‘यस्तो खेलिनँ भने करण केसी नै हुँदिनँ म’

करणको इनिङ्सले सात वर्षअघि क्यानडाविरुद्ध खेलेको इनिङ्सको याद दिलाएको कप्तान रोहित पौडेल स्मरण गर्छन्

जेष्ठ २१, २०८२

विनोद पाण्डे

”If I don't play like this, I won't be Karan.”

डन्डी — अब्बल प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि के कसरी विजय हात पार्न सकिन्छ भन्ने त्यो नेपाली क्रिकेट टोलीका करण केसीलाई बढी थाहा थियो । तर, विश्वकप क्रिकेट लिग–२ मा घरेलु भूमिमा स्कटल्यान्डलाई नेपालले सोमबार जसरी अविश्वसनीय ढंगमा पराजित गर्‍यो त्यसपछि के भयो, करणलाई केही थाहा छैन ।

फोर्थहिलमा अन्तिम बलको ढुकचुकी उत्कर्षमा थियो । स्कोर बराबरी भइसकेको अवस्थामा नेपाललाई अन्तिम बलमा विजयनिम्ति १ रन आवश्यक भयो भने १ विकेटमात्र बाँकी थियो । रन लिए जित्ने, डट बल वा विकेटले स्कोर बराबरी हुन्थ्यो र खेल सुपर ओभरमा पुग्थ्यो ।

मार्क वाटको बलिङमा लेग साइडतिर गएको बल स्कटल्यान्डका विकेटकिपर म्याथ्यु क्रसले ‘कलेक्ट’ गर्न नसकेपछि करण दौडिँदै नन स्ट्राइकमा पुगे । तर स्ट्राइक एन्डमा रिजन ढकाल रनआउट भएको भन्दै लेग अम्पायरले औंला उठाए । मुख्य अम्पायरले भने त्यो अन्तिम बललाई वाइड दिएपछि नेपालले आवश्यक १ रन बटुल्यो र करणले ब्याट हावामा उठाए भने रनआउटको विस्मातमा रिजन मैदानमै ढलिरहे । 

‘अम्यापरले त्यो बल वाइड दिनेमा म निश्चित थिएँ, किनेभने त्यो बल मेरो लेग साइडबाट प्याडलाई नछोइ गएको थियो, मैले चाहिँ बल फुल टस आउँछ र एक रन लिउँला भनेर बसेको थिएँ,’ करणले त्यो मुभमेन्ट सुनाए, ‘तर त्यसपछि के भयो मलाई केही थाहा छैन । समर्थकहरू सबै मैदानमा छिरे । मलाई धकेलेर र बोकेरै पेभेलियनमै पुर्‍याइदिएछन् । मलाई अहिले पनि विश्वास लागिरहेको छैन ।’

नेपालले जित पाएपछि दर्शक मैदानभित्र पसेको क्षण सन् १९८० को दशकमा इंग्ल्यान्डले खेल जित्ने बित्तिकै दर्शक मैदान पसेर आफ्ना टोलीका खेलाडीलाई बोकेको झल्को दिन्थ्यो, जहाँ खेलाडीहरू भने दर्शकको भीडबाट भाग्न १०० मिटर दौडको स्पिड लगाइरहेका हुन्थे । 

काठमाडौंबाट खेल हेर्न डन्डी आइपुगेका निर्मल पौडेल र थानेश्वर ज्ञवालीले नेपालको जितलाई अझै विश्वास गर्न सकिरहेका छैनन् । उनीहरू मान्छन्, जसरी नेपालले खेलमा जित हात पार्‍यो, त्यसमा दर्शकको साथ ठूलो थियो । ‘साना नानीहरू पनि दिनभर नेपालको पक्षमा चिच्याइरहेका थिए, यसले अरू दर्शकलाई पनि हौस्याएको थियो र नेपाली टोलीलाई उर्जा भरेको थियो,’ ज्ञवालीले भने । 

इंग्ल्यान्डको लन्डन, लिभरपुलसहित स्कटल्यान्डको ग्लास्गो, एडेनब्रो र आयरल्यान्डबाट नेपाली समर्थक डन्डी आइपुगेका हुन् । लिग २ मा यस खेलको मूल्य २० पाउन्ड तोकिएको थियो । तर स्कटल्यान्ड क्रिकेटको आधिकारिक वेबसाइटमा आइतबार राति समस्या देखिएपछि टिकट सकिएको जनाइएको थियो, जसका कारण लामो यात्रा गरेर आउने दर्शकले टिकट अभावमा डन्डी आउने तालिका रद्द गरेका थिए । 

स्कटल्यान्ड क्रिकेट (एससी) ले मैदान बाहिरबाट भने टिकट बिक्री गरिरहेको थियो । योक्रम अन्य खेलमा पनि लागू हुने एससीले जनाएको छ । दर्शक क्षमता १ हजारको छ । सोमबार झन्डै ५ सय दर्शकले मैदानमा आएर खेल हेरेका थिए । त्यसमध्ये झन्डै ४ सयभन्दा बढी नेपाली रहे । 

भ्यालेन्टाइन ब्वाइदेखि मिराकल म्यान

कन्डिसन र विकेट हेर्ने हो भने स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपाललाई निकै चुनौतीपूर्ण मात्र नभई असम्भव जस्तै थियो । किनकि नेपालले यसअघि सबैभन्दा बढी २ सय ८७ रनको लक्ष्य पछ्याएको थियो । त्यो दुई पटक सम्भव थियो । सन् २०२३ मा नामिबियाविरुद्ध लिग २ र गत वर्ष क्यानडाविरुद्ध एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा । संयोगले दुवै खेल कीर्तिपुरमा भएको थियो । 

विदेशी भूमिमा सबैभन्दा बढी रन लक्ष्य पछ्याएको इतिहास २ सय ५५ रनको छ । सन् २०१९ मा पारस खड्काले १ सय ९ बलमा १ सय १५ रन बनाएपछि नेपालले ४५ ओभरभित्र लक्ष्य पार गरेको थियो । करणले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रन बनाएपछि नेपालले डन्डीमा २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गरेर अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याउन सफल भएको हो । 

‘मेरो भूमिका नै यही हो, मैले यो भूमिका निभाइनँ भने म करण केसी नै हुँदिनँ । मेरो भूमिका नै ब्याटिङ र बलिङ जसरी भए पनि खेललाई फिनिस गर्नुपर्छ भन्ने छ,’ नवौं नम्बरमा ब्याटिङ गर्दै अविश्वसनीय इनिङ्स खेलेका करणले खेलपछि कान्तिपुरसँग भने, ‘कहिलेकाहीँ यो भन्दा अझ माथि ब्याटिङ गरौं जस्तो लाग्छ । तर टिम र म आफ्नो जिम्मेवारीलाई लिएर स्पष्ट छौं । करण अन्तिमसम्म टिकेर खेल्छ, अन्तिम ओभरसम्म खेल लैजान्छ र फिनिस गर्न दियो भने खेल जिताएर आउँछ भन्ने विश्वास छ । माथि गएर पनि ब्याटिङ गर्न सक्छ भनेर पनि टिमले बुझेको छ । तर त्यो भूमिकामा अहिले अरू नै छन् ।’

माथिल्लोक्रममा सबैले उपयोगी इनिङ्स खेलेरै आउट भए । करण र गुलशन झाले सातौं विकेटमा ४४ बलमा ५४ रन जोडेपछि नेपाल विजय नजिक पुग्यो । करण आफ्नो भूमिकालाई लिएर स्पष्ट छन् । उनले भने, ‘टिमले मलाई जुन भूमिका दिएको छ, मैले त्यसलाई पूरा गरें । मेरो भूमिका खेल फिनिस गर्नु थियो । सुरुमा जाँदा अलिक कठिन थियो स्थिति, हामी आफैंचाहिँ अन्तिम ५ ओभरमा खेल पुर्याए त्यसपछि के हुन्छ त्यहीअनुसार खेलौं भन्ने थियो । अन्तिम ५ ओभरमा पनि प्रतिओभर १० रन बनाएर खेल जित्न सकिन्छ भन्ने थियो । सेट भइसकेको गुलशनको विकेट जाँदा अलिक गाह्रो भयो ।’

कुशल भुर्तेल र आसिफ शेखले १२ ओभरमा ७२ रन जोडेर नेपालको विजय आधार तयार पारे । ‘ओपनिङ ब्याटिङ हाम्रो राम्रो भयो, ७० रनमाथि साझेदारी भयो । यसले हाम्रो लय मिलाएको थियो । अन्तिम १२ बलमा २५ रन बनाउनुपर्ने स्थिति थियो, त्यसमा ४ वटा छक्का हान्नुपर्नेमा म स्पष्ट थिएँ । दुईटा बाउन्ड्री हान्छु भन्ने थियो, जसले अन्तिम ओभरमा १२–१३ रन बनाउनुपर्ने स्थिति बनाउँथ्यो । भाग्य नै भन्नुपर्ला ४९ औं ओभरमा १८ रन आएको थियो,’ करणले भने, ‘अन्तिम ३ बलमा ५ रन बनाउनुपर्ने थियो । मलाई एउटा बाउन्ड्री हान्छु भन्ने थियो । यति सेट भइसकेपछि एउटा बाउन्ड्री पनि हानेन भने मेरो इज्जत नै जान्थ्यो । तर, चौथो र पाँचौं बल दुवै मेरो रेन्जमा आएन । चौथो बल निश्चित रूपमा छक्का भएको जस्तो लागेको थियो, तर बल हावाले तानिदियो र २ रनमात्र भयो ।’

क्यानडासँगको झल्को दिलाउने इनिङ्स

करणले यस्तो इनिङ्स खेलेको यो नै पहिलो होइन । सन् २०१८ मा नामिबियाको विन्डहोकमा क्यानडाले दिएको १ सय ९५ रन लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । नेपाललाई ५१ रन आवश्यक हुँदा १० औं नम्बरमा ब्याटिङ गरेका करणले ३१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ४२ रन बनाएर नेपाललाई १ विकेटको विजय दिलाएका थिए ।

करणको सोही इनिङ्सका कारण नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनेको थियो । लिग २ को अहिलेको सर्कलमा १२ खेलमा केवल ६ अंकसहित पुछारमा रहेको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता संकटमा परेको समयमा करणले अर्को ‘मिराकल इनिङ्स’ खेलेका थिए । लिग २ को १३ खेलमा नेपालको यो केवल तेस्रो जित हो । स्कटल्यान्डमाथिको विजयले नेपाल ८ अंकसहित पुछारबाट यूएईलाई उछिन्दै सातौं स्थानमा आएको छ । 

करणको इनिङ्सले ७ वर्षअघि क्यानडाविरुद्ध खेलेको इनिङ्सको याद दिलाएको कप्तान रोहित पौडेल सुनाउँछन् । ‘क्यानडासँगको त्यो इनिङ्स र यो इनिङ्स एकदमै क्लोज छ, तुलना चाहिँ गर्न सकिँदैन । करण दाइ म्याजिकल म्यान हुनुहुन्छ, जसले नेपाली क्रिकेटलाई बचाइ राख्नुभएको छ,’ रोहितले भने, ‘करणले ब्याटिङ गर्दा हामी एकदमै नर्भस भएर हेरिरहेका थियौं । विश्वासचाहिँ थियो, करण दाइले खेल फिनिस गर्नुहुन्छ भनेर । यो स्थितिबाट खेल जित्नु एकदमै म्याजिकल मोमेन्ट हो ।’ करण र नेपाल क्रिकेट जहिले पनि अन्तिमसम्म पुर्‍याउने भएर एकै भएको ओपनिङ ब्याटर कुशल भुर्तेल बताउँछन् । ‘करण दाइ जहिल्यै क्राइसिस म्यान हुनुहुन्छ, टिमलाई परेको संकटबाट उहाँले नै निकाल्नुभएको छ । करण दाइले पहिला पनि यस्तो इनिङ्स खेल्नुभएको थियो, त्यसैले अहिले पनि खेल्नुहुन्छ भन्नेमा विश्वस्त थियौं,’ कुशलले सुनाए । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully