एन्फालाई फिफा र एएफसीले दिए निलम्बनको चेतावनी

दुवै संस्थाले संयुक्त रूपमा पठाएको पत्रमा सात दिनको समयसीमामा चुनाव हुन नसकेमा निलम्बनको प्रक्रिया अगाडि बढाउने पनि चेतावनी दिइएको छ ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

FIFA and AFC warn ANFA of suspension

काठमाडौँ — विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को रोकिएको चुनाव ७ दिनभित्र गर्न निर्देशन दिएको छ । दुवै संस्थाले संयुक्त रूपमा पठाएको पत्रमा सात दिनको समयसीमामा चुनाव हुन नसकेमा निलम्बनको प्रक्रिया अगाडि बढाउने पनि चेतावनी दिइएको छ । 

यसका लागि एन्फाको विषय फिफा काउन्सिलमा पेस गरिनेछ । फिफा र एएफसीको पत्रमा आफ्नो सदस्य संघले तेस्रो पक्षको कुनै पनि हस्तक्षेपबिना स्वतन्त्र रूपमा गतिविधि गर्न पाउने पनि उल्लेख गरिएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

राखेपले एन्फाले गर्ने भनेको 'अर्ली इलेक्सन'को निर्णयलाई स्वीकार गरेको थिएन । राखेपको निलम्बनपछि एन्फाको चैत १३ मा झापामा हुने भनिएको चुनाव पनि स्थगित भएको थियो । फिफा र एएफसीले राखेपको कामलाई तेस्रो पक्षको हस्तक्षेप भनेको छ र यसको समयमै समस्या समाधान नभए गम्भीर परिणाम आउने पनि जनाएको छ ।

यसबीच एन्फाले पनि आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राखेपलाई निलम्बनको निर्णय रद्द अथवा खारेज गर्न माग गरेको छ । राखेपले त्यस क्रममा निलम्बन पूर्वको स्थितिबाट चुनावी प्रक्रिया सुरू गर्न लिखित रूपमा सुनिश्चित गर्न पनि भनेको छ ।

कान्तिपुर

Link copied successfully