१९९८ मा यी दुई टोली विश्वकपमा खेल्दा अतिरिक्त समयमा पुगेको थियो।
What you should know
फिलाडेल्फिया — केलियन एमबाप्पेको फ्रान्सले यस विश्वकप फुटबलमा असाधारण प्रदर्शन गरिरहेको छ । फ्रान्स शनिबार (नेपाली समयअनुसार आइतबार) अन्तिम १६ को खेलमा पाराग्वेलाई पराजित गर्दै क्वाटरफाइनलतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ ।
एमबाप्पे र उपाधिको प्रवल दावेदार फ्रान्सलाई फिलाडेल्फियाको मौमसले भने रोक्न सक्छ, जहाँ उच्च आद्रता र आँधीतुफान आउने सम्भावित खतरा देखिएको छ । जुलाई ४ को ऐतिहासिक दिन यो खेल हुन गइरहेको छ, जुन अमेरिकाको स्वतन्त्रा दिवस पनि हो ।
फ्रान्सले सन् २०१८ मा रुसमा उपाधि जितेपछि २०२२ मा अर्जेन्टिनासँग फाइनलमा पेनाल्टीमा पराजित भएको थियो । फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने तेस्रो टोली बन्ने दाउमा छ । यसअघि पश्चिम जर्मनी र ब्राजिलले यो इतिहास रचेको थियो । फ्रान्सले अहिले नै जुन प्रदर्शन देखाएको छ, त्यसले उपाधिको प्रमुख दाबेदार बनाएको छ ।
फ्रान्सले मंगलबार अन्तिम ३२ को खेलमा स्विडेनलाई ३–० ले पराजित गरेको थियो, त्यसमा एमबाप्पेले २ गोल गरे भने ब्राडली बार्कोलाले १ गोल गरेका थिए । फ्रान्सले यस विश्वकपमा ४ खेल खेल्दा १३ गोल गरिसकेको छ । डिडियर डेसच्याम्पको १४ वर्षको कार्यकालमा फ्रान्सले चम्किलो प्रदर्शन गर्दै आएको छ । तर फ्रान्सको टोलीमा जुन आक्रामक गर्ने क्षमता छ, त्यसअनुरुप प्रयोग नगरिरहेको आरोप डेसच्याम्पमाथि छ ।
फ्रान्सको प्रशिक्षकका रूपमा यो उनको अन्तिम प्रतियोगिता हो । उनको टोलीमा रहेका एमबाप्पे, बार्कोला, ओसमन डेम्बेले र माइकल ओलिसेलाई रोक्नु विपक्षीलाई असम्भवझै देखिएको छ । स्विडेनसँगको खेलपछि डेसच्याम्सले भनेका थिए, ‘फ्रान्सको आक्रामक खेलाडीबीच उत्कृष्ट तालमेल छ, उनीहरूले फुटबलको उही भाषा बोल्छन् ।’
त्यसैले फ्रान्ससँग विश्वकप जित्ने राम्रो अवसर छ । विश्व वरीयतामा ४१ औं स्थानमा रहेको पाराग्वेलाई पन्छाउन खासै गाह्रो नहुने अनुमान गरिएको छ । तर वास्तविकतामा यति सरल हुन कठिन छ । पाराग्वे त्यही टोली हो, जसले जर्मनीलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो । यस ऐतिहासिक विजयपछि पाराग्वेमा एक दिन राष्ट्रिय बिदा दिइएको थियो ।
‘उनीहरू यहाँ संयोगले आएका होइनन्, जर्मनी शीर्षस्थ टोली हो र पाराग्वेसँग दक्षिण अमेरिकी डीएनए छ, जसको अर्थ उनीहरूसँग अपार क्षमता छ,’ डेसच्याम्पले पाराग्वेका बारेमा भने, ‘उनीहरूसँग राम्रो क्षमताका खेलाडी पनि छन् । यतिकै कुनै टोली अन्तिम १६ सम्म आइपुगेका हुँदैनन् ।’
बार्कोलाले शुक्रबार फ्रान्स शारीरिक प्रतिस्पर्धाका लागि तयार रहेको जनाए । उनले भने, ‘उनीहरू धेरै रक्षात्मक भएर खेल्छन्, उनीहरूले कडा चुनौती दिँदै आएका छन् । उनीहरूको पनि फुटबल टिम नै हो, जुन हामीले जर्मनीसँगको खेलमा देखिसक्यौं ।’
पाराग्वेका जुलियो इन्किसोलाई फ्रान्सबारे राम्रो थाहा छ, किनभने उनी फ्रान्सेली टोली स्ट्रासबर्गबाट खेल्छन् । उनले नै जर्मनीविरुद्ध गोल गरेका थिए । पाराग्वेले यो खेल जितेर क्वाटरफाइनल पुग्ने अपेक्षा केही व्यक्तिले मात्र राखेको उनले जनाएका छन् । यस्तो भएमा पाराग्वे केवल दोस्रो पटक आफ्नो इतिहासमा विश्वकपको अन्तिम ८ मा पुग्ने छ । ‘हामीसँग पनि आफ्नै शक्ति, क्षमता छ र हामी जुन शैलीमा खेलिरहेका छौं, त्यसले कुनै पनि प्रतिद्वन्द्वीलाई खेल्न गाह्रो बनाउँछन्,’ इन्किसोले भने ।
अत्यधिक तापक्रम हुने चेतावनी
दुवै टोलीका लागि मौसम अर्को प्रतिद्वन्द्वी बन्न सक्छ । फिलाडेल्फियामा शनिबार तापक्रम ३७ डिग्री सेल्सिय पुग्ने अनुमान गरिएको छ । फिलाडेल्फिया त्यही सहर हो, जहाँ २ सय ५० वर्षअघि अमेरिकी स्वतन्त्राको घोषणा गरिएको थियो । तर फिलाडेल्फियामा आउने आँधीको चेतावनीले उनीहरूको यो खुसी मनाउने अवसर बिथोल्न सक्नेछ ।
फ्रान्सले फिलाडेल्फियामा यसअघि नै खेल्दा समूह चरणमा इराकलाई ३–० ले पराजित गरेको थियो । वर्षासँगैं
चट्याङका कारण उक्त खेल २ घन्टा ढिला सुरु भएको थियो । यस्तो मौसमी अवस्थासँग जुध्नुपर्ने भएकाले दुवै टोली अतिरिक्त समय र पेनाल्टी शुटआउटसम्म जाने कल्पना गर्न सक्दैनन् ।
पछिल्लो पटक यी दुई टोली विश्वकपमा खेल्दा खेल अतिरिक्त समयमा पुगेको थियो र फ्रान्सेली फुटबलको आधुनिक इतिहासमा यही नै महत्त्वपूर्ण क्षणमध्ये एक बनेको थियो । पाराग्वेलाई उक्त खेलमा १–० ले पराजित गर्दै अगाडि बढेको फ्रान्सले १९९८ मा अन्त्यमा डेसच्याम्पको कप्तानीमा विश्वकपको उपाधि नै उचालेको थियो, जुन फ्रान्सको विश्वकपमा पहिलो सफलता पनि थियो ।
