोजडी, पाँचऔलेलगायत ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी प्रशस्तै भेटिन्थे । यस्तै, कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायतका वन्यजन्तुको मुख्य बासस्थल पनि हो । सयौं प्रजातिका जडिबुटी यहाँ पाइने वन प्राविधिकहरू बताउँछन् । यो क्षेत्र दुर्लभ वन्यजन्तुको बासस्थलसमेत रहेको वन अधिकृत दानबहादुर थापा बताउँछन् ।
संरक्षणको अभाव
बडिमालिका क्षेत्रको संरक्षण अभावमा पछिल्ला वर्षमा अतिक्रमण बढ्दै गएको जानकारहरू बताउँछन् । छाडा चरिचरन, मनपरी जडिबुटी संकलन र गैरकानुनी चोरी सिकार बढ्दै गएकाले यहाँको जैविक विविधतामा मासिँदै गएको हो ।
चैतदेखि भदौ महिनासम्म बडिमालिकाको त्रिवेणी क्षेत्रमा बाजुरा र कालीकोटका स्थानीय बासिन्दाले भेडाच्यांग्रा, घोडा, खच्चड र भैंसीलगायतका वस्तुभाउ छोड्ने गरेका छन् । जडीबुटी पाउने सिजनमा संकलन गर्नेहरूको पनि उस्तै ताँती लाग्छ । लोपोन्मुख वन्यजन्तुको बासस्थान रहेको बडिमालिका क्षेत्रमा चोरी सिकार पनि मौलाउँदै गएको स्थानीयको भनाइ छ । ‘बडिमालिकाको सुन्दरतामा पहिला र अहिलेबीच कैयौं गुणा फरक परिसक्यो,’ बाजुराका दीपक अयडीले भने, ‘यस क्षेत्रको जैविक विविधता जोगाउने हो भने तत्काल संरक्षण योजना थाल्नु पर्छ ।’
अतिक्रमण बढ्दै जाँदा अहिले जडीबुटी र वन्यजन्तु घट्दै गएको पुजारी नेत्रराज पाध्याय बताउँछन् । यहाँ लौठसल्लो, गोब्रे सल्लालगायत औषधीय गुण भएका विविध वनस्पति पाइन्छन् । जिल्ला वन कार्यालयका अनुसार बडिमालिका क्षेत्र १४ हजार फिट उचाइमा करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सरकारले ०६८/०६९ को बजेट वक्तव्यमा यस क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरे पनि उक्त घोषणा कार्यान्वयन भएन ।
बडिमालिका क्षेत्रको दीर्घकालीन विकासका लागि पञ्चवर्षीय विकास गुरुयोजना निर्माण गरिए पनि काम भने हुन सकेको छैन । ०७३/०७४ देखि ०७७/०७८ सम्म निर्धारित पूर्वाधार निर्माण गरिसक्ने भनिए पनि हालसम्म काम सुरू भएको छैन ।
कसरी पुग्ने ?
धनगढीदेखि एक दिनको सडक यात्रापछि बाजुरा सदरमुकाम मार्तडी पुगिन्छ । काठमाडौंदेखि नेपालगन्ज हुँदै हवाई यातायातबाट बाजुराको कोल्टी विमानस्थल हुँदै मार्तडी आएर पनि बडिमालिका पुग्न सहज छ ।
बडिमालिकामा जानका लागि बाजुरा सदरमुकाम मार्तडी, कोर्द, पोरखे, जगन्नाथ, नाटेश्वरीलगायत कालिकोटबाट मुख्य मार्ग छन् । बाजुराबाट मुख्यगरी दुई वटा मार्ग छन्, सदरमुकाम मार्तडीबाट र कोर्दबाट । बाजुरामा जहाँसुकैबाट प्रस्थान गरे पनि बडिमालिका मन्दिर पुग्न तीन दिन पैदल हिँड्नैपर्ने परम्परा छ । फर्किंदा त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिर पूजाआजा गर्ने परम्परा भएकाले तीर्थालु त्यहीँबाट फर्किने गर्छन् । यद्यपि बडिमालिका जाने पदमार्ग भने सहज छैन । बर्सेनि लडेर दुर्घटना हुने गरेको छ ।
बडिमालिकामा आवास सुविधा उपलब्ध नहुने भएकाले यात्रीहरू आफैंले टेन्ट लिएर जाने गर्छन् । मेलाका बेला सामान्य अस्थायी होटल हुने भए पनि अघिपछि भने यात्री आफैंले खानाको प्रबन्ध गर्नुपर्ने हुन्छ ।
