एसीसी वुमन्स प्रिमियर कपमा नेपालको विजयी सुरुआत 

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रनमा अलआउट भयो ।

जेष्ठ २०, २०८३

विनोद पाण्डे

Nepal's winning start in the ACC Women's Premier Cup

What you should know

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार क्वालालम्पुरको कोलेज टुएन्कु जाफर ओभलमा कतारलाई ८ विकेटले पराजित गर्‍याे । 

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रनमा अलआउट भयो । रुविना क्षेत्रीले ३ विकेट लिएपछि कतार धरायसी भएको थियो । पूर्व कप्तान रुविनाले ३.५ ओभरमा ८ रनमात्र खर्चेर उत्कृष्ट बलिङ गरेकी थिइन् । 

कविता कुँवरले ३ ओभरमा ९, रिया शर्माले ३ ओभरमा ६ र पुजा महतोले २ ओभरमा २१ रन खर्चेर १–१ विकेट लिइन् । नेपालले कतारका चार ब्याटरलाई रनआउट गरेको थियो ।

नेपालले १०.५ ओभरमै लक्ष्य पुरा गर्‍याे। सम्झना खड्का ३ रनमै आउट भए पनि अर्की ओपनर विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३० बल खेली ४ चौका प्रहार गरिन् । उपकप्तान पुजा महतो २८ र कप्तान इन्दु बर्मा ६ रन बनाई अविजित रहिन् । पुजाले २६ बल खेली ४ चौका र इन्दुले ६ बल खेली १ चौका प्रहार गरेकी थिइन् । 

समूह ‘डी’ मा नेपाल र कतारसँगै हङकङ र भुटान रहेका छन् । नेपालले बिहीबार भुटानसँग खेल्ने छ । समूह ‘ए’ मा थाइल्यान्ड, बहराइन, मंगोलिया, म्यानमार, समूह ‘बी’ मा चीन ओमान, साउदी अरेबिया, यूएई तथा समूह ‘सी’ मा मलेसिया, सिंगापुर इन्डोनेसिया र कुवेत रहेका छन् । 

मलेसियामै आइतबार सम्पन्न एसियाली खेलकुदमा छनोटको शीर्ष तीनमा पर्न नसकेपछि नेपाल आउदो एसियन गेम्समा छनोट असफल भएको थियो । सेमिफाइनलमा मलेसियासँगै २ विकेटले पराजित नेपाललाई तेस्रो स्थानको खेलमा चीनले ५ विकेटले पराजित गरेको थियो । चीनसँग नेपालले तेस्रो पटक पराजय भोगेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully