डन्डी — करण केसीले अर्को असाधारण ब्याटिङ प्रदर्शन गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ मा सोमबार स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको छ । करणले अविजित ६५ रन बनाएपछि नेपालले डन्डीको फोर्थहिलमा २ सय ९७ रनको लक्ष्य अन्तिम एक बल बाँकी हुँदा पूरा गरेको हो ।
नेपाललाई अन्तिम दुई ओभरमा २५ रनको आवश्यकता थियो । करणले ४९ औं ओभरमा साफयान सरिफलाई १ छक्का र २ चौकासहित १८ रन प्रहार गरेपछि नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रनको आवश्यकता थियो । तर सन्दीप लामिछाने अन्तिम ओभरको पहिलो बलमा आउट भए । त्यसको अर्को बल वाइड भएको थियो ।
त्यसपछि आएका रिजन ढकालले तेस्रो बलमा १ रन जोडर करणलाई स्ट्राइक दिए । करणले चौथो र पाँचौ बलमा २–२ रन जोडेका थिए । अन्तिम बलमा वाइड भएपछि नेपालले ठूलो लक्ष्य पछ्याउन सफल भयो । प्लेयर अफ द म्याच करण ४१ बल खेली ३ चौका र ४ छक्का प्रहार गरी ६५ रनमा अविजित रहे । लिग २ का १३ खेलमा नेपालको यो केवल तेस्रो विजय हो ।
ओपनिङ जोडी कुशल भूर्तेल र आसिफ शेखले नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । कुशल र आसिफले १२ ओभरमा ७२ रन जोडेका थिए । जेस्पर डेभिडसनले १२ औं ओभरको अन्तिम बलमा आसिफलाई विकेटको पछाडि क्याच गराई यो साझेदारी तोडेका थिए । आसिफले ३३ बल खेली २ चौका प्रहार गरी २० रन बनाए ।
त्यसको ४ बलपछि कुशल पनि आउट भए । ४१ बलमा अर्धशतक पूरा गरेका कुशलले ४४ बलमा कुल ५३ रन बनाए । उनले ११ चौका प्रहार गरे । भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ७४ रन जोडेर नेपाली इनिङ्स ताने । यी दुवैलाई ब्रान्डन म्याकमुलेनले १० बलको अन्तरमा आउट गरे ।
भीम ४८ बल खेली ३ चौका प्रहार गरी ४० रनमा आउट भए । रोहितले ५६ बल खेल्दै १ चौका प्रहार गरी ३७ रन बनाए । म्याकमुलेनले आफ्नो अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई पनि ८ रनमा आउट गरे । उनले १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले पनि १ रनमात्र बनाउन सके ।
गुलशन झा र करण केसीले ३७ बलमा अर्धशतकीय साझेदारी गरी नेपाललाई आशा देखाएका थिए । यी दुईले ४४ बलमा कुल ५४ रनको साझेदारी गरे । गुलशन ३० बल खेली समान ३ चौका र छक्का प्रहार गरी ४२ रनमा आउट भए ।
यसअघि नेपालले टस जितेर ब्याटिङको निम्तो गरेपछि स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ९६ रन बनाएको थियो । चार्ली टिएर र फिन्ले म्याकक्रिएथले अर्धशतक बनाएपछि स्कटल्यान्डले नेपालले विशाल लक्ष्य तेर्स्याएको थियो ।
खेलको पहिलो ओभरमै जर्ज मुन्सीले रिजन ढकाललाई २ चौकासहित १२ रन प्रहार गरे । उनै रिजनले आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा मुन्सीलाई आउट गरे । रिजनको बलमा टप एज लागेपछि थर्डमा सोमपालले सुन्दर क्याच लिए । सोमपालले ब्रान्डेन म्याकमुलेनलाई १९ रनमा आउट गरी नेपाललाई दोस्रो सफलता दिलाए ।
टिएर र कप्तान रिची बेरिङटनले तेस्रो विकेटमा ८० बलमा ७९ रनको साझेदारी गरेपछि स्कटल्यान्ड मजबुत स्कोरतर्फ अग्रसर भयो । टिएरले ८० रन जोड्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । उनले ७२ बल खेली १२ चौका र रिजनलाई १ छक्का प्रहार गरे । भेट्रान बेरिङटनले ४६ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ४० रन बनाए ।
करणले लगातार २ ओभरमा टिएर र बेरिङटनलाई विकेटको पछाडि क्याच गराए । म्याथ्यु क्रस र फिन्ले म्याकक्रिएथले पाँचौं विकेटमा ७८ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे । क्रसले ५६ बल खेली ३ चौका प्रहार गरी सन्दीप लामिछानेको बलमा आउट भए । म्याकक्रिएथले ६७ बल खेलि ३ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए । 
करण, सोमपाल र रिजनले २–२ विकेट लिए । करणले १० ओभरमा १ मेडन राख्दै ४३ र सोमपालले १० ओभरमा ६६ रन खर्चे । तर रिजनले १० ओभरमा ७८ रन दिन पुगे ।
