दार्चुला — सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो ।
माथिको पहिरोमा हिलोसहित ढुंगा खसेपछि सडक अवरुद्ध हुँदा यातायात साधनहरु सञ्चालनमा अवरोध सृजना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।
दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन् । पटक–पटक पहिरोको कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारी साधनहरु समेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नु परेको पनेबाजका स्थानीय गणेशसिह धामीले बताए ।
