अन्योलको भुमरीमा नेपाली फुटबल

श्रम स्वीकृति नलिएका विदेशी खेलाडीलाई नखेलाउन अध्यागमनको पत्र, राष्ट्रिय लिग र महिला लिग स्थगित, निर्वाचनबारे एन्फालाई राखेपको ‘चेतावनीपूर्ण पत्र’

चैत्र ६, २०८२

हिमेश

Nepali football in turmoil

काठमाडौँ — नेपाली फुटबलका लागि बिहीबारका घटनाक्रम असाध्यै धेरै नाटकीय रह्यो । शृंखलाबद्ध रूपमा एकपछि अर्को घटना भए । यसले नेपाली फुटबललाई झन् धेरै अन्योलता मात्र थपेको छैन, स्थिति उत्तिकै नाजुक पनि बनेको छ । 

च्यासल रंगशालामा सहिद स्मारक महिला लिग र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय लिग चलिरहेकै बेला नेपाल सरकारको अध्यागमन विभागको त्यो पत्र सार्वजनिक भयो । जसले निर्देशन दिएको थियो, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई नखेलाउनू । 

विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै विदेशी खेलाडीबारे यो निर्देशन जारी गरेको हो । उसले स्पष्ट भनेको छ, पयर्टक भिसामा रहेका कोही पनि विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन पाइन्न । भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न पाइएमा तत्काल कानुनी कारबाही पनि हुनेछ । यो पत्रले अहिले चलिरहेको राष्ट्रिय लिगकै कानुनी वैधानिकतामाथि जटिल प्रश्न उठेको छ ।

विभागीय टोली एपीएफ, आर्मी र पुलिसलाई छाडेर राष्ट्रिय लिग खेलिरहेका अधिकांश टिममा विदेशी खेलाडी रहेका छन् । यी खेलाडी टिमकै मुख्य सदस्य पनि रहने गरेका छन् । प्रतियोगितामा केही क्लबले पयर्टक भिसामा रहेका विदेशी खेलाडी उतारेको उजुरी परेपछि यी सबै घटनाक्रम अगाडि आएको हो । अध्यागमन नियमावली २०५१ को २० मा भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यले भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ । 

विभागका निर्देशक टीकाराम ढकालले कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमअनुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र गराउन पत्र पठाइएको बताए । ‘त्यस सम्बन्धमा यस विभागबाट आजदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडी भिसाको उद्देश्यविपरीत कुनै खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने व्यहोरा निर्णयअनुसार जानकारी गराइने छ,’ निर्देशक ढकालद्वारा बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विभागले यसको व्यहोरा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत बोधार्थका रूपमा पठाएको छ । अध्यागमनको निर्णय विपरीत सहभागी गराए त्यस्ता विदेशीलाई जरिवाना असुलेर उनीहरूकै देश निष्कासन गर्न सकिने व्यवस्था अध्यागमन कानुनमा छ । यस पत्रलगत्तै सबैभन्दा पहिले एन्फाले भन्यो, राष्ट्रिय लिग अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित भएको छ ।

बिहीबार नै दुई खेल भएको थियो । त्यसमा सबैभन्दा पहिले लालीगुराँसले चित्लाङ एफसीलाई हरायो । त्यसपछि त्रिभुवन आर्मी क्लबले सातदोबाटोविरुद्ध विजय नतिजा निकाल्यो । 

त्यसको केही समयपछि सहिद स्मारक महिला लिग पनि अनिश्चित समयका लागि स्थगित भएको विज्ञप्ति आयो । लिग बुधबार मात्र सुरु भएको थियो । त्यसको पनि बिहीबार दुई खेल भएको थियो । त्यसमा बागमतीले आरएस पोखरा र पुलिसले चर्च ब्वाइजलाई हराएको थियो । महिला लिग खेलिरहेको संकटामा पनि चार विदेशी खेलाडी छन् । एन्फा पदाधिकारीका अनुसार दुवै लिग स्थगित हुनु पछाडि अध्यागमनकै पत्र प्रमुख कारण हो । 

विदेशी खेलाडी संलग्न क्लबका केही पदाधिकारीका अनुसार उनीहरूले राष्ट्रिय खेलकुद परिषदसामु श्रम स्वीकृतिका लागि लगातार पत्राचार गरे पनि उतैबाट ढिलाइ भएको हो । अझ एन्फाका प्रमुख पदाधिकारी के भन्छन् भने सरकारी सहमतिमै विदेशी खेलाडी खेलाउने निर्णय भएको हो, तर अब त्यसलाई बेवास्ता गर्न खोजिएको छ । 

यी सबै घटनाक्रमबीच परिषद्ले एन्फालाई थप पत्र लेखेको बिहीबार सार्वजनिक भएको छ । त्यसमा भनिएको छ, आफ्नो स्वीकृतिविना हुन लागेको एन्फा निर्वाचन मान्य हुने छैन । त्यसमा भनिएको छ, अर्डिनरी कंग्रेस र निर्वाचनसम्बन्धी सबै प्रक्रिया आफ्नो जानकारी र स्वीकृतिविना अघि बढाउने हो भने त्यसले मान्यता पाउने छैन । एन्फाले यसअघि चैत १३ मा निर्वाचन गर्ने तयारी गरेको थियो । निर्वाचन समितिले उजुरी र दाबी विरोधको सुनवाइपछि उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । परिषद्ले त्यही प्रक्रियालाई तत्काल स्थगित गर्न र आवश्यक कागजी प्रक्रिया पूरा गरेर तीन दिनभित्र जानकारी दिन पनि निर्देश गरेको छ । 

पत्रमा भनिएको छ, ‘अर्डिनरी कंग्रेस तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरी पत्र प्राप्त मितिले तीन दिनभित्र राष्ट्रिय खेलकुद परिषद्लाई लिखित जानकारी गराउन हुन राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को (१) बमोजिम जानकारी गराइन्छ । परिषद्बाट पटक–पटक भएको निर्देशन पालना नगरी प्रकृया अगाडि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन र प्रचलित कानुनबमोजिम भइजाने व्यहोरासमेत निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।’

हिमेश

Link copied successfully