झापालाई भलिबल उपाधि

फाल्गुनन्द गाउँपालिकामा आयोजित 'द्वितीया मेला भलिबल प्रतियोगिता'को आइतबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी तेह्रथुमको फेदाप गाउँपालिकालाई हराउँदै झापा गाउँपालिकाले उपाधि जितेको हो ।

कार्तिक ९, २०८२

लक्ष्मी गौतम

Jhapa wins volleyball title

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल ओसागु बजारमा आयोजित द्वितीया मेला भलिबल प्रतियोगिताको उपाधि झापाको झापा गाउँपालिकाले जितेको छ ।

प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी तेह्रथुमको फेदाप गाउँपालिकालाई हराउँदै झापाले उपाधि जितेको हो । यो जितसँगै झापाले १ लाख ३३ हजार रुपैयाँ नगद र ट्रफी हात पार्दा फेदापले ८० हजार रुपैयाँ पुरस्कार र ट्रफीमा चित्त बुझाएको छ ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिता कात्तिक ६ गते सुरु भएको थियो । जहाँ झापा, ताप्लेजुङ र तेह्रथुमका १–१ र पाँचथरका ५ गरी आठवटा स्थानीय तहको सहभागिता थियो ।

प्रतियोगिताका विजेता र उप विजेता टिम तथा खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो र विशेष अतिथि फाल्गुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर कुरुम्वाङले ट्रफी, मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरे ।

यो प्रतियोगिता २०३४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । जसलाई कोशी प्रदेशको सबैभन्दा धेरै दर्शकले हेर्ने र ठूलो पुरस्कार राशिको प्रतियोगिताका रुपमा परिभाषित गरिँदै आइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully