सूर्यकुमार यादवको भारतीय टिमसामु अवरोधका रूपमा त्यस्तो प्रतिद्वन्द्वी रहेको छ, जसले आफ्नो यात्राका क्रममा त्यस अगाडि अपराजित रहेको दक्षिण अफ्रिकालाई सजिलै हराएको छ, नौ विकेटको अन्तरले ।
मुम्बई — भारतले ट्वान्टी–२० विश्वकपको फाइनलमा आइतबार न्युजिल्यान्डको सामना गर्दै छ र यसक्रममा उसका सामु डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने पहिलो टिम हुने अवसर हुनेछ । तर त्यस अवसरमा भारतीय टिम उल्टै दबाबमा हुनेछ, किनभने उसमाथि उपाधि जित्नका लागि पूरा देशको दबाब हुनेछ ।
सूर्यकुमार यादवको भारतीय टिमसामु अवरोधका रूपमा त्यस्तो प्रतिद्वन्द्वी रहेको छ, जसले आफ्नो यात्राका क्रममा त्यस अगाडि अपराजित रहेको दक्षिण अफ्रिकालाई सजिलै हराएको छ, नौ विकेटको अन्तरले । न्युजिल्यान्डलाई के पनि विश्वास छ भने देशको क्रिकेट इतिहासमै पहिलो टी–२० विश्वकपको उपाधि जित्नका लागि आफ्नो टिम सक्षम छ र यसको एउटा कारण हुन सक्छ, फिन एलेन ।
उनले कोलकातामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ३३ बलमै शतक बनाएका थिए । एलेन आफैं भन्छन्, ‘यो साता हाम्रो टिम लयमा आएको छ । हामीले अहिले उत्कृष्ट क्रिकेट खेलिरहेका छौं र यसक्रममा जसलाई पनि पराजित गर्न सक्छौं ।’
फाइनल हुने अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भारतीय क्रिकेटको समर्थन गर्न कम्तीमा एक लाख दर्शक हुनेछन्, अनि करोडौंले टेलिभिजनबाट त्यो खेल प्रत्यक्ष हेर्नेछन् । उनीहरूलाई खुसी बनाउने हो भने भारतले नयाँ इतिहास बनाउनु पर्नेछ, किनभने अहिलेसम्म न त कसैले डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको रक्षा गर्न सकेको छ, न त कसैले आफ्नो घरेलु मैदानमा टी–२० विश्वकपको उपाधि जितेको छ । यो त तथ्य स्वीकार्न कप्तान सूर्यकुमार पनि नाइँनास्ती गर्दैनन् ।
उनी भन्छन्, ‘हामी आफ्नै घरमा खेलिरहेका छौं, अनि उपाधि जित्न खेलिरहेका छौं । त्यसैले फाइनलमा हामीमाथि पक्कै पनि धेरै दबाब हुनेछ, हामी केही आत्तिने पनि छौं । तर यति भन्दाभन्दै हामी सबै पूरा टिम उत्साहित पनि छौं ।’ भारतले मुम्बईको वानखेडे रंगशालामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डमाथि सात रनको जित निकालेको थियो र यो आफैंमा रोमाञ्चक मात्र रहेन, भारतमाथि दबाब सिर्जना भएको खेल पनि रह्यो ।
एक प्रकारले भारतले फाइनलसम्मको यात्रा तय गर्नका लागि तीन नकआउट खेल खेलेको छ भन्दा हुन्छ, किनभने सुपर एटको आफ्नो पहिलो खेलमै भारत दक्षिण अफ्रिकासँग हारेको थियो । त्यसपछि भारतले सुरुमा जिम्बावेलाई ७२ रनले हरायो भने वेस्ट इन्डिजलाई जित्नैपर्ने खेलमा पराजित गरेको थियो । त्यसपछि मात्र इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेल भारतको नाममा जुरेको थियो । ह्यारी ब्रुकको इंग्ल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै सात विकेटमा दुई सय ५३ रन बनाएको थियो ।
जितसम्म पुग्न भारतलाई १८ औं ओभरमा डेथ बलिङमा पोख्त जसप्रित बुमराहको उत्कृष्ट खेल आवश्यक परेको थियो । उनको त्यस ओभरमा इंग्ल्यान्डले खेल्नै सकेको थिएन । बुमराहको त्यो अन्तिम ओभरमा छ रन मात्र बनेको थियो र यसले इंग्ल्यान्डको कामलाई धेरै गाह्रो बनाएको थियो । इंग्ल्यान्डका लागि ज्याकोब बेथलले शतक त बनाए, तर त्यो पनि टिमका लागि अपुग जस्तै रह्यो । जितपछि टिमले मात्र होइन, भारतीय समर्थकले पनि मन खुलेर खुसीयाली मनाएको थियो ।
कप्तान सूर्यकुमार के पनि मान्छन् भने भारतीय टिमका लागि बुमराह जस्ता एक्लैले खेल जिताउन सक्ने खेलाडी हुनु भाग्यमानी नै हो । उनी भन्छन्, ‘हामी सबैलाई थाहा छ, बुमराहले के मात्र गर्न सक्दैनन् भनेर । उनले यस्तो काम भारतीय टिमका लागि गरिरहेको पनि धेरै समय भइसकेको छ । इंग्ल्यान्डविरुद्ध उनले त्यही काम दोहोर्याएर गरे । उनकै खेलले स्थिति हाम्रो अनुकूल बन्यो । साँच्चै भन्दा यो बलबाट उत्कृष्ट प्रदर्शनको नमुना नै रह्यो ।’
भारतका लागि सबैभन्दा बढी तनावको विषय ओपनर अभिषेक शर्मा र स्पिनर वरुण चक्रवर्तीको खराब लय रहेको छ । दुवै खेलाडी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नम्बर एक स्थानमा छन् । तर यसपल्टको प्रतियोगितामा दुवै धेरै हदसम्म फिक्का देखिएका छन् । अभिषेक त समूह चरणका सुरुआती तीन खेलमा शून्यमै आउट भएको थियो । जिम्बावेविरुद्धको खेल आइपुग्दा मात्र उनी अर्धशतक बनाउन सक्षम रहे । वरुणविरुद्ध भने वानखेडेमा विशेषतः इंग्लिस बलरले खुलेर नै रन बनाए । उनको चार ओभरमा ६४ रन निस्केको थियो ।
समूह चरणको खेलयता वरुणले चार विकेट मात्र हात पारेका छन् । अर्कोतर्फ मिचेल सान्टनेरको न्युजिल्यान्डको अहिलेसम्मको प्रदर्शन उतारचढावले भरिपूर्ण रहेको छ । प्रतियोगिताको सुरुमै पहिले दक्षिण अफ्रिका र त्यसपछि इंग्ल्यान्डले उसलाई हराएको थियो । तर फाइनल अगाडि न्युजिल्यान्ड निर्णायक मोडमा लयमा देखिएको हो । ‘अन्डरडग’ को छविका रूपमा न्युजिल्यान्डलाई फाइनलमा केही गुमाउनु पनि हुने छैन । ओपनर टिम सेइफर्टले यस विश्वकपमा तीन अर्धशतक बनाइसकेका छन् ।
अधिकांश समय उनले नै एलेन र ग्लेन फिलिप्सलाई निर्णायक इनिङ्स खेल्न आधार तयार पारिदिएका छन् । उनी भन्छन्, ‘अहिलेसम्म मैल सहयोगी भूमिका निभाइरहेको छु । अहिले एलेन खुबे लयमा छन् । उनी उत्कृष्ट खेलाडी हुन् । उनकै खेलले प्रमाणित गरेको छ, न्युजिल्यान्ड कस्तो खेल खेल्नका लागि सक्षम छ भनेर । त्यसैले मलाई अर्को छेउ आरामले खेल्न मदत मिलिरहेको छ ।’ दक्षिण अफ्रिकाविरुद्ध पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारीमा सेइफर्टले ३३ बलमै ५८ रन बनाएका थिए ।
