नेपालले बुधबार पहिलो दिनको खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
What you should know
काठमाडौँ — नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार भुटानलाई ५१ रनले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
टस हारेपछि ब्याटिङमा आएको नेपालले क्वालालम्पुरस्थित कोलेज टुएन्कु जाफर ओभलमा पूरा २० ओभर खेली १ सय १३ रनमा अलआउट भयो । ६७ रन बनाउँदा ७ विकेट गुमाए पनि अनुभवी सीता रानामगर र रुबिना क्षेत्रीको प्रयासमा नेपालले चुनौतीपूर्ण स्कोर बनाएको थियो ।
यी दुईले आठौं विकेटमा ५ ओभरभित्र ४० रनको साझेदारी गरे । सीताले २८ बल खेली ६ चौकासहित ३७ रन बनाइन् । रुबिनाले २१ बल खेली ३ चौकासहित २४ रन बनाइन् । विन्दु रावलले दोस्रो बलमै शुन्यमा आउट भएको नेपाली इनिङ्समा सम्झना खड्का १०, पूजा महतो ८, सोनी पाख्रिन २० बलमा १३, कप्तान इन्दु बर्मा ५, रुबी पोदार १ र कविता कुँवर ३ रनमा आउट भएका थिए । रिया शर्माले भने खाता खोल्न सकिनन् ।
भुटानबाट सोनम र छिरिङ जाङमोले ३–३ विकेट लिए । सोनमले ४ ओभरमा १२ र छिरिङले ४ ओभरमा २१ रन खर्चेकी थिइन् । अञ्जु गुरुङले २ तथा रित्सी छोदेन र रिया प्रधानले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ६२ रनमात्र बनाउन सक्यो । भुटानले पहिलो बलमै २ विकेट गुमाएको थियो । कविताले पहिलो बलमै न्गावाङ छोदेनलाई बोल्ड गरेकी थिइन् भने त्यसपछि क्रिजमा ढिला आएको कारण रित्सी छोदेनलाई टाइम आउट दिइएपछि भुटानले १ बलमै २ विकेट गुमाएको थियो ।
ओपनर डेचेन वाङमोले अविजित ३९ रन बनाइन् । उनले ६० बल खेली ५ चौका प्रहार गरिन् । त्यसबाहेक दोहोरो स्कोर बनाउने चाडो ओममात्र थिइन् । उनले ११ रन जोडिन् । नेपालबाट रुबिनाले ४ ओभरमा १५ रन खर्चेर ३ विकट लिइन् । त्यस्तै रिया शर्माले २ तथा कविता र मनीषा उपाध्यायले १–१ विकेट लिइन् ।
नेपालले बुधबार पहिलो दिनको खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
