नेपालले विश्वकप क्रिकेटमा जति खेल खेल्यो, ती सबैमा पूरा वानखेडे रंगशाला भरिएको थियो ।
What you should know
काठमाडौँ — मुम्बईको मरिन ड्राइभमा स्वतस्फुर्त देउडा नाच । कल्पना गर्न सकिन्छ र ? क्रिकेटले यो पनि सम्भव हुँदोरहेछ । जति बेला हामी वर्ष २०८२ लाई नेपाली खेलकृदको दृष्टिकोणबाट फर्केर हेर्नेछौं, हामीले
ठ्याक्कै दोहोर्याएर सम्झने भनेको नेपालमय भएको त्यही मरिन ड्राइभ र प्रसिद्ध ऐतिहासिक क्रिकेट मैदान वानखेडे स्टेडियम हुनेछ । अवसर थियो, आईसीसी ट्वान्टी–२० विश्वकप । नेपाली खेलकुद बढीमा कहाँसम्म पुग्न सक्छ त ? यसको जवाफ भनेको यस्तै क्रिकेट माहोलले बनाउने हुनेछ । नेपालले तेस्रो पटक ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप खेलेको वर्ष यही रह्यो । यससँग जोडिएका सम्झना धेरै लामो समयसम्म गाढा रहनेछ नै ।
भारतीय क्रिकेटका ऐतिहासिक सफलतासँग जोडिएको वानखेडे वास्तवमै नेपालको दोस्रो घर जत्तिकै भएको थियो । नेपालले जति खेल खेल्यो, ती सबैमा पूरा रंगशाला भरिएको स्थिति थियो । हजारौं नेपाली क्रिकेटप्रेमी मुम्बई पुगे अनि उनीहरूले नेपाली जर्सीर् र ढाका टोपी लगाए अनि देशको झण्डा बोके । जहाँ नेपालको विश्वकप यात्रा सानदार च्याम्पियनको जस्तो रह्यो, त्यहीं विश्वकपमै पनि प्रदर्शन कम्तीको रहेन । इंग्ल्यान्डविरुद्ध बहादुरीपूर्ण खेल, वेस्ट इन्डिजविरुद्ध ठिकठाकको प्रदर्शन, इटालीविरुद्ध बिर्सनलायक नतिजा अनि स्कटल्यान्डविरुद्ध सानदार जित । प्रतियोगितामा नेपालको प्रदर्शनको निचोड यही रह्यो, धेरै अर्थमा सन्तोषजनक ।
यसै क्रममा विदेशी मिडियाले नेपालको प्रदर्शनको प्रशंसा गर्न कन्जुस्याइँ गरेनन् । यही मौका छोपेर नेपालका कप्तान रोहित पौडेलले ठूला टेस्ट खेल देश भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई नेपाल आउन अनुरोध गर्न बिर्सेनन् । अनि वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले नेपाल जत्तिको क्रिकेट देशलाई सहयोग गर्ने कर्तव्य सबै टेस्ट खेल्ने देशको हो भनेर सार्वजनिक रूपमा बोले । यति भन्दाभन्दै चुरो कुरा भने नेपाली प्रशिक्षक स्टुवार्ट लले गरे । उनको भनाइ थियो, नेपाली क्रिकेट यत्तिकैमा असाध्यै अगाडि भने बढ्ने छैन । साँच्चै अगाडि बढ्ने हो भने यसमा लगानी चाहिन्छ र यो लगानी भनेको प्रथम श्रेणी जत्तिको क्रिकेटलाई हो, त्यो भनेको दुई वा त्योभन्दा बढी दिनको क्रिकेट ।
ट्वान्टी–२० क्रिकेट अचेल आर्थिक पक्ष र चर्चाका लागि सबथोक त हो । तर क्रिकेटमै विकास गर्ने नै हो भने रातो बलको खेल नै चाहिन्छ, सेतो बलले सबथोक गर्दैन । वर्ष २०२६ मा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण पनि भयो । यो पहिलोको तुलनामा अझ सफल रह्यो । मुख्य कुरा, दर्शक टिकट किनेर कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला पुगे । पुनर्निर्मित त्रिवि रंगशालाको फ्लडलाइटमा भएको क्रिकेटमा सबै रमाए भन्दा हुन्छ । यसको पनि उत्तिकै चर्चा विदेशी मिडियामा भयो । नेपाली क्रिकेट समर्थकको ओइरो देखेर सबै दंग खाए । यति भनिरहँदा नेपाली खेलकुदमा एउटा भाष्य तयार हुन थालेको छ । यो हो, क्रिकेट अगाडिको यात्रा उन्मुख छ, ठीक यही बेला फुटबल पछाडि खस्कँदै छ ।
वर्ष २०८२ नेपाली फुटबल असाध्यै निराशाजनक रह्यो । अहिलेको स्थितिमा नेपाली फुटबल शून्यको स्थितिमा छ । अब भोलि के हुनेछ, कसैले भन्न सक्ने स्थिति छैन । अहिलेका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको स्थिति छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने यसलाई सिधा तेस्रो पक्षको हस्तक्षेप मानेका छन् । यी दुई संस्थाले एन्फामाथि लागेको निलम्बन फिर्ता लिएर चुनाव गर्न भनेको समयसीमा पनि सकिसकेको छ । यस्तो अब ढिलोचाँडो एउटा समाचार आउने छ । त्यसको शीर्षक हुन सक्नेछ, ‘फिफाद्वारा नेपालमाथि प्रतिबन्ध ।’
नेपाली फुटबलमा विवाद नभएको कहिले मात्र छ र ? तर यसपल्ट गम्भीर विवाद सुरु भएको भने एन्फाको संस्थापन पक्षले घोषणा गरेको अर्ली इलेक्सन नै हो । जसले यो अर्ली इलेक्सन गर्ने भनेको छ, उसका लागि यो आफ्नो विधानअनुसार ठीक छ । भलै, राखेपको निलम्बनपछि यो सम्भव भएन । संस्थापन पक्षको विपक्षीलाई के लाग्छ भने अर्ली इलेक्सनसम्म त ठीक हो, तर यसका लागि तहगत चुनाव हुनैपर्छ । बाहिरबाट हेर्दा यो यस्तै हो जस्तो लााग्न सक्छ, तर यो सबै विवाद, असहमति, विद्रोहको खास जरो भने दुई दशकभन्दा पुरानो एन्फाभित्रको बेथिति नै हो । जे गर्दा पनि हुन्छ भने स्थितिले निम्त्याएको समस्याको चाङले अन्ततः आजको रूप लिएको हो ।
फिफालाई चाहिँ के लाग्छ भने अहिले जुन रूपमा चुनाव हुन लागेको छ, त्यो ठीक छ । नेपाली फुटबलको एउटा ठूलै समस्या के हो भने जति बेला एन्फाको नेतृत्वमा जो कोही हुँदा फिफा नै ठीक लाग्छ, देशको नियम कानुनले अड्चन लगायो भने त्यो तेस्रो पक्षको हस्तक्षेप हुन्छ । अनि फिफा र एएफसीको प्रतिबन्धको धम्की सुनिन थाल्छ । एन्फाको नेतृत्वबाट आफू हट्नुपर्छ मात्र पर्छ, तिनलाई फेरि फिफा गलत लाग्छ र देशको नियम कानुन ठीक लाग्छ । अनि अड्डा अदालत जानु उत्तिकै जायज लाग्छ । यो यस्तो चक्र हो, जुन चल्न थालेको दुई दशकभन्दा बढी समय भइसकेको छ । मात्र पात्र र प्रवृत्ति उताउता भएका हुन् ।
ठीक यही बेला मैदानमा नेपाली फुटबल वास्तवमै धराशायी भएको स्थिति छ । अझभन्दा मैदानी फुटबल अहिले शून्यको स्थितिमा छ । चलिहेका दुई ठूला प्रतियोगितामा पुरुष राष्ट्रिय लिग बीचमै रोकिएको छ भने महिलाको सहिद स्मारक लिग सुरु मात्र के भएको थियो, त्यो पनि स्थगित भयो । विदेशी खेलाडीलाई खेलाउन चाहिने श्रम स्वीकृतिले स्थिति जटिल बनाएको हो भन्दा हुन्छ । राष्ट्रिय टिमको प्रदर्शन पनि उत्तिकै खराब रह्यो । एसिया कप छनोट तेस्रो चरणमा नेपाल चार टिमसम्मिलित समूहमा सबैभन्दा पछाडि रह्यो । भियतनाम र मलेसियाभन्दा पछाडि पर्नु सम्म त स्वीकार गर्न सकिन्छ, तर लाओस जत्तिको टिमसँग लगातार हारिन्छ भने त्यो सर्वथा अस्वीकार्य हुन्छ ।
यहाँतिर नेपाली फुटबलले नेपाल ओलम्पिक कमिटीको विवाद र अन्योलबाट केही पनि सिक्न चाहेन । जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले जसरी विधान संशोधन गर्यो । चुनाव गर्यो, त्यसमा पूरा सरकारकै विमति रह्यो । सरकार यत्तिकैमा रोकिएन, सातदोबाटोको ओलम्पिक भवन मात्र कब्जा गरेन, ध्रुवबहादुर प्रधानको नेतृत्वमा अर्को समानान्तर कमिटी नै बनायो । त्यो कमिटीले ठुल्ठूला कुरा गर्ने क्रममा आफूले अन्तर्राष्ट्रिय समर्थन ल्याउने कुरा पनि गर्यो, तर त्यस्तो हुँदै भएन । हुने विषय पनि थिएन । अब त्यो कमिटी कहाँ छ, कसैलाई थाहा छैन । आखिरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको समर्थन जसलाई रह्यो, त्यही नै आधिकारिक देखियो ।
फुटबलमा हुने पनि त्यही हो, त्यस्तै हो । अब फिफा र एएफसीले जे भन्छ, त्यही मात्र हुन्छ । होइन, हामीलाई यी दुवै ठूला संस्था चाहिन्न भने घरेलु फुटबल जसरी जतिसुकै गर्दा पनि हुन्छ । यसबीच तयार भएको भाष्यको अर्को रूप हो, नेपाली फुटबल वास्तवमै ओरालो लागेको छ, अब यहाँबाट उठेर अगाडि जान गाह्रै हुनेछ, नभए धेरै समय लाग्न सक्नेछ । कम्तीमा खेलाडी अञ्जन विष्टले जस्तो, नेपाली फुटबल कहिल्यै मर्ने छैन । तर यो सबै नेपाली खेलकुदका लागि शिक्षा त हो । शिक्षा त नेपाली क्रिकेटका लागि हो । मैदानमा यो खेल जति सफल छ, मैदान बाहिर यो उत्तिकै कमजोर छ । नेपाल क्रिकेट संघ (क्यान) मा असहमति, विवाद र द्वन्द्व चर्को छ ।
ठुलै आरोप छ, नेपाली क्रिकेटभित्र आर्थिक पारदर्शिता भन्ने नै छैन । बरू एन्फा यसमा धेरै अगाडि छ । नेपाली क्रिकेट र यसमा नेतृत्वमा रहेकाले के बुझ्नुपर्छ भने जति जति बेथितिका चाङ थुप्रिन थाल्छ, त्यसले कालान्तरमा बिगार्ने भनेको उसकै खेललाई लिएर हो । नेपाली क्रिकेटले प्रजातान्त्रिक मूल्य मान्यता बिर्सनै हुन्न र यो ढंगले चल्नै पर्छ । नेपाली क्रिकेट अझ बढी व्यवस्थित मात्र हुने हो भने यसको बाटोमा यो खेल मज्जाले अगाडि बढ्ने छ । वर्ष २०८२ ले नेपाली खेलकुदलाई दिएको शिक्षा यही होइन त ? जति बेलासम्म फुटबल र क्रिकेट मात्र होइन, मैदानबाहिर जति बेलासम्म विवाद र द्वन्द्व चलिहरने छ, हुने भनेको फुटबलमै जस्तो हो, यही रोग क्रिकेटमा चाहिँ नसरहेकै राम्रो ।
