अजरबैजानमा अक्टोबर २२ देखि ३१ सम्म हुने ‘यू–१५ विश्वकप र फेस्टिभल’ हुँदै छ । फिफाले यो सबैका लागि खुला प्रतियोगिता भएको जनाएको छ ।
पेरिस — चार वर्षभन्दा बढी समयपछि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले रुसलाई अन्तर्राष्ट्रिय युथ प्रतियोगिता खेल्ने बाटो खोलिदिने संकेत गरेको छ । युक्रेनमाथि निन्दनीय आक्रामण गरेयता रुसलाई विश्व फुटबल खेल्नबाट रोक लगाइएको थियो ।
अजरबैजानमा अक्टोबर २२ देखि ३१ सम्म हुने ‘यू–१५ विश्वकप र फेस्टिभल’ हुँदै छ । फिफाले यो सबैका लागि खुला प्रतियोगिता भएको जनाएको छ । सन् २०२२ यता रुसको राष्ट्रिय टोली र क्लबहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोक लगाइँदै आए पनि फिफाले रुस फुटबल महासंघलाई भने निलम्बन गरेको छैन ।
फिफाका प्रवक्ताले एएफपीसँगको जिज्ञासामा सिधा रुसको नाम तोकेनन् । तर, उनले अजरबैजानमा हुने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न फिफाको सबै सदस्य राष्ट्रका लागि खुला रहेको जनाएका थिए । प्रतियोगिताको संरचना र सहभागी देशबारे पछि जानकारी गराउने बताएको छ ।
रुसले यसलाई आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबलमा फिर्ता बोलाएको व्याख्याको रूपमा लिएको छ । ‘रुसको राष्ट्रिय टोलीलाई विश्वकप र फिफा यू–१५ फेस्टिभलमा सहभागी गराउने फिफाको निर्णयको हामी स्वागत गर्छौं, जुन अजरबैजानमा अक्टोबरमा हुँदै छ । अन्तर्राष्ट्रिय खेलकुदमा फर्किन रुसका लागि यो महत्त्वपूर्ण कदम हुनेछ,’ रुसका खेलकुदमन्त्री मिखाइल डेग्टिएरेभले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यो कदमले रुस र बेलारुसका खेलाडीमाथि रहँदै आएको प्रतिबन्ध हटाउने विश्वास लिइएको छ । मेमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बेलारुसमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
