समूह ‘बी’ बाट जापान र नेपाल १ खेल खेल्नु अगाडि नै सुपर सिक्समा प्रवेश गरेका हुन् ।
What you should know
काठमाडौँ — नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक क्रिकेट छनोटको सुपर सिक्समा पुगेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपाल बिहीबार मैदानमा नउत्रिए पनि अन्य खेलको नतिजाले दोस्रो चरणमा पुर्याएको हो ।
जापानले बिहीबार कुवेतलाई ५ विकेटले स्तब्ध पारेपछि समूह ‘बी’ बाट जापान र नेपाल १ खेल खेल्नु अगाडि नै सुपर सिक्समा प्रवेश गरेका हुन् । जापान र नेपाल शुक्रबार समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोलीसँग सुपर सिक्समा अतिरिक्त अंक हुनेछ ।
नेपालले बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले पनि विजय हात पारेपछि कुवेत २४ घन्टाको अन्तरमा दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
जापानले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । टोलीबाट क्लिन्टो एन्टोले २८ बलमा ३ चौका र १ छक्कासहित ३४, मीत भवसारले २४ बलमा ३ चौका र १ छक्कासहित २९, अली जाहिरले ३१ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ४१ तथा यासिन पटेलले २८ बल खेली १ चौका र ३ छक्का प्रहार गरी ४० रन बनाए ।
इसम रहमानले ६४ रन बनाएपछि जापानले १९.३ ओभरमा लक्ष्य पूरा गर्यो । रहमानले ३९ बल खेली ९ चौका र २ छक्का प्रहार गरे ।
