डिसेम्बर ३ देखि १४ तारिखसम्म यूएईमा भएको आईबा पुरुष विश्व बक्सिङ प्रतियोगिताको ५४ केजी तौल समूहमा चन्द्रबहादुर थापाले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य जितेका थिए ।
What you should know
काठमाडौँ — यूएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक कांस्य पदक जितेर फर्किएका चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भव्य स्वागत गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
डिसेम्बर ३ देखि १४ तारिखसम्म प्रतियोगिताको ५४ केजी तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य पक्का गरेका थिए । योसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका थिए । सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज हुन् ।
चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्बाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर रहेका थिए ।
सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकामा चन्द्रलाई बधाई दिँदै चन्द्रले जितेको पदक सारा नेपालीलाई हर्षित बनाएको बताए । चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको बताउँदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने बताए । बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे ।
