मेसी अघिअघि, एमबाप्पे पछिपछि

अल्जेरियाका प्रशिक्षक भ्लादिमिर भन्छन्, ‘लियोनल मेसीले पछिल्ला दुई दशकमा त्यस्तो काम गरेका छन्, जुन अद्वितीय छ।’

असार ४, २०८३

एएफपी

Messi first, Mbappe second

What you should know

कान्सास सिटी — जतिबेला लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप २०२६ मा अल्जेरियाविरुद्ध पहिलो गोल गरे, खुबै भावनात्मक बने । उनले आँसु रोक्नै सकेनन् । आफ्नो सेतो र आकासे रंगको जर्सीको अघिल्लो भाग माथि उठाएर उनले त्यो आँसु पुछे । अरू बेला मेसी यति धेरै भावनात्मक कमै मात्र बनेका छन् । बढीभन्दा बढी आत्मविश्वास देखिन्थे । पहिलो गोल गरेपछि उनी फरक देखिए । 

त्यसपछि उनले दोस्रो गोल पनि गरे अनि तेस्रो गोल । ह्याट्रिक पूरा भयो । यस्तोमा मेसीको ह्याम्स्ट्रिङ चोटबारे उठिरहेको प्रश्नले उत्तर पायो । उनी ३९ वर्षका हुनेक्रममा छन्, तर झन् झन् राम्रो पो खेल्न थालेका छन्, त्यो पनि कसैको आँखामा नबिझाउने गरेर । यही उत्कृष्ट ह्याट्रिकपछि मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक (१६) गोलको कीर्तिमान पनि बराबरी गरेका छन् । 

खेलपछि मेसीले भने, ‘धेरैलाई लाग्न सक्छ, म पहिलो गोलमा किन रोएँ भनेर । पछिल्ला केही दिन मेरा लागि असाध्यै कठिन रहे र यी सबै फुटबलसँग सम्बन्धित भने होइन । यिनै कारणले म केही भावनात्मक भएको हुँ । यतिबेला म आफ्ना साथीहरू, प्रशिक्षकको समूह र पदाधिकारीलाई सबैलाई धन्यवाद दिन चाहन्छु, सबैले मलाई धेरै सहयोग गरे ।’ 

ती फुटबलबाहिरका कारण के के थिए, मेसीले खुलाउन चाहेनन् । खेलपछि प्रशिक्षक लियोनल स्कालोनी पनि अवाक जस्तै देखिए । उनको भनाइ यत्तिमात्रै थियो, ‘मेसीबारे बोल्ने शब्द नै पाइनँ मैले । के मात्र भन्ने र ? उनी साँच्चै महान खेलाडी हुन् ।’ मेसीले विश्वकप खेल्न थालेको दुई दशक भइसकेको छ । तर ह्याट्रिक गोल निस्केको भने अहिले मात्रै हो । 

उनले विश्वकपमा डेब्यु गरेको भनेको सर्बिया एन्ड मोन्टेनेग्रोविरुद्ध हो । त्यसमा पनि मेसीले एक गोल गरेका थिए । उनले जति विश्वकप खेलेका छन्, एक अपवादलाई छाडेर सबैमा गोल गरेका छन्, त्यो भनेको ६ संस्करणको विश्वकप । यी विश्वकपमा उनले गरेको गोलसंख्या १६ पुगेको छ । केही दिन अगाडिसम्म पनि मेसीले क्लोजको कीर्तिमान भंग गर्न सक्ने जस्तो स्थिति थिएन । तर अहिले यो एकाएक सहज देखिएको छ । उनले आफ्नो खेलजीवनमा धेरैपल्ट ह्याट्रिक गरेका छन्, त्यो भनेको ६१ पटक । 

त्यसमध्ये आफ्नो देशका लागि गरेको तीन गोलको प्रदर्शन भने ११ पटक हो । विश्वकपको ह्याट्रिकका लागि भने उनले लामै समय कुर्नुपर्‍यो । मेसीले अल्जेरियालाई हराएर मिडियासामु लामै कुरा गरे । उनले भने, ‘म अहिले असाध्यै खुसी पनि मानिरहेको छु । मेरो जीवनमा जे जस्तो चुनौती आए, त्यसलाई मैले सामना गरें । अहिले म निकै मज्जाले फुटबल खेलिरहेको छु ।’

बुधबारको खेलमा मेसीमात्र होइनन्, चर्चामा रहनेमा फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड पनि रहे । एमबाप्पेको दुई गोलको मदतमा फ्रान्सले सेनेगललाई ३–१ ले सजिलै हराएको थियो । एमबाीपेले गरेको गोलसंख्या पनि १४ पुगिसकेको छ । अर्कोतर्फ नर्वेले इराकमाथि रचेको ४–१ को जितमा हालान्डले दुई गोल नै गरे । अर्जेन्टिनाको खेल चलिरहेका बेला हालान्डले स्नापच्याटमा लेखे, ‘मेसी अद्वितीय छन् ।’

एमबाप्पे पनि आधुनिक फुटबलले पाएको प्रभावशाली स्ट्राइकर हुन् । उनकै प्रेरणामा फ्रान्सले २०१८ को रुस विश्वकपमा उपाधि जित्नुका साथै कतार २०२२ मा फाइनल पुगेको थियो । कतारमा त फाइनलमा एमबाप्पेले ह्याट्रिक गर्नुका बावजुद फ्रान्स अभागी सावित हुँदा मेसीको अर्जेन्टिना च्याम्पियन बनेको थियो । 

एमबाप्पेको हकमा यो विश्वकपको तेस्रो संस्करण हो । उनले सेनेगलविरुद्ध दुई गोल गरेर गोलसंख्या १४ गोल पुर्‍याएका छन् । उनले रुसमा ४ गोल र कतारमा ८ गोल गरेका थिए । एमबाप्पे ब्राजिली रोनाल्डोभन्दा एक गोलले पछाडि छन् । चार विश्वकप खेलेका रोनाल्डोले चार विश्वकपमा १५ गोल गरेका थिए ।

विश्वकपअगाडि इन्टर मियामीका लागि खेल्ने क्रममा मेसीलाई चोट लागेको हो । तर आठपल्टको बालोन डी’अर विजेताले आइसल्यान्डविरुद्ध पछिल्लो साता मैत्रीपूर्ण फुटबलमा पनि खेलेको थियो, त्यसक्रममा पनि उनमा कुनै समस्या देखिएन । त्यसमा पनि उनले पेनाल्टीबाट एक गोल गरेका थिए । उनले मैदानमा २० मिनेट बिताए र यसबीच उत्कृष्ट प्रदर्शन नै गरे । मेसी भन्छन्, ‘म छैटौं विश्वकप खेलिरहेको छु, अझै पनि राम्रो महसुस गरिरहेको छु शारीरिक रूपमा ।’

मेसीले कुनै पनि प्रतियोगिताको पहिलो खेल जित्नुको आफ्नै अलग महत्त्व रहेको पनि बताए । उनका अनुसार विश्वकपमा कुनै पनि खेल सजिलो हुन्न, त्यसैले अल्जेरियाविरुद्धको जित पनि आफैंमा कठिन रह्यो । मेसीका लागि अल्जेरियाविरुद्धको खेल किन पनि उत्तिकै महत्त्वपूर्ण रह्यो भने यो अर्जेन्टिनाका लागि दुई सय खेल रह्यो । सन् २००५ मा उनले १८ वर्षकै उमेरमा यो यात्रा सुरु गरेका थिए । 

विश्व फुटबलमा मेसीले भन्दा बढी आफ्नो राष्ट्रिय टिमका लागि खेल्ने दुई खेलाडी मात्र छन् । त्यसमा एक भए क्रिस्टियानो रोनाल्डो, अर्को कुवेतका बादेर अल–मुतावा । मेसी र रोनाल्डो नै त्यस्ता दुई खेलाडी हुन्, जसले पाँच विश्वकपमा गोल गरे । अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले पनि मेसीको प्रशंसा गर्दै भनेका छन्, ‘मेसीले पछिल्ला दुई दशकमा त्यस्तो काम गरेका छन्, जुन अद्वितीय छ ।’

विश्वकप २०२६

एएफपी

Link copied successfully