५४ केजी तौल समूहको सेमिफाइनलमा चन्द्रबहादुर बिहीबार काजकिस्तानका बक्सर विबोसिनोभ सकेनसँग ५:० को आधारमा पराजित भएपछि कांस्यभन्दा अगाडि बढ्न सकेनन् ।
What you should know
काठमाडौँ — नेपालका बक्सर चन्द्रबहादुर थापाले दुबईमा जारी आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
५४ केजी तौल समूहको सेमिफाइनलमा चन्द्रबहादुर बिहीबार काजकिस्तानका बक्सर विबोसिनोभ सकेनसँग ५:० को आधारमा पराजित भएपछि कांस्यभन्दा अगाडि बढ्न सकेनन् ।
उनी अघिल्लो दिन सेमिफाइनल पुग्दै कांस्य पदक पक्का गरेका थिए । चन्द्रले आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कांस्य जित्ने पहिलो नेपाली बक्सरको इतिहास बनाएका छन् । उनले कांस्य पदकको पुरस्कारस्वरुप ७५ हजार अमेरिकी डलर (नेपाली रुपैयाँ एक करोडभन्दा बढी रकम) पाएका छन् । आयोजक इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबीए) को नियमअनुसार विजेता खेलाडीले ५० प्रतिशत, राष्ट्रिय संघले २५ र प्रशिक्षकले २५ प्रतिशत रकम पाउनेछन् ।
विश्वको सातौं वरीयताका विबोसिनोभले आफ्नो लामो रिच र सशक्त ब्लोको फाइदा लिँदै चन्द्रविरुद्ध पहिलो राउन्डमै ५:० ले अग्रता बनाएका थिए । चन्द्रले पनि स्कोर बटुल्ने थुप्रै प्रयास गरे तर बलियो गार्ड र अनुभवी विबोसिनोभसामु असफल भए । उनी दोस्रो र तेस्रो राउन्डमा पनि ५:० को अन्तरमा सीमित भएपछि कांस्यमै चित्त बुझाउन बाध्य भए ।
आईबीए मेन्स वर्ल्ड बक्सिङमा नेपालका ५ खेलाडीको यात्रा टुंगिएको छ । ४८ केजीमा लालप्रसाद उप्रेती क्वाटरफाइनलसम्म पुगका थिए । उनले १० हजार अमेरिकी डलर पुरस्कार पाए । अन्य खेलाडीमा फुङलाङ काम्बाड, खगेन्द्र रोकामगर र दीपक श्रेष्ठ पहिलो खेलमै रोकिएका थिए । उनीहरूका प्रशिक्षकमा आईबीए थ्री स्टार प्रशिक्षक दीपक महर्जन रहेका थिए ।
