घानाको परिवारका एन्टोनी सेमेन्यो इंग्ल्यान्डमा जन्मिएका हुन् । उनको परिवार घानालाई समर्थन गर्दै आइरहेकाले उनले घानाको राष्ट्रियता रोजेको बताउँदै आएका छन् ।
काठमाडौँ — घानाको परिवारका एन्टोनी सेमेन्यो इंग्ल्यान्डमा जन्मिएका हुन् । उनको परिवार घानालाई समर्थन गर्दै आइरहेकाले उनले घानाको राष्ट्रियता रोजेको बताउँदै आएका छन् । २०१० को विश्वकपमा घाना पहिलो अफ्रिकी राष्ट्रको रुरूपमा सेमिफाइनल प्रवेश गर्नेक्रममा थियो ।
१० वर्षको उमेरमा उनले त्यो खेल टेलिभिजनबाट हेरेका थिए । त्यसपछि उनलाई घाना रोज्न सजिलो भएको थियो । सन् २०२३ मा अफ्रिकन कप अफ नेसन्समा मादागास्करविरुद्ध खेल्दै घानाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । त्यसयता उनले घानाबाट ३६ खेल खेल्दै ३ गोल गरिसकेका छन् ।
उनी विंग्स र मिडफिल्डर दुवै भूमिकामा खेल्न सक्छन् । लन्डनमा जन्मेहुर्केका उनले २०१८ मा च्याम्पियनसिप टोली ब्रिस्टल सिटीबाट आफ्नो क्लब यात्रा सुरु गरेका थिए । २०२३ को जनवरीमा उनलाई बर्नमाउथले अनुबन्ध गरेको थियो ।
गत जनवरीमा उनलाई ६ करोड ४० लाख पाउन्डमा म्यानचेस्टर सिटीले भित्र्याएको थियो । चेल्सीविरुद्ध फाइनलमा सेमेन्योले नै सिटीबाट एकमात्र गोल गरेका थिए । उनी पहिलो पटक विश्वकप खेलिरहेका छन् ।
पछिल्लो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको घाना २०१० को नतिजालाई पछ्याउँदै नकआउट चरणमा पुग्ने आशासहित क्रोएसियाविरुद्ध खेल्दै छ ।
