नेपालद्वारा कुवेत ५८ रनले पराजित ।
What you should know
काठमाडौँ — ब्याटिङमा चुस्त नदेखिए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ । ओमानमा बुधबारबाट सुरु प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो ।
मस्कट स्थित अल एमेरट क्रिकेट मैदानमा १ सय ४२ रनको लक्ष्य लिएर मैदान उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो । नेपालबाट कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । रोहितले २ ओभरमा ९, ललितले ४ ओभरमा १७ र सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे । सोमपाल कामी, नन्दन यादव र कुशल भूर्तेलले १–१ विकेट लिए ।
ओपनर क्लिन्टो एन्टोले कुवेतबाट सर्वाधिक २६ रन बनाए । २३ बल खेली २ छक्का प्रहार गरेका उनलाई दीपेन्द्रसिंह ऐरीले आफ्नै बलिङमा सानदार रनआउट गरे । सोमपालले अर्का ओपनर रविजा सन्दरुवानलाई पहिलो ओभरमै आउट गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।
नन्दनले पनि उसमान पटेललाई खाता खोल्न दिएनन् । अनुभवी मीत भवसार १२ बल खेली समान १ चौका र छक्का प्रहार गरी ११ रन बनाई आउट भए । यासिन पटेलले २७ बल खेली १ छक्काका साथ १९ रन बनाए । कप्तान मोहम्मद अस्लाम ७ रनमै आउट भए ।
यसअघि कुशल भूर्तेलले अर्धशतक बनाए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा संघर्षपूर्ण स्कोर बनाएको थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।
आसिफ शेख २ रनमात्र जोडी आउट भएपछि अर्का ओपनर भूर्तेलले ५६ बल खेली समान ३ चौका र छक्काका साथ ६६ रन बनाए । उनी अन्तिम ओभरको पाँचौं बलमा आउट भए । रोहित १५ बल खेली ३ चौकासहित १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ रनमा आउट भए ।
दीपेन्द्रले १ छक्कासहित १९ बलमा २० रन बनाए । १९ औं ओभरमा गुलशन झाले लगातार तीन छक्का प्रहार गरेपछि नेपालको स्कोरमा सुधार भएको थियो । गुलशनले केवल ६ बलमा २० रन बनाए । सोमपाल १ र नन्दन २ रनमा अविजित रहे । कुवेतका नवीनराज राजेन्द्रन र अनुदिप चेनथामराले २–२ विकेट लिए ।
नेपाल र कुवेतसहित समूह ‘बी’ मा जापान रहेको छ । समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् ।
