अर्जेन्टिनाले खेलमा २ गोलले पछाडि परेको स्थिति उल्टाएको हो । दुवै हाफमा १–१ गोल गर्दै इजिप्टले २–० को अग्रता लिएको थियो । तर खेल समाप्त हुन ११ मिनेट बाँकी रहेको समयमा अर्जेन्टिनाले नाटकीय विजय हात पारेको हो ।
एट्लान्टा — उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना मंगलबार विश्वकप फुटबल २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । १५ मिनेटको अन्तरमा ३ गोल गरेपछि अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्यो ।
अर्जेन्टिनाले खेलमा २ गोलले पछाडि परेको स्थिति उल्टाएको हो । दुवै हाफमा १–१ गोल गर्दै इजिप्टले २–० को अग्रता लिएको थियो । तर खेल समाप्त हुन ११ मिनेट बाँकी रहेको समयमा अर्जेन्टिनाले नाटकीय विजय हात पारेको हो ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्ने छ ।
इजिप्टले १५ औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो, जब मार्वन अटिआको क्रसमा यासिर इब्राहिमले हेडमा गोल गरेका थिए ।
कप्तान लियोनेल मेसीले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएपछि अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने अवसर गुमाएको थियो । मेसीको प्रहारलाई इजिप्टका गोलरक्षक मोस्ताफा सोबेइरले रोकेका थिए ।
यसै प्रतियोगितामा उनले अस्ट्रियाविरुद्धको खेलमा पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए । विश्वकप इतिहासमा मेसी सबैभन्दा बढी ४ पेनाल्टी गुमाउने खेलाडी हुन् ।
इजिप्टका गोलरक्षक सोबेइरले एलेक्सी म्याकएलिस्टर र जुलियन अल्भारेजको प्रहार पनि शानदार बचाउ गरेका थिए । पहिलो हाफमै मेसीको फ्रिकिक प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।
दोस्रो हाफको सुरुआतमै मोस्ताफा जिकोले गरेको गोललाई भीएआरले उल्टाइदिएको थियो । तर ६८ औं मिनेटमा उनै जिकोले काउन्टर एट्याकमा गोल गरी इजिप्टलाई २–० को अग्रता दिलाए ।
अर्जेन्टिनाबाट क्रिस्टिएन रोमेरोले ७९ औं मिनेटमा पहिलो गोल फर्काएका थिए । उनले मेसीको क्रसमा हेडबाट गोल गरेका थिए । मेसीले ८३ औं मिनेटमा गोल गरी अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याएका थिए ।
यस प्रतियोगितामा उनले आफ्नो ८ गोल पुर्याएका छन् र उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डलाई १ गोलले पछाडि पारेका छन् । विश्वकप इतिहासमा मेसीको यो २१ औं गोल पनि हो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा इन्जो फर्नान्डेजले गोल गरी अर्जेन्टिनालाई विजय दिलाए । उनले लुटारो मार्टिनेजको क्रसमा हेडमा गोल गरेका थिए ।
