बोस्निया–हर्जगोभिनिया पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो ।
What you should know
भ्यानकुभर — स्विट्जरल्यान्ड विश्वकप २०२६ को समूह ‘बी’ को विजेता भएको छ । टोलीले भ्यानकुभरमा सहआयोजक क्यानडालाई २–१ गोलले पराजित गर्यो । यसअघि नै यी दुई टोली नकआउट चरणमा प्रवेश गरिसकेका थिए ।
दुवै टोलीले पहिलो हाफमा खासै मौका बनाउन सकेनन् । मध्यान्तरपछि गोलको खाता खोल्न स्विस टोलीलाई ६० सेकेन्ड पनि लागेन । जोहन मान्जाबीको सानदार पासमा रुबेन भार्गसले स्विट्जरल्यान्डबाट गोल गरी घरेलु दर्शकलाई स्तब्ध पारेका थिए । उनै मान्जाम्बीले ५७ औं मिनेटमा दोस्रो गोल थपे ।
प्रोमिस डेबिडले क्यानडाबाट ७६ औं मिनेटमा गोल फर्काएका थिए । त्यसका लागि नाथन सालिबाले उनलाई उत्कृष्ट पास उपलब्ध गराइदिएका थिए । अन्तिम १५ मिनेटमा स्विस पोस्टमा एकोहोरो आक्रमण गरे पनि क्यानडाले थप गोल गर्न सकेन ।
बोस्नियाको बलियो सम्भावना
बोस्निया–हर्जगोभिनियाको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । टोलीले अमेरिकाको सियाटलमा भएको खेलमा कतारलाई ३–१ ले पराजित गर्यो । स्विट्जरल्यान्ड ७ अकंसहित समूह ‘बी’ को विजेता बन्यो ।
क्यानडा र बोस्नियाको समान चार अंक भए पनि गोल भिन्नताका आधारमा क्यानडा दोस्रो भयो । समूहको तेस्रो स्थानमा रहेकाले बोस्नियाको पनि अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो भएको छ । 
सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहको शीर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यस्तै १२ समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ ।
सियाटल रंगशालामा १८ वर्षे लेफ्ट विङ्गर केरिम अलाजबेगोभिजले २९ औं मिनेटमा दुई कतारी खेलाडीको चुनौतीलाई पन्छाउँदै उत्कृष्ट गोल गरेका थिए । त्यसको ६ मिनेटपछि सुल्तान अल ब्राकेले आत्मघाती गोल गर्न पुगेपछि बोस्नियाले अग्रता दोब्बर बनाएको थियो ।
हसन अल हायडोसले ४३ औं मिनेटमा गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बोस्नियाबाट इरमिन माहमिजले ८२ औं मिनेटमा डिफलेक्सनमा गोल गर्दै टोलीको जित निश्चित गरे । कतारले यस पटकको विश्वकप यात्राको ३ खेलमा खर्चेको यो १० औं गोल थियो ।
कतार यस विश्वकपको समूह चरणबाट बाहिरिने छैटौं टोली भएको छ । २०२२ को विश्वकपको आयोजक एवं एसियन च्याम्पियन कतारले विश्वकपका कुल ६ खेलमा अझै विजय हात पार्न सकेको छैन ।
