फाल्गुनन्दमा ४८ वर्षदेखि निरन्तर भलिबल प्रतियोगिता

हरेक वर्ष भाइटीकाको दिनदेखि छठको सुरुवाती दिनसम्म आयोजना हुने प्रतियोगिता ‘द्वितीया मेला भलिबल प्रतियोगिता’ का नामले आयाेजना हुने गरेकाे छ । प्रतियोगितामा पछिल्ला वर्ष दैनिक ३ हजार हाराहारी दर्शक उपस्थित हुने गरेका छन् ।

कार्तिक ९, २०८२

लक्ष्मी गौतम

Volleyball competition has been ongoing in Falgunanda for 48 years

What you should know

पाँचथर — बस्तीको सिरानमा पर्ने पहाडी थुम्कामा रहेको सानो बजार छेउमा खेल मैदान छ । त्यही मैदानमा बनाइएको भलिबल कोर्टमा ४८ वर्षदेखि निरन्तर प्रतियोगिता चलिरहेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल ओसागु बजारमा प्रत्येक वर्ष भाइटीकाको दिनदेखि आयोजना हुने भलिबल प्रतियोगिता विसं २०३४ असोजदेखि सुरु भएको हो । पहिलोपटक यहाँबाट लाहुर भिड्न गएका स्थानीय हर्कजङ्ग कुरुम्वाङले दसैंको छुट्टीमा घर आउँदा ल्याएको बास्केटबल खेलाएर यसको सुरुवात गरेका हुन् । लगत्तै अर्का स्थानीय रुपमान कुरुम्वाङसहितका व्यक्तिले भलिबल खेलाउन थालेका हुन् ।

यहाँ सुरुमा टोल, गाउँ, वडा र गाविस स्तरबाट सुरु गरिएको प्रतियोगिता पूर्वाञ्चल विकास क्षेत्र स्तरका प्रतियोगिता सम्पन्न भइसकेका छन् । २०७३ सालमा राज्य पुनः स्थापनापछि भने यहाँ झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ हुँदै संखुवासभासम्मका भलिबल टिमको सहभागितामा अन्तरपालिका स्तरको प्रतियोगिता आयोजना गर्न थालिएको हो । यो मैदानमा भलिबल सिकेका मध्ये राजेन्द्र कुरुम्वाङ, वीरबहादुर कुरुम्वाङ, बलबहादुर आङदेम्बे, खड्गकेशर आङदेम्बे, उदय कुरुम्वाङ र मणि कुरुम्वाङलगायतका खेलाडीले प्रादेशिक, क्षेत्रीय हुँदै राष्ट्रिय खेलाडीको पहिचान बनाइसकेका छन् । पूर्वखेलाडी राजेन्द्र कुरुम्वाङका अनुसार प्रारम्भमा यहाँ भलिबल प्रतियोगिता आयोजना गर्दा कुखुराको भाले पुरस्कार दिइन्थ्यो । २०४० को दशकमा खसी, ५० को दशकमा कप, ६० को दशकमा शिल्ड हुँदै २०७० यता नगद दिन थालिएको हो । केही वर्षयता यहाँ प्रथम हुने भलिबल टिमले १ लाख ३३ हजार र दोस्रो हुनेले त्यसको आधा पुरस्कार पाँउछन् ।

Volleyball competition has been ongoing in Falgunanda for 48 years

प्रथम पुरस्कार व्यवस्थापन फाल्गुनन्द गाउँपालिकाले गर्छ भने दोस्रो पुरस्कारसहित व्यवस्थापन खर्च प्रायोजकहरु जुटाएर गरिँदै आएको छ । प्रतियोगिता सञ्चालन गर्न वडा कार्यालयसहित विभिन्न निकायले सहयोग गर्दै आएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । आयोजक समितिका एक सदस्य अमर आङदेम्बे यो कोशी प्रदेशका पहाडी जिल्लामा सर्वाधिक पुरस्कार राशी र सर्वाधिक दर्शकले हेर्ने पहिलो र ठूलो भलिबल प्रतियोगिता भएको दाबी गर्छन् । ‘विभिन्न जिल्लाका स्थानीय तहबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलका खेलाडीसहित टिम झिकाएर आयोजना गरिन्छ । इलाम, ताप्लेजुङ र तेह्रथुमसम्मका दर्शक र खेलाडीको व्यवस्थापन गरेर राम्रै नगद पुरस्कार उपलव्ध गराइन्छ,’ उनले भने ।

यो प्रतियोगितामा दर्शकको पनि राम्रै भीड लाग्छ । कोर्ट भन्दा बाहिर छेकवार गरिएको मैदान दर्शकले खचाखच भरिन्छ भने नजिकैका कान्ला भित्ताको आडबाट त कोही बाटो, सिँडी र रुखमा चढेर पनि प्रतियोगिता हेर्छन् । भलिबल प्रतियोगिताको व्यवस्थापन तथा आयोजना त्रिवेणी युवा क्लबले गरिरहेको छ । प्रतियोगितामा यो वर्ष पाँचथरका ५ सहित झापा, तेह्रथुम र ताप्लेजुङका १–१ गरी ८ वटा स्थानीय तहका टिम सहभागी छन् । यो वर्ष यी टिमबाट प्रादेशिक भलिबलमा ख्याती कमाएका रोमन बस्नेत, लिलाराज डाँगी र लेफ्ट सर्टर रविन गौतमसहितका चर्चित खेलाडीले प्रतियोगितामा स्पर्धा गरेका छन् ।

Volleyball competition has been ongoing in Falgunanda for 48 years

गत वर्ष झापाको झापा गाउँपालिकाले उपाधि जितेको थियो । झापा यो वर्ष पनि उपाधि जित्ने होडमा छ । उपाधिका लागि उसले तेह्रथुमको फेदाप गाउँपालिकासँग प्रतिस्पर्धा गरिरहेको आयोजक त्रिवेणी युवा क्लबका सचिव प्रत्युष कुरुम्वाङ बताँउछन् ।

हरेक वर्ष भाइटीकाको दिनदेखि छठको सुरुवाती दिनसम्म आयोजना हुने प्रतियोगिता ‘द्वितीया मेला भलिबल प्रतियोगिता’ का नामले  आयाेजना हुने गरेकाे छ । यो प्रतियोगिता हेर्न टाढादेखि सबै उमेर समूहका दर्शकको भीड लाग्छ । प्रतियोगितामा पछिल्ला वर्ष दैनिक ३ हजार हाराहारी दर्शकको उपस्थिति हुने गरेको आयोजकले जनाएको छ । कात्तिक १ गतेदेखि यहाँ प्रतियोगिता स‌ंचालन भइरहेको छ । विगतमा जस्तै यो वर्ष पनि प्रतियोगितामा हजारौं दर्शकको उपस्थिति रहेको उनले बताए । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully