फिफाले फेरि दियो नेपाललाई प्रतिबन्धको चेतावनी

एन्फा र राखेपसँगको वार्ता : स्वतन्त्र चुनाव नभए प्रतिबन्ध लगाउने फिफाको चेतावनी

वैशाख १, २०८३

हिमेश

FIFA again warns Nepal of ban

काठमाडौँ — नेपाली फुटबल विवाद सुल्झाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच भर्चुअल वार्ता गरेका छन् । यसक्रममा फिफा र एएफसीले राखेपको निलम्बन फिर्ता लिएर चुनावको पुरानै कार्यक्रममा फर्कन भनिएको छ । 

सोमबार साँझ बसेको त्यस बैठकमा फिफा र एएफसीको तर्फबाट ६ जना सहभागी थिए । त्यसमा एमए गभर्नेन्स एट फिफा प्रमुख रफ टनर, एएफसीका डेपुटी जेनेरल सेक्रेटरी भाहिद कारडानी, फिफाका प्रिन्स रुफुस, एफफसीकै सन्जीवन बालासिंगम र यासुको ताकानो तथा दक्षिण एसियाली युनिटका प्रमुख निरेन मुखर्जीले रहेका छन् । राखेपका तर्फबाट सदस्य सचिव रामचरित्र मेहता र सानु केसीले सहभगिता जनाए ।

एन्फाका तर्फबाट महासचिव किरण राई, सीईओ इन्द्रमान तुलाधर र मिडिया अफिसर शैलेन्द्र अधिकारी सहभागी रहे । बैठकमा सहभागीमध्ये प्रतिनिधिका अनुसार फिफाले बिनाहस्तक्षेप स्वतन्त्रपूर्वक एन्फाको चुनाव गर्न दिन भनेको थियो । त्यस स्थिति रहेन भने फिफाले नेपाललाई प्रतिबन्धको चेतावनी पनि दिएको थियो । फिफाले एन्फालाई निलम्बन गर्नु तेस्रो पक्षको हस्तक्षेप रहेको जिकिर गरेको थियो ।

वार्तामा राखेपले एन्फामाथि गरिएका कारबाही आफ्नो नियमअनुसार भएको दाबी गर्दा फिफाले त्यसलाई अन्तर्राष्ट्रिय फुटबलको नियमअनुसार सम्बोधन गर्न भनेको थियो । यस्तै वार्ताका क्रममा राखेपले एन्फाको चुनाव तहगत हुनु पर्नेमा जोड दिएका थियो । त्यसमा भने फिफाले एन्फाको साधारण सभाले चुनावका लागि तहगत चुनावको त्यस्तो कुनै निर्णय नगरेको बताएको थियो ।

फिफाले एन्फाको साधारण सभाको डिडियो मगाएर अध्ययन गरेको र त्यसमा तहगत चुनावको कुरा नभएको बताएको थियो । फिफाले राखेपको विधानको अंग्रेजी संस्करण पठाउन पनि भनेको छ । राखेपले भने एन्फा पिफाको प्रतिबन्धमा नगरोस् भन्दै भौतिक रूपमै थप वार्ताका लागि पनि प्रस्ताव राखेको बताइएको छ ।

हिमेश

Link copied successfully