अहमदाबाद — जोस बटलरको अविजित ९७ रनप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । यो नतिजापछि ७ खेलमा पाँचौं विजय हात पार्दै गुजरात शीर्षस्थानमा उक्लिएको छ ।
उच्च आद्रतामा दिल्लीले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । प्लेयर अफ द म्याच बटलरले ५४ बलको इनिङ्समा ११ चौका र ४ छक्का प्रहार गरेपछि गुजरातले ४ बलअघि लक्ष्य पूरा गरेको थियो । अन्तिम ओभरको पहिलो दुई बलमा राहुल टेवाटियाले क्रमशः छक्का र चौका प्रहार गर्दै गुजरातलाई जित दिलाउन मदत गरेका थिए ।
अहमदाबादमा पहिलो पटक २ सय रनको लक्ष्य पछ्याइएको थियो भने दिल्ली पहिलो पटक २ सयभन्दा बढीको रन रक्षा गर्न असफल रह्यो । कप्तान शुभमन गिल ७ रनमै आउट भए । अर्का ओपनर साइ सुदर्शनले २१ बलमा ५ चौका र १ छक्कासहित ३६ र सेरफेन रदरफोर्डले ३४ बलमा १ चौका र ३ छक्कासहित ४३ रन बनाए ।
यसअघि दिल्लीबाट कप्तान अक्षर पटेलले ३२ बलमा ३९, आशुतोष शर्माले १९ बलमा ३७, करुण नैरले १८ बलमा र ट्रिस्टन स्टब्सले २१ बलमा समान ३१, कप्तान केएल राहुलले १४ बलमा २८ र अभिषेक पोरेलले ९ बलमा १८ रन बनाएका थिए । गुजरातबाट प्रसिद्ध कृष्णले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए ।
वैभवले इतिहास लेखेको दिन
१४ वर्ष २३ दिनको उमेरमा आईपीएल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका वैभव सूर्यवंशीले यशस्वी जैसवालसँग मिलेर उत्कृष्ट साझेदारी गरे पनि शनिबार राजस्थान रोयल्सलाई विजय दिलाउन सकेनन् । लखनउ सुपर जायन्ट्ससँग राजस्थानले ३ रनको हार बेहोर्यो । राजस्थानले १ सय ८१ रनको लक्ष्य पछ्याउनेक्रममा इनिङ्स ब्रेकमा ‘इम्प्याक्ट खेलाडी’ को रूपमा वैभवलाई ब्याटिङमा उतारेको थियो । वैभव र जैसवालसँग पहिलो विकेटमा ९ ओभरभित्र ८५ रनको साझेदारी गरे पनि राजस्थानले ५ विकेट गुमाई १ सय ७८ रनमात्र बनाउन सक्यो र लगातार चौथो पराजय स्वीकार्न बाध्य भयो ।
आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरेका वैभव २० बल खेल्दै कुल २ चौका र ३ छक्कासहित ३४ रन बनाई एडेन मारक्रमको बलमा आउट भए । जैसवालले ५२ बल खेलेर ५ चौका र ४ छक्कासहित ७४ रन बनाए । कप्तान रियान पराग २६ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा आउट भए । राजस्थानलाई विजयनिम्ति अन्तिम ओभरमा ९ रन चाहिँदा अभेष खानले ६ रनमात्र दिए ।
यसअघि लखनउबाट मारक्रमले ४५ बलमा ६६, आयुष बदोनीले ३४ बलमा ५० र अब्दुल समादले १० बलमा अविजित ३० रन बनाएका थिए ।
