महिला फुटबल टोलीका प्रशिक्षक डे वाइल्डको चेतावनी :  ‘एन्फा नसुध्रिए म फर्कन्नँ’

'पहिलो दिनदेखि नै समस्या थियो । खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो ।'

असार २४, २०८२

कान्तिपुर संवाददाता

De Wilde, the coach of the women's football team, warned: ”I will not return if ANFA is not improved”.

काठमाडौँ — एएफसी वुमेन्स एसियन कप छनोट २०२५ मा नेपालको प्रदर्शन उम्दा रह्यो । तर प्रशिक्षक प्याट्रिक डे वाइल्ड चुपचाप बस्ने मनसायमा छैनन् । बेल्जियमका यूईएफए प्रो–लाइसेन्स प्रशिक्षक डे वाइल्डले दुखेसो पोखेका छन् । उनको गुनासो छ– खेलाडीका लागि राम्रो होटल व्यवस्थापनदेखि ‘आइस’ सम्मको । उनलाई लाग्छ, एन्फालाई योजनामा भन्दा राजनीतिमा बढी रूचि छ । 

उनी एउटा तथ्यमा स्पष्ट छन्, आफू नेपाल आएको खेलाडीका लागि हो, यसखाले भद्रगोलका लागि होइन । उनले आफ्नो योजना, दबाब, प्रदर्शनदेखि टिमसँगको भावनात्मक सम्बन्धबारे बोलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को खराब व्यवस्थापन, भौतिक पूर्वाधारको अभाव अनि गतिहीन प्राथमिकता आदि विषयमा केन्द्रित रहेर उज्वेकिस्तानको तास्केन्दमा उनै प्रशिक्षक डे वाइल्डसँग कान्तिपुरका लागि नायक पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली टिमसँग पहिलो भ्रमण कस्तो रह्यो, खेलाडीबाट प्रतिक्रिया कस्तो पाउनुभयो ? 

एसियन कप छनोट यो यात्रा एकदमै जादुमय रह्यो । आधुनिक प्रविधि र भौतिक पूर्वाधारविना हाम्रा खेलाडीले उज्वेकिस्तानमा जे गरे, त्यो धेरै हो । हामीले उज्वेकसँगको खेलमा पनि गजब पुनरागमन रहेका हौं । कल्पनामात्र गरौं, यदि हाम्रो टिमले उपयुक्त समर्थन र प्रविधि पाएको भए के हुन्थ्यो ? नेपाली खेलाडीलाई ‘स्काउटिङ’ र ‘प्रोफाइल’ आवश्यक छ । अहिले यस्तो केही पनि छैन । दीर्घकालीन योजनाका लागि यो चाहिन्छ । अब काम गर्ने पालो एन्फाको । एन्फाले गर्न पनि सक्छ, नगर्न पनि । मलाई लाग्छ, उनीहरूले गर्न चाहँदैनन् । 

यही टिममा काम गर्नु छ भने सबैले बुझ्नुपर्छ । टिमलाई के चाहिन्छ र टिम भावना भनेको के हो । अनि टिमको उद्देश्य पनि स्पष्ट हुनुपर्छ । खेलाडी सबै स्पष्ट छन्, उनीहरू के चाहन्छन् अनि कता जाँदैछौं भनेर । मैले खेलाडीसँग सुरुआती दिनमै साढे एक घण्टाको बैठकमा एउटै प्रश्न गरेको थिएँ, के यो टिम योजनाको सदस्य हुने हो ? अथवा होइन ? त्यसपछि सबै सुरुमै स्पष्ट भए । टिमका लागि योजना र दृष्टिकोण चाहिन्छ । अनि यो सबै ठोस हुनुपर्छ । मैले यही कुरा खेलाडीसँग राखें । त्यसमा विश्वास पनि गरें । पहिलो दिनदेखि नै हाम्रो तालमेल राम्रो रह्यो । हाम्रा खेलाडीको सम्भावना साँच्चै धेरै छ । 

नेपाली महिला फुटबलबाट समर्थकको धेरै आस छ, यस्तो आस उनीहरूले कसरी व्यवस्थापन गर्ने हो ? 

यो अर्कै पाटोको काम भयो । यदि व्यावसायिक माहोल छ भने त्यस्तो दबाब मिडिया अफिसर्सले गर्ने हो । उनीहरूले नै खेलाडीको अन्तर्वार्तादेखि सामाजिक सञ्जालसम्म व्यवस्थापन गर्छन् । सामाजिक सञ्जाल अब हाम्रो जीवनको एक भाग हो । तर यो सही तरिकाले व्यवस्थापन हुनुपर्छ, विशेषतः प्रतियोगिताका बेला । खेलाडीलाई पनि भावनात्मक रूपमा आफूलाई कसरी सम्हाल्ने हो, त्यसबारे सिकाउनुपर्छ । 

De Wilde, the coach of the women's football team, warned: ”I will not return if ANFA is not improved”.यसपल्टको टाइब्रेकरमै पनि केही तीन/चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् । किन त ? दबाबकै कारण । यो खेलको अवस्थामात्र थिएन । बिहान ११ बजे नै प्रधानमन्त्रीसहित व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्त्वको खेल अगाडिको क्षण नै कुरिरहे । गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्‍यो त ? 

हामीले उज्वेकिस्तानविरुद्धको खेल हारेकै होइन । हामी पेनाल्टीबाट बाहिरिएका मात्र हौं । हामीले विश्व वरीयताको ५१ औं स्थानमा रहेको टिमविरुद्ध खेलेको थियौं र त्यसमा उत्कृष्ट पुनरागमन (रेमोनटाडा) पनि गर्‍यौं । हामीले तीन खेलमा २० गोल गरेका थियौं, अब यो भन्दा बढी के नै चाहियो ? 

अब नेपाली फुटबलमा कस्तो परिवर्तन आवश्यक छ ? 

सबैभन्दा पहिले दृष्टिकोण चाहियो, प्राविधिक योजना चाहियो । तल्लो तहदेखि माथिल्लो तहसम्मकै । चार वर्षका लागि प्राविधिक निर्देशक चाहिन्छ । उनले लामो समय काम गर्न पाउनुपर्छ । मैले प्रशिक्षणका क्रममा आफ्नो विचार मात्रै पोखें, त्यो भन्दा बढी केही गर्न सकिनँ । मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागें, कुनै जवाफ नै आएन । खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’ मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।

खेलाडीले जसरी मलाई माया गरे, यो त अविश्वसनीय नै छ । अन्तिम खेलमा नेपाली महिला टिमले जस्तो खेल्यो, मैले प्रशिक्षण गरेका अन्य देशका पुरुष टिमले पनि त्यस्तो खेलेको देखेको छैन । उनीहरूले लगातार दबाब सिर्जना गरिरहे । प्रीति राई ५ फिटमात्र अग्ली छिन्, तर उनी आफूभन्दा धेरै अग्ला खेलाडीविरुद्ध उफ्रेर खेल्ने प्रयास गरिरहिन् । हाम्रा खेलाडीहरूले फुटबल खेल्ने अर्कै शैली पनि जाने । हामीले तीन डिफेन्डरसँगै खेल्यौं, आक्रमण बुन्यौं र यसले अन्ततः काम पनि गर्‍यो । त्यही त हो, प्रशिक्षकलाई दिने मज्जा । 

टिम व्यवस्थापन र अन्य सदस्यसँग सम्बन्ध कस्तो रह्यो ? 

मैले भन्नैपर्छ, मसँग दोस्रो विकल्प पनि थिएन । मलाई त्यस्तो सहयोगी पाइनँ, जसले मलाई मद्दत गर्न सकोस् । मैले सके आफैं सबै नियुक्त गर्थें । म सबैसँग काम गर्न तयार छु, तर उनीहरू पनि त्यसका लागि योग्य हुनुपर्छ । मलाई त्यस्तो सहायकको के काम जसलाई कम्युटर पनि खोल्न आउँदैन अनि तथ्यांकसँग काम गर्न सक्दैन ।

खेलाडीबारे पूरा जानकारी भएन भने कसरी अर्को स्तर पुग्ने ? हामीसँग जीपीएस थिएन । न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण । यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकें । यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो । मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन । यो गुनासोमात्र होइन, वास्तविकता हो । 

बेल्जियमबाटै तपाईंले यी समस्याबारे एन्फासँग कुरा गर्नुहुन्छ ? 

थाहा छैन । म आफैले सम्पर्क राख्ने छैन । यदि मलाई कल आएमा मैले उत्तर भने दिनेछु । म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि । मैले खेलाडीलाई सहयोग गर्न सकिनँ भने त्यो समय खेर फाल्नु मात्र हुनेछ । राम्रो खेल्न प्रशिक्षण त चाहिन्छ नै । त्यसका खुसी पनि चाहिन्छ । खेलाडी त खुसीले नाचिरहेका पनि थिए । तर यत्तिले मात्र पुग्दैन । फुटबल नेतृत्वले नै काम गर्नुपर्छ । यदि म फर्कें भने मेरो उद्देश्य हुनेछ, गम्भीर रूपमा ठूलै काम गर्ने र नेपाली महिला फुटबलको स्वरूप परिवर्तन गर्ने ।

मैदान बाहिर के भएको थियो, यसबारे पनि खुलस्त पार्नु हुन्छ ? 

पहिलो दिनदेखि नै समस्या थियो । खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो । मलाई मुख्य प्रशिक्षक त बनाइएको थियो, तर मलाई टिमबाट अलग गरी अर्कै होटलमा राखिएको थियो । मैले भने, सबै एकै होटलमा हुनुपर्छ । उनीहरूले तीनतारे होटल दिन खोजे, मैले चारतारे मागें । त्यतिबेला नै एन्फा पदाधिकारीलाई लागेको थियो, यो प्रशिक्षकसँग काम गर्न सजिलो हुनेछैन । यो सब मैले खेलाडीका लागि चाहेको थिएँ । एन्फाले काम गर्ने भनेकै पनि खेलाडी र फुटबलका लागि हो । 

कप्तान कसलाई बनाउने हो, त्यसमा पनि विवादै भयो । सावित्रा भण्डारी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हो । उनी थिइनन् भने नेपाललाई जित्न गाह्रो थियो । गीता राना र सरस्वती हमाल पनि असाध्यै राम्रा छन् । तर जत्तिकै विवाद भए पनि सबै खेलाडीले त्यसलाई बिर्सेर राम्रो खेले । होटलमै कहिलेकाहीं आइससम्म हुन्नथ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ? म अरूजस्तो प्रशिक्षक होइन, जसले कफी खाएर खेलाडीलाई निर्देशनमात्र दिने गर्छन् । तर म फरक छु । एन्फाले यस्तो गर्नु र उस्तो गर्नु भनेर दबाब दिनु फुटबलका लागि राम्रो होइन ।

के कसैलाई मेरो तलबबारे थाहा छ ? म नेपालमा पैसा कमाउन आएकै होइन । म यहाँ पैसा कमाउन आएको होइन भने किन अरूको दबाबमा रहने ? स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ, तबमात्र राम्रो नतिजा निस्कन्छ । कुरा यत्ति नै हो ।

कान्तिपुर संवाददाता

Link copied successfully